पर्यटक भित्र्याउने उद्देश्यसहित सिन्धुलीमा ‘फिक्कल कला शिविर’

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७५, मंगलवार

फिक्कल (सिन्धुली) । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खला देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ सम्पन्न गरिएको छ ।

फिक्कल गाउँपालिकाद्वारा पुस २८ गतेदेखि माघ ३ गतेसम्म आयोजित छ दिने ‘फिक्कल कला शिविर’ मा छ जना कलाकारको सहभागिता रहेको थियो । फिक्कल कला शिवर २०७५ का संयोजक दीपक श्रेष्ठका अनुसार, कला शिवरमा अंशुराम खाइजु, मंगल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो । कलाकारहरुले फिक्कलबाट देखिने हिमशृङ्खला, ग्रामीण वस्तीका दृश्य, सुनकोशी जलयात्रालगायत २३ थान चित्रकला तयार पार्नुभएको जनाइएको छ ।


फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार, चित्रकलाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप फिक्कलका गाउँगाउमा पुगेर कलाकारले चित्रकला तयार पार्नुभएको हो । कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सवमा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सव संयोजकसमेत रहनुभएका उपाध्यक्ष सुनुवारका अनुसार, समुद्री सतहबाट दुई हजार २६८ मिटर उचाईमा रहेको फिक्कल टाकुराबाट सगरमाथालगायत हिमशृङ्खलालाई देख्न सकिन्छ ।

सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भन्नुभयो–“आकाश खुलेको बेला तराईका भूभाग स्पष्ट देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको लोन्ली भ्यू गज्जबको देखिन्छ ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु