‘ए निकाल गाँजा’ भन्ने गायक दुर्गेश थापा विरुद्ध उजुरी

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०७६, सोमबार

काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध यतिखेर जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध उजुरी परेको हो । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।
उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ । गायक दुर्गेश थापाले तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर‘’ बोलको गीत विवादमा तानिएको छ । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने शब्द राखिएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुर परेको हो ।

तिहारको गीतमा दुर्गेशले गाएका छन् –

डन आयो डन,
जा मूला भन,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !

त्यसो त गायक थापाले गाएको गीतले सिधै अर्ना वियरको विज्ञापन गरेको देखिन्छ । तिहारको अवसरमा अर्ना वियर यसरी खानुपर्छ भन्ने सन्देश पनि दिइएको देखिन्छ । उनले गाएको गीत र भिडियोले मादक पदार्थको सिधै विज्ञापन गरेको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जाल, विद्युतीय संचारमाध्यममा मादक पदार्थलाई सिधा प्रस्ट हुने गरी विज्ञापन गर्न सरकारबाट नै बन्देज लगाइए पनि गायक थापाले अर्ना वियरसँग मिलेर विज्ञापन शैली अपनाइएकोमा पनि धेरै विरोधका आवाजहरु उठिरहेको बेला उनलाई गाँजाले बाजा बजाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु