ट्रेण्डिङको एक नम्बरमा ‘दमाई महाराज’कै राज

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

काठमाडौं । पछिल्लो समय सांगीतिक बजार तीजमय बन्दै गएको छ । कति गीतहरु कति चर्चामा छन् त कुनैले ‘भ्युज’का लागि सङ्घर्ष गरिरहेका छन् । तीजका गीतहरुको भीडमा सातदिन अघि एउटा भजन शैलीको गीत सार्वजनिक भयो–‘दमाई महाराज’ । उक्त गीत भने राम्रो चर्चा, भ्यूज, सकारात्मक प्रतिक्रिया सहित युट्युबको ट्रेण्डिङ नं. एकमा बस्न सफल भएको छ ।

सार्वजनिक भए लगतै ट्रेण्डिङको यात्रामा रहेको गीतले चार दिनमै पहिलो स्थान ओगट्न सफल भएको हो । गीतले अझै यो स्थान छाडेको छैन । गीत तीन दिनदेखी निरन्तर ट्रेण्डिङको एक नम्बरमा रहिरहेको छ । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ ।

यो समाचार तयार पारिरहेको समयमा गीतले ५० लाख बढी भ्यूज बटुलिसकेको छ । ७ दिनअघि सार्वजनिक गरिएको म्युजिक भिडियोमा १८ हजार ९ सय बढीले कमेन्ट गरेका छन् ।

‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाश सपुतले यो गीत सार्वजनिक गरेका हुन् । प्रकाश सपुत र शान्तिश्री परियारले स्वर दिएको उक्त गीत दर्शक÷स्रोताको रुचाइमा परेको हो । प्रकाशकै शब्द, संगीत रहेको गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर रहेको छ भने सुदिप सागरले संगीत संयोजन रहेको गीतमा केही कलाकारहरूको समूह गायन समेत रहेको छ ।

गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु