• ‘आलु जस्तो गायक’ दुर्गेशको स्वीकारोक्ति कि अग्रजको खिल्ली ?

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७७, शुक्रबार

    – सुमन पण्डित


    दुर्गेश थापा राम्रा प्रस्तोता हुन् । उनको म्यूजिक भिडियो यात्रा भन्दा अघि गायक बन्ने दौड थियो । तर उनी म्यूजिक भिडियो मोडलिङमा राम्रो छाप छोड्न सफल अब्बल मोडल बने । लोकदोहोरी क्षेत्रमा होस् या आधुनिक पप उनको अभिनय यात्रा जारी छ । त्यसो त कुनै बेला लोकदोहोरीमा उनको पहिचान बनेको थियो । तर पछिल्लो समय लोक, आधुनिक, पप जुनसुकै गीतमा पनि उनी महंगा मोडलका रुपमा उभिएका छन् । भलै उनको गायन यात्रा भने रहरै रहरको यात्रा बनेको छ । तर पछिल्लो समय उनी गायनको साथमा आफ्नो प्रस्तुति क्षमतालाई भने अझ मजबुत बनाउँदै आएका छन् । उनले पछिल्लो पुस्तामा रमाउन चाहनेलाई छुट्टै खुराक दिएका छन् भन्ने कुरामा कसैको दुईमत नहोला । किनकी स्टेजमा उनी उभिँदा टिकट काटेर रमाइलो गर्न गएका दर्शकलाई उनले सुरताल सिकाउने होइन, डान्सको कुनै स्टेप सिकाउने होइन मात्र प्रस्तुतिमा मनोरञ्जन दिने हो त्यो कुरामा उनी चुकेका छैनन् ।
    दुर्गेश थापाको पछिल्लो यात्रा जति सफल हुँदै गयो उति उनीप्रति एक धारका दर्शकले ताली बजाइरहे भने एक धारले गाली पनि ग¥यो । उनले छक्का पञ्जामा गाएको गीत ‘बीचबीचमा’सँगै उनको प्रस्तुतिको धार बदलियो । यो भन्दा पहिला उनको मुद्दा हाल्दिन्छु गीतले स्टेजमा राम्रै चर्चा पाएको थियो । तर ‘बीचबीचमा’ बजारमा आएपछि उनलाई झन् स्टेजमा मन पराइयो । यो वर्ष उनले ‘बीचबीचमा–२’ (एउटा फोटो खिच) र ‘बीचबीचमा–३’ (बेसार) बजारमा आयो । गीतले समाजको यथार्थ चित्रण ग¥यो । उनको तिजसँगै आएको शैलीले बजारमा एउटा छाप छोड्यो । बेसार गीतको भिडियोमा पनि साडी लगाएर उनी आए । त्यसको भने निकै विरोध पनि भयो । गाइजात्रे मौसम अनुसार उनले मुलुकमा भएको यथार्थतालाई गीतबाट चित्रण गरे । बजारमा जे प्रतिक्रिया आए पनि आखिर उनको चर्चा भयो र उनी सफल पनि मानिए । जुन गीतमा उनका दाजु जसलाई उनी गडफादरका रुपमा लिन्छन् बसन्त थापा उनकै शब्द र संगीत थियो । त्यो कारण पनि उनको गीतले चित्रण गरेको कुरालाई बढी प्राथमिकतामा राखे । उनको स्वर, सूर तालको कुरालाई औंल्याउने कुरा नै भएन ।

    यो वर्षको उनको सफलताको श्रेणीमा यी गीत देखिएका थिए । गीतसँगै उनी मिडियामा पनि उत्तिकै छाइरहे । त्यही क्रममा प्राइम टेलिभिजनको ऋषि धमलाले संचालन गर्ने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनी प्रस्तुत भए । उनको अन्तरवार्ताका क्रममा भएका केही कमीकमजोरीहरुमाथि ठूलो टिकाटिप्पणी भयो । उनले आफूले गाउन नजान्ने गीत नगाउँदा उचित हुन्थ्यो, गायक, संगीतकार र रचनाकार नचिनेको भए नबोलेको भए हुन्थ्यो । उनी राम्रा प्रस्तोता थिए, सबैले मन पराएकै थिए तर हतारमा उनले स्रष्टा नचिनी गाएको गीतको विरोध बढ्यो । अन्तरवार्ताका क्रममा उनले प्रत्यक्ष भनेका थिए वा सम्पादन गरिएको थियो त्यो कुरा स्वयम्ले बुझेका छन् । त्यही विषयलाई लिएर मूलधारका मिडिया भन्दा पनि बजारमा फैलिएका यूट्यूबहरुले खेती गरे । धेरैले चर्चाको विषय बनाएर गल्ली र चोकहरुमा पनि चियाको चुस्की मारे । यही विषयलाई उनले यतिखेर पनि स्वीकारोक्तिका धारमा गीतबाटै जवाफ दिएका छन् । बजारमा उनलाई जसरी मूल्यांकन गरे त्यसरी नै उनले आफ्नो यथार्थता चित्रण गर्दै ‘आलु जस्तो गायक’ बजारमा सार्वजनिक गरेका छन् ।
    ‘आलु जस्तो गायक’ दुर्गेश थापाले मिडियाका आएका विवाद, आरोपलाई खण्डन गरेको गीत हो । उनले बाग्लुङको गाउँमा छँदादेखि काठमाडौं छिर्दासम्मको आफ्ना यथार्थभाव गीतबाट प्रस्तुत गरेका छन् । यसलाई शब्द र संगीत भरिदिएका छन् उनका दाजु बसन्त थापाले । वसन्त थापा मौलिक गीतसंगीत निर्माणको यात्रामा अब्बल दर्जाका सर्जक हुन् । उनकै शब्द र संगीतमा ‘आलु जस्तो गायक’ले यतिखेर दुर्गेश थापालाई चर्चा दिलाएको छ । हरितालिका तिज पर्वको छेको पारेर बजारमा आएको उनको गीत यतिबेला ट्रेन्डिङको ट्रेन्ड पछ्याउँदै अघि बढेको छ । यो समाचार तयार पार्दासम्मको समयमा नेपालको २ नम्बर ट्रेन्डिङमा अखडा जमाइरहेको छ । गीतमा पल शाह र पुष्पल खड्कालाई पनि दुर्गेशले आफूसँगै फिचरर्ड गरेका छन् । शिव विकले भिडियोको निर्देशन गरेका छन् । उनले भिडियो रिलिजसँगै इनाक्षी इन्टरटेनमेन्टको च्यानलमा यस्तो लेखेका छन्ः

    ‘नमस्कार यो आलु गायकको तर्फ बाट
    अध्ययन र सिकाईका लागि दाईले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन । जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठाका लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु । गित गाए तर कुन विधाको कस्तो भन्ने थाहा भएन गित चाहिँ मुद्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ ।’

    गीतको भिडियोमा गायक रामकृष्ण ढकाल, यम बराल, गायिका अन्जु पन्त, संगीतकार आलोक श्रीकोसमेत प्रतिक्रियालाई उनले समावेश गरेका छन् । अनि भिडियोको सुरुवातमा माले गोरुको गोठालो हुँदा रेडियोमा अग्रज गायक धर्मराज थापाको ‘हो हो माले’ गीतलाई बजाएका छन् । गीतको शब्दले भनेको छः

    न मेरी आमाले स्कुल देखेको
    न मेरो बाबाले गीत लेखेको
    कहाँ बाट सिक्नु खै मैले सुर ताल
    नगर सवाल
    हो हो माले भन्ने मान्छे गायक भो बबाल

    ‘आलु जस्तो गायक’ गीतले उनलाई बजारमा आरोप प्रत्यारोप गर्नेहरुको विरुद्धमा उत्तर त दियो । खण्डन ग¥यो, स्पष्टिकरण पनि दियो । हरेक शब्दमा उनले आफ्नो गाउँ ठाउँ परिवेशलाई लिएर सुर ताल सिक्ने कुनै ठाउँ नभएको कुरालाई पनि उल्लेख गर्न लगाएका छन् । आमा र बाबाले जानेनन् भन्दैमा हामी गीतसंगीत सिक्न नहुने, नृत्य सिक्न नहुने भन्ने पनि होइन । आम कलाकारका आमाबाबु गाउँमा खेती किसानी गर्ने नै छन्, उनीहरुसँग सुरतालको कुनै ज्ञान छैन भन्दैमा हामी सिक्न नै नहुने भन्ने पनि छैन । रामकृष्ण ढकालको जीवनीदेखि प्रेम परियार, अशोक दर्जीसम्म आइपुग्दाको इतिहासलाई गायक दुर्गेश थापाले पढ्नु जरुरी छ । उनी सपना बोकेर काठमाडौंमा आइसकेपछि सिक्नका लागि आर्थिक अवस्था भएन होला त्यो मुख्य हुन सक्छ । तर आमा बाबुले जानेनन् भन्दैमा गीतसंगीत बिर्गान पाइन्छ भन्ने पनि छैन ।

    त्यसैगरी कोइली सरगम नजाने पनि मिठो बोल्छ र काग मिठो नबोले पनि आफूलाई कमजोर ठान्दैन भन्ने विषयलाई जोडेर पनि संगीतको सिकाइमा पछि हट्नु उनको अर्को कमजोरी हुनसक्छ । होला उनलाई प्रकृतिले दिएन होला तर घनलाई घोटेर बन्चरो बन्यो भन्ने पाठ त पढेकै थिए होलान् । हुन त अरुको जस्तो गाउन नसक्नु आफ्नो गल्ती भएको पनि स्वीकारेका छन् । ऊ जस्तो नभए पनि आफू आफैंजस्तो बन्नु सबैभन्दा ठूलो कुरा हो ।
    रत्यौलीमा ग्यालिन ठटाइयो भन्दैमा यहाँ आएर त्यही गर्नुपर्छ भन्नु पनि छैन । यहाँ त उनले महंगो ड्रमसेट बजाएका छन्, वाद्यवादनमा कुनै कमी नगरीकन गीत रेकर्ड गराएका छन् अब उनको गायकीले त्यसलाई बाँध्न सक्ने बनाउने हो जसका लागि सूर र तालको ज्ञान लिनु आवश्यक छ । उनी त काठमाडौंमा आएर संघर्ष गरेका राम्रा कलाकार हुन् । उनले गायनलाई आत्मसात गर्दैगर्दा अझै पनि सुरतालको शिक्षा लिनु लाज हुँदैन होला । संगीत क्षेत्रको इतिहास जान्नु उनका लागि आवश्यक कुरा हो । जुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रको बारेमा केही न केही त ज्ञान लिनु आवश्यक छ । होला उनका फ्यानहरुलाई जस्तो गीत आए पनि राम्रो लाग्न सक्छ तर समग्रतामा उनी जत्तिको प्रस्तोताले बिगार्नु भनेको आफूलाई सुधारोन्मुख नगराउनु भने पक्कै हो ।

    ‘आलु जस्तो गायक’ भनेर गीत ल्याउँदा उनी हिराजस्तै चम्किनु पर्छ भन्ने हाम्रो आसय हो । तर यहाँ त अझै सोचनीय विषय बनेर गीत बजारमा आयो । यसलाई पनि हेर्ने र सोच्ने पक्ष फरक फरक हुन सक्छ । भिडियो र अडियोको सम्बन्धलाई मिलाएको हुन सक्छ वा अग्रज गायकलाई नै केन्द्रविन्दूमा राखिएको हुनसक्छ ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्नुले फेरी अर्को विवाद सिर्जना नगर्ला भन्न सकिन्न । गायक धर्मराज थापाको समयमा उनले जसरी गाए, जसरी लोकसंगीतको यात्रामा योगदान दिए त्यसमा अहिलेको पुस्ताले प्रतिस्पर्धा गर्नुपर्ने ठाउँ नै छैन । उनीहरुकै धरातलमा टेकेर हामी हिंडेका छौं त्यसमा गर्व गर्नुपर्छ । तर आलु जस्तो गायक भित्रको ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्ने शब्दले सिधै जनकविकेशरी धर्मराज थापामाथि प्रहार गरेको देखिन्छ । हुन त यसको उत्तरमा फेरी प्रस्तोता दुर्गेश थापा वा यसका सर्जक वसन्त थापाको मनमा ‘हो हो माले भन्दै गाउँमा गोठालो भइयो, खेती गरियो, धर्मराज थापा मात्र यसका हकदार होइनन्’ भन्ने उत्तर तयारी पनि होला । भोलिका दिनमा सर्जक वसन्त थापाकै कुनै गीतलाई लिएर यस्तै गीत बनाइयो भने के हुन्छ ? उनी त समाजले मानेको सिर्जनामा क्षमतावान् सर्जकका रुपमा नै परिचित छन् । गायक, गीतकार र संगीतकारको राम्रो दख्खल भएकै व्यक्तिका रुपमा स्थापित छन्, चर्चित छन् । तर उनैले लेखेको गीतमा आएको प्रसंगले प्रश्न खडा भने गरेको छ ?

    यस गीतमा भनिएको ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्ने शब्दले गायक दुर्गेश थापाको बजारमा देखिएको आरोप प्रत्यारोपको खण्डनसँगै अमर स्रष्टा जनकविकेशरी धर्मराज थापाको पनि खिल्ली उडाएको प्रष्ट देखिन्छ । तर यति भनिरहँदा यो लेखको आसय उनीप्रतिको विरोध भने पक्कै होइन । उनी राम्रा प्रस्तोता हुन्, लोकप्रिय कलाकार हुन् । भलै यस्तो विवाद र विरोधको वातावरण नबनोस्, गीतले कसैप्रति ठेस नपु¥याओस् भन्ने मात्र हो । धर्तीमा जन्म लिँदा सबैले सिकेर भने आएका छैनन् र जिन्दगीभर सबैले सिकिरहने हो अभ्यास गरिरहने हो । समाजलाई सकेसम्म सकारात्मक बाटोमा लैजाने हो त्यसभित्र गायक दुर्गेश थापा पनि लागिरहेकै छन् । भोलिका दिनमा पनि आफूलाई सुधार्दै नयाँ सिर्जना गर्दै अगाडि बढोस् गायक दुर्गेश थापा र सर्जक बसन्त थापालाई शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु