• दीप गुरुङको निर्देशनमा चलचित्र ‘जूनकिरी’को धमाधम छायाँकन

    म्यूजिक खबर
    प्रकाशित: १८ आश्विन २०८१, शुक्रबार

    काठमाडौं । गुरूङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ’जूनकिरी’ को छायाँकन धमाधम भइरहेको छ । दीप फिल्म्स् प्रोडक्सन ग्रुपले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा आएको हो । दशैं अगाडि काठमाडौंमा छायाँकन रहने यो चलचित्रले गोरखाको क्होला आरुबोटमा पुगेर घाटुको बारेमा छायाँकन गर्नेछ । त्यस्तै गोरखाको भच्चेक, सिरानडाँडा, निम्की, सिरानचोक लगायतका रमणीय स्थानमा छायाँकन गर्नेछ ।
    फिल्ममा अभिनेता सुरज तमु र अभिनेत्री लक्ष्मी गुरूङ मुख्य भूमिकामा रहका छन् । सुरजले ‘ऊनको स्वीटर, गोरखा वारियर, एन्जिला, सारङ्गगा, नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । एक दशकदेखि रङ्गकर्ममा सक्रिय सुरजले ‘स्कुल, चालिसे भीर’ लगायतका नाटक निर्देशन तथा २ दर्जन नाटकमा अभिनय गरिसकेका छन् ।
    लक्ष्मीको यो दोस्रो फिल्म हो । यसअघि ’नैना’ फिल्ममा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् भने थुप्रै म्युजिक भिडिओमा काम गरिसकेकी छन् । फिल्ममा सुरज र लक्ष्मीसहित माओत्से गुरुङ, अनिल सुब्बा, कविता आले, सुमन बैरागी, प्रतीना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरूङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायतको पनि अभिनय रहनेछ ।
    निर्देशक दीप गुरूङको यो दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए‘। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् । फिल्म काठमाडौंमा संघर्ष गरिरहेको फोटो पत्रकाररको यात्रा र अनुभूतिको कथामा केन्द्रित रहनेछ । गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ ।
    ‘एउटा अन्धकार रातमा जूनकिरीले उज्यालोसंग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ‘। त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,’ कलाकार तमु भन्छन् । गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो ।
    फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा छ । फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रुपमा छन् । फिल्ममा योगेश दाहालको छायाँकन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु