• गफाडीहरुको लागि सुनौलो अवसर, बन्ने भो- ‘महा गफाडी’ ! के–कस्ता छन् त नियमहरु

    म्यूजिक खबर
    प्रकाशित: १५ श्रावण २०८०, सोमबार

    काठमाडौं । नयाँ टेलिभिजन हाँस्य कार्यक्रम ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा–वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

    उनले भने, “कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी ।”

    यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए ।

    कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन् ।

    आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक रहेका अभिनेता तामाङले जानकारी दिए । उनले भने, “प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि कार्यक्रमको ढाँचाले मलाई आकर्षित गर्‍यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ ।”

    निर्णायककै भूमिकामा रहेकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताइन् । “हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आफ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो”, अभिनेत्री तुलाधरले भनिन् ।

    आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु