गजल सन्ध्यामा २ लाखको अक्षयकोष स्थापना !

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७५, आईतवार

असार २४, पोखरा । साहित्यकार ढाका थापाले गजल सन्ध्या पोखरामा २ लाखको अक्षयकोष स्थापना गरेका छन् । शनिबार सन्ध्याका अध्यक्ष अमृत सुवेदीलाई थापाले २ लाख २ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।

थापाले साहित्यप्रतिको अनुरागले नामको लोभ र धन भएर भन्दा पनि मनले अक्षयकोष स्थापन गर्न प्रेरित गरेकाले यो कार्य गरेको धारणा राखे । ‘गण्डकी प्रदेशमा मात्रै नभई देशभरिमै गजलमार्फत् प्राज्ञिक कर्म गर्ने संस्थाका रुपमा गजल सन्ध्या रहेको पाएँ’, थापाले भने, ‘यो प्रदेशको साहित्यिक प्रतिष्ठा उँचो बनाउने विश्वासले मैले सन्ध्यासँग सहकार्य गर्न चाहेको हुँ ।’

सन्ध्याका अध्यक्ष अमृत सुवेदीले थापाले स्थापना गरेका कोषबाट विश्वका जुनसुकै भूभागमा रहेर पनि नेपाली गजलको उत्थानका लागि कार्य गरेका अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गरिने जानकारी दिए । सन्ध्याको इतिहासमा एउटा सुनौलो रेखा थापाको कदमले कोर्ने बताउँदै सुवेदीले शुभेच्छुकहरुकै साथले गजल सन्ध्या अघि बढेको बताए ।

गजल सन्ध्यामा २ लाखको अक्षयकोष स्थापना

सन्ध्याका सल्लाहकार साहित्यकार तीर्थ श्रेष्ठले ढाका थापा जस्ता निःस्थार्थी साहित्यप्रेमीहरुको साथले नेपाली साहित्य अघि बढ्ने भन्दै थापाको प्रशंसा गरे । उनले पोखरेली गजलको छवि सिङ्गो नेपाली साहित्य जगतमा पु¥याउन गजल सन्ध्याको भूमिका महत्त्वपूर्ण रहेको श्रेष्ठको विचार थियो । गजल प्रतिभा सम्मानका लागि अक्षयकोष स्थापना हुनुले यसमा थप ईंट्टा थपेको धारणा श्रेष्ठे राखे ।

गजल प्रतिभा सम्मान विनियम मस्यौदा समितिका संयोजक रुपिन्द्र प्रभावीले हरेक दुई वर्षमा सो सम्मान प्रदान गर्ने लक्ष्य राखिएको बताए । सन्ध्याले दिँदै आएको सम्मान अबदेखि नगदसहित प्रदान गरिने उनको भनाइ थियो । सो अवसरमा अवसरमा सन्ध्याका सल्लाहकार दीपक समीप, मन क्षेत्री, उदिपराज ढुङ्गाना, कपिल शर्मा, बिर्सना बस्नेत, सचिव वसन्त विनोद, सदस्य त्रुपकलगायतले ढाका थापाले अक्षयकोष स्थापना गरेकामा धन्यवाद ज्ञापन गरेका थिए ।

सन्ध्याद्वारा सञ्चालित गजल प्रतिभा पुरस्कारका लागि यसअघि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु