
काठमाडौं । चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ । जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्याउने सात जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रम अन्तर्गत पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
समारोहमा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ ५५ हजार ५५५ नगदसहित, विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ ९५१ हजार नगदसहित० प्रदान गरिएको थियो । त्यस्तै, रश्मि थापा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसीप्रसाद निरौलालाई कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ ९प्रत्येकलाई २५ हजार नगदसहित० प्रदान गरिएको थियो ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेत्रीहरू वसुन्धरा भुसाल र गौरी मल्ल, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, कलाकार सङ्घ अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठलगायत थुप्रै विशिष्ट अतिथिहरू तथा देशभरका चलचित्र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो ।
भेलाको व्यवस्थापन चलचित्र पत्रकार सङ्घ नेपाल कोशी प्रदेश शाखाको संयोजनमा इलाम, झापा, मोरङ र सुनसरी शाखाले गरेका थिए ।