काठमाडौं । गीतकार नवि अधिकारी सामाजिक रुपान्तरणमा सिर्जनाका धनी व्यक्ति हुन् । सिर्जनाको मूल गर्भ भनेकै गीतकार मानिन्छ । त्यही गर्भबाट सिर्जना जन्मिन्छ र समाजको प्रतिविम्वभित्र ती सिर्जनाहरु सदाबहार बन्न पुग्छन् । अमर सिर्जनाको धनी गीतकार डा.नवि अधिकारी ‘टाकिन्द्र’ यतिबेला ‘देश छोड्नेको लर्को’मार्फत् अडियो भिडियो सहित सार्वजनिक भएका छन् । हुन त २०७९ माघ २० गते अर्थात् फेब्रुअरी ७ मा डा.नवि अधिकारीको सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको थियो ‘देश छोड्नेको लर्को’ । त्यहीबेलादेखि मनभित्र खुल्दुली थियो समाज बोलेको सिर्जना अब अडियो भिडियो मार्फत् आउँदा देश छोड्नेहरुको मन मनमा बिझ्न पुग्छ भन्ने । यतिबेला देख्दा सामान्य तर गहकिलो रुपमा स्टुडियो भर्सनबाट भिडियो निर्माण गरी बजारमा आएको छ । भिडियोलाई वल्र्डकभर मिडियाको यूट्यूबबाट सार्वजनिक गरिएको हो ।
हिजो उड्यो छिमेकी भाइ, आज आफ्नै घरको
यस्तै भा’छ देशको हालत देश छोड्नेको लर्को
तिर्खा तिर्खा के को तिर्खा ! धनको कि वतनको !
गा’को छैन तिर्खा अझै मुना र मदनको !
यस्तै भए यो माटोमा भर्छ पियार कसले !
बुढा भा’का गाउँ शहरको गर्छ स्याहार कसले !
हिजो उडी गाउँकी मैना, आज टोल शहरको
यस्तै भा’छ देशको हालत देश छोड्नेको लर्को
उडी गए मुग्लान पारि सपनीका चंगा
बग्न छाडे अंजुलीमा हिउँचुलीका गंगा
धनको लागि ज्यानको दाउ भाउभन्दा नि चर्को
धनकै लागि आउजाउ एकपछि अर्को !
नौनी जस्तै नेपाली मन बनाउँदै पत्थरको
हिजो उड्यो जेठो बाठो, आज उड्यो अर्को
यस्तै छ यो देशको हालत देश छोड्नेको लर्को
उल्लेखित शब्दहरुभित्र एउटा सिङ्गो देश छ । हामी विभिन्न बहनामा देश छोड्दैछौं । कहिले अध्ययनको नाम लिएर, कहिले विभिन्न सेमिनारको नाम लिएर, कहिले देशको द्वन्द्वलाई लिएर त कहिले वैदेशिक रोजगारीको नाम लिएर देश छोडिरहनेको लर्को बढिरहेको छ । हिजो कृषिप्रधान देश थियो तर आज देशलाई गाली गर्दै छोड्नेहरुको देश छ । आफ्नो देशमा रहेर आफ्नो बारी खन्नुभन्दा विदेशमा सामान्य नोकरी गरेर डलरमा हिसाब गर्ने बानीले विदेशको गल्लीहरुमा नेपालीहरु किस्ताबन्दीमा जिन्दगी चलाइरहेको अवस्था छ । जो सभ्रान्त भनिने देशहरुमा गएका छन् तिनीहरुको जिन्दगी असहज छ तर देश फर्कने भन्दा पनि १८ घन्टे कामले थला परेको जिन्दगीमा खुशी खोजिरहेका छन् । यो देश छोडेर जानेहरुमध्ये खाडी भित्रएकाहरुले देशको रेमिट्यान्सबाट देश धानिरहेको र देश फर्किएर घरपरिवारसँग बसेका छन् ।
यही अवस्थाको एउटा प्रतिविम्वभित्रको गीत सिर्जना गरेका हुन् डा.नवि अधिकारीले । गाउँका सबै बारीहरु जंगल बनाउँदै, बुढाभएका बाआमाहरुलाई घरमा छाडेर शहरमुखी भएको समाजले विदेशमुखी भएर बाँचेको छ भन्ने सन्देश हो यो गीत । डा.नवि अधिकारीका प्राय सिर्जनाभित्र नेपाली साहित्यको गहिरो व्याख्य देखिन्छ । शब्द शील्पमा प्रयोग गरिएका सिर्जनाहरुले देश र समाजको वास्तविकतालाई गहकिलो रुपमा ब्याख्या गरिरहेको पाइन्छ ।
‘देश छोड्नेको लर्को’ डा.नवि अधिकारीको आएसँगै अर्को गीत पनि त्यही नामबाट आएका छ । पत्रकार रतन देवकोटोका शब्दमा आएको त्यो गीतको हुक लाइन पनि ‘देश छोड्नेको लर्को’ नै रहेको छ । एउटा लाइन हुबहु मिल्नु पनि सिर्जनाका हिसाबले प्रतिलिपि अधिकारभित्र बहसको विषय बन्न जरुरी देखिन्छ । शब्दका भाव मिल्न सक्नु फरक हो तर लाइन पुरै मिल्नुमा सामाजिक सञ्जालमा पहिला भएको पोस्टको प्रभाव हो कि भन्ने प्रष्ट हुन्छ । दुई सर्जकको भाव मिल्नु देशप्रतिको माया र समाजको यथार्थता होला तर पुरै लाइन मिल्दा यसको बारेमा दुबै स्रष्टाहरुको सिर्जना गर्भको समय र सामाजिक सञ्जालमा भएको पोस्टको आधारमा सच्याउनु जरुरी देखिन्छ ।