कलाकार संघको अध्यक्षमा खड्काको प्यानल निर्वाचित, ५७ मतको अन्तरमा लामिछाने पराजित

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७६, शनिबार
Film Artist Association of Nepal

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको सत्रौं साधारणसभाबाट रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो । पदाधिकारीतर्फ खड्का प्यानलको उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराई (९६) बाहेक सबै उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले २४३ मत ल्याउँदै विजयी हासिल गरेकी छन् । उनलाई अन्य उम्मेदवारहरु मध्येकै सबैभन्दा धेरै मत झरेको थियो । उपाध्यक्षमा सानु कुमार ताम्राकार (१७५) पनि विजयी भएका छन् । महासचिवमा चेत बहादुर सिंह (१८७) विजयी भएका छन् । उपाध्यक्षका उम्मेदवार मनोज केसी (१४२) ले ल्याएर हार बेहोरेका थिए भने महासचिवमा सञ्जय खतिवडा (१५६) ल्याई ३१ मतको अन्तरले हार बेहोरेका थिए ।

यस्तै, सचिव पदमा पनाह अधिकारी (१९४) ले ल्याएर विजयी भइन् भने सचिवकै उम्मेदवार कविता गेलाल (१६९) लाई २५ मत अन्तरले पराजित भइन् । अध्यक्षमा निर्वाचित भएका खड्का प्यानलका सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका छन् । यस्तै, सह–कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्यले २२० मत ल्याएर जित हासिल गरिन् । उनका प्रतिस्पर्धी डि.बि बम्जनले १३३ मत पाएका थिए ।
त्यस्तै, १० जना निर्वाचित सदस्यमा शितल केसीले सर्वाधिक मत ल्याएका छन् । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले विजयी हासिल गरेका छन् । शनिबार भएको कलाकार संघको निर्वाचनमा ३८७ जना कलाकारले मतदान गरेका थिए ।

तीन वर्षका लागि अध्यक्षको कार्यभार सम्हाल्ने खड्काले कलाकार संघलाई कलाकारहरुको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । विजयी भएपछि उनले भने– ’तीन वर्षको कार्यकालमा मैले गरेका प्रतिवद्धताहरु पूरा गरेरै छाड्छु । निर्वाचित कार्यसमितिको पहिलो काम संघको भवन निर्माण गर्ने हुनेछ । यो कलाकारहरुको माग र आवश्यकता पनि हो ।’ उनले अध्यक्षमा पराजित भएकी सरितालाई पनि आफूले सम्मानका साथ संघमा राख्ने बताए ।

सरिताले आफू पराजित भएपछि अध्यक्षमा निर्वाचित भएका खड्कालाई खादा र फूलको बुकेद्वारा बधाई दिएकी थिएन् । उनले अध्यक्षमा गैर कलाकार नआएकोमा खुसी व्यक्त गरिन् । खड्कालाई आफूले गरेका प्रतिबद्धता लागू गर्न आग्रह गर्दै लामिछानेले भनिन्, ‘रविन्द्र दाईले जित्नु भयो, त्यो भनेको सबै कलाकारहरुको जित हो । उहाँको ठाउँमा अरु कुनै गैर कलाकार आएको भए म दुःखी हुन्थेँ । चुनावी मैदानको प्रतिस्पर्धामा आएपछि हार र जित हुन्छ, रविन्द्र दाईको जितले म दुःखी छैन ।’

 

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई म्यूजिक खबरको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु