अग्रज लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने – जसले मनाउँदैछन् आज ४८ औं जन्मदिन

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

काठमाडौं । लोकसंगीत भन्ने बितिकै छुटाउनै नसकिने र सबैले सम्झने नाम हो, पुरुषोत्तम न्यौपाने । २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका उनको स्वरमा हजार बढी गीतहरु सार्वजनिक भइसकेका छन् । जसमध्ये थुप्रै चर्चामा रहे । लोकप्रिय बने । जीवनको लामो समय लोकगीतमा बिताएका उनी नेपाली लोक संगीतको ढुकढुकी नै बनेका छन् । स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा जन्मिएका न्यौपानेले आज ४८ औं जन्मदिन मनाउँदैछन् । उनको जन्म ०२९ साल भदौ २५ गते पिता शिवप्रसाद न्यौपाने, माता सीता न्यौपानेको कोखबाट भएको हो ।

स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर उनले दर्शक श्रोतालाई मन्त्रमुग्ध पारिसकेका छन् । उनले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पाउने कलाकार पनि उनै हुन् । उनले ऐना हेरेर, फूलको बासना र नीलो पछ्यौरीले लगातार तीन अवार्ड जितेका हुन् । हालसम्म हजार बढी गीतमा आवाज दिएका न्यौपानेले राष्ट्रिय गीत, भजन एवं तीजका गीतहरू समेत बजारमा ल्याएका छन्। न्यौपानेले स्वर दिएका गीतमा ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’, ‘लर्के जोवन’, ‘श्रीखण्ड चन्दन’, ‘ऐना हेरेर’, ‘फूलको बासना’, ‘झिलझिल सितारा’, ‘रुन्छ नि मन किन रुँदैन’ र ‘घामजस्तो चम्किलो जून हुँदैन’ लगायत चर्चित छन्। विशेषतः लोक गीतका विशिष्ट गायकका रुपमा सुपरिचित उनले लोकगीत मात्र पनि गाउँदैनन् । भजन, चुड्का, तीजका गीत पनि स्वर दिएका छन् । चर्चित तीजका गीतमा समेत स्वर दिएका छन् । गीतमा समेत पात्र चयन गरेर गीत निकाल्ने गायकका रुपमा समेत उनलाई चिन्ने गरिन्छ ।

गीतकार समेत रहेकी जीवन संगीनी भगवती न्यौपानेसँग सुखद दाम्पत्य जीवन बिताइरहेका गायक न्यौपानेका एक छोरा र एक छोरी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष विभिन्न सामाजिक संस्थामासमेत आवद्ध छन् । पोखरामा बसेर संगीत कर्म साथै रेडियो नेपालमा कार्यक्रम अधिकृत रुपमा समेत कार्यरत छन् ।

उनी अहिले पनि गीत संगीतमै व्यस्त छन् । थुप्रै वजनदार गीत मार्फत सांगीतिक फाँटमा बलियो परिचय बनाएका अग्रज गायक, पुरुषोत्तम न्यौपानेलाई सांगीतिक, व्यक्तिगत तथा पारिवारीक सम्पूर्ण पाटोमा सुख, ऐष र सम्बृद्धी र मान सम्मान मिलिरहोस्, म्यूजिक खबर परिवारको तर्फबाट जन्मदिनको उपलक्ष्यमा लाखौंलाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु