९७ प्रतिस्पर्धीलाई उछिनेर क्युटीले जितिन् सर्वोत्कृष्ट डिजाइनरको उपाधी

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

काठमाडौं । इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ ९स्कुल अफ फेसन०ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जितेकी छन्।

प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन्। उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को ललितपुरमा केज फिटनेस सेन्टरका तर्फबाट २५ हजार रुपैयाँबराबरको फिटनेस प्याकेजसमेत जितेकी छन्।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि उमा राइका मगरले जितिन्। मगरले उपाधिसहित १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरका तर्फबाट १७ हजार रुपैयाँबराबरको फिटनेस प्याकेजसमेत पाएकी छन्। राजनकुमार शाहले पाँच हजार रुपैयाँ नगद राशिसहित सेकेन्ड रनरअपको उपाधि जिते। उनले उपाधिसहित केज फिटनेस सेन्टरबाट १० हजार रुपैयाँबराबरको फिटनेस प्याकेज पाए। उनी प्रतियोगिताका एक मात्र पुरुष डिजाइनरका रूपमा प्रतिस्पर्धी थिए।

प्रतियोगितामा लिडर अफ द इयरको उपाधि फेसन प्रशिक्षकहरू सबिन ढुंगाना तथा सारिका राईले जितेका थिए। प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत ९८ जना फेसन डिजाइनिङका विद्यार्थीले सहभागिता जनाएका थिए। विपना थापाद्वारा कोरियोग्राफी गरिएको उक्त डिजाइनर प्रतियोगितामा मिस नेपालको आयोजक दिवाकरराज राजकर्णिकार, समाजसेवी उज्ज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, फेसन डिजाइनर निभा श्रेष्ठ, सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फोटोपत्रकार हरिगोपाल प्रधान, पर्यटन व्यवसायी मिलन शाक्यलगायत निर्णायक थिए।

प्यासिफिक इभेन्ट म्यानेजमेन्टले व्यवस्थापन गरेको तथा रोजिन शाक्यद्वारा सञ्चालित कार्यक्रममा गायक लाक्पा शेर्पाले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारले नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा डिजाइनरहरू आफैंले तयार पारेका पहिरनमा र्‍याम्पमा प्रस्तुत भएका थिए।

ललितपुरस्थित याक प्यालेसमा आयोजना भएको ग्रान्ड फिनालेमा विद्यार्थीको प्रस्तुति सोचेभन्दा उत्कृष्ट भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु