डाक्टर बुद्धिमान श्रेष्ठले पहिलोपटक गाए गीत (भिडियो हेर्नुस्)

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार
Dr.Buddhiman Shrestha

काठमाडौं । कान्तिपुर डेन्टल कलेज धापासी बसुन्धराका डाइरेक्टरसमेत रहेका डा.बुद्धिमान श्रेष्ठले पहिलोपटक गीत गाएका छन् ‘बैगुनी’ । गायिका मेलिना राईसँग गाएको गीत ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कल्ले जान्यो र’ लाई डेन्टल कलेजकै हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकै पूर्व अध्यक्ष चन्द्र शर्मा लगायत गीतसँग सम्बन्धित स्रष्टाहरुले संयुक्त रुपमा गीतलाई सार्वजनिक गरिएको थिए ।


संगीतकार बादल घिमिरेको शब्द तथा संगीतमा तयार भएको लोक आधुनिक शैलीको ‘बैगुनी’ गीतमा डा.बुद्धिमान श्रेष्ठले स्वर भरेका हुन् । डा.श्रेष्ठले पहिलोपटक मेलिना राईसँग गाएको यो गीतको म्यूजिक भिडियो हेरिसकेपछि सबैले प्रशंसा गरेका थिए ।

‘मैले स्कूल पढ्दाताका कार्यक्रमहरूमा गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव थियो त्यसैले अहिले आएर गीत गाउने रहर पूरा गरेँ’, डा.श्रेष्ठले भने– ‘आजबाट गायनमा प्रवेश गरेको छु, मेरो पहिलो प्रयासलाई सबैले सुझावसहित माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’

कार्यक्रममा गीतका संगीत संयोजक कृष्ण भान्जा, म्यूजिक भिडियोका निर्देशक निकेश खड्का, कोरियोग्राफर सुरेन्द्र बसेल र संगीतकार बादल घिमिरेले गीत निर्माणको क्रममा भएका अनुभवहरु सुनाएका थिए । डा.श्रेष्ठसँग गाउने क्षमता भएको हुँदा गरौं न त भन्ने सल्लाह भयो तर नसोचेको उत्कृष्टता गायक श्रेष्ठले प्रस्तुत गर्नुभएको छ संगीतकार घिमिरेले भने ।

त्यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष शर्माले आफूले पाएको अभिभावक डा.बुद्धिमान श्रेष्ठ राम्रो गायक भएको कुरा आजबाट प्रमाणित भएको बताए । उहाँको गायन क्षमता पहिले नै आउनुपथ्र्यो तर ढिला आए पनि राम्रो आएको बताए । त्यस्तै प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायक डा.श्रेष्ठको पुराना दिन औंल्याउँदै आफूहरुलाई गीतसंगीत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने एक अभिभावक भएको बताए । त्यही अभिभावक आज गायकका रुपमा पाउँदा र उहाँको गीतको सार्वजनिकमा आफू नै प्रमुख अतिथि हुन पाउनु अहोभाग्य ठानेको बताए । उहाँ पहिले नै गीत गाउने, मादल बजाउने, नाच्ने गर्नुहुन्थ्यो तर पछिल्लो समय डाक्टर हुनुभयो । तर पनि उहाँभित्रको गीतसंगीतको रहर ताजै भएको हुँदा आजबाट गायकका रुपमा उहाँलाई सांगीतिक बजारमा चिन्न पाएकोमा खुशी व्यक्त गरे ।

म्युजिक भिडियोमा चर्चित कलाकार केकी अधिकारी र सागर लम्सालले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोको कोरियोग्राफर सुरेन्द्र बसेल हुन् भने सम्पादन विकास धमलाले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु