१३ वटा गीत प्रस्तुत गर्दै गणेश गुरुङ एकल साँझ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७८, सोमबार

काठमाडौं । लोकप्रिय गायक गणेश गुरुङको एकल साँझ राजधानीमा सम्पन्न भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समितका सदस्य आशबीर गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा संघीय परिषद जनता समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डित, नवोदित विद्याकुञ्जका प्रिन्सिपल राजेन्द्र अधिकारी, तमु कलाकार संघका संस्थापक अधयक्ष राजु गुरुङ, वर्तमान अध्यक्ष शर्मिला गुरुङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै गणेश गुरुङ एक बहुप्रतिभाका धनी गायक भएको बताएकी थिइन् । त्यस्तै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले गायक गणेश गुरुङ एक प्रतिनिधिमुलक पात्र हुन् जसले आफूलाई हरेक धरातलमा प्रस्तुत गर्न सफल हुने बताए । त्यस्तै प्रमुख अतिथि डा. बाबुराम भट्टराईले गायक गणेश गुरुङ नेपाली जनजनको ढुकढुकी भएर लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएको गायक भएको बताउँदै शुभकामना दिएका थिए ।

गायक गुरुङले विभिन्न चार चरणमा गायन प्रस्तुत गरेका थिए । पहिलो चरणमा उनले आयो ल्होसार, पिपलु छायाँ, दाइ त मेरो लाहुर जाने गीत प्रस्तुत गरेका थिए । दोस्रो चरणमा उनले गुरुङभाषाको गीत देउराली र प्रेनोङलाई, ओछेनारा म्हैना, ङैङ्योल्स्यो रानी प्रस्तुत गरेका थिए । त्यस्तै तस्रो चरणमा मनकामना केबलकारमा चोक, याद आउँछ बेसरी, बरपिपलको छायाँ, सल्ला धुपैले गीत प्रस्तुत गरेका थिए । त्यस्तै चौथो चरणमा गायक गुरुङले सुनको औंठी, तल्लो ग्याजा गावै रमाइलो, जूनसरी माया गीत प्रस्तुत गरेका थिए । उनलाई सहगायनमा गायिका दुर्गा गुरुङ, छनु गुरुङ, भीमु गुरुङ, पवित्र गुरुङ, विष्णुमाया गुरुङ, शर्मिला गुरुङ, बीमा कुमारी दूरा, माया गुरुङ, तारा श्रीष, बबिता गुरुङ, विद्या गुरुङ, दुर्गा परियार, गायकहरु राजु गुरुङ, शिशिर गुरुङ लगायतलै साथ दिएका थिए ।
कार्यक्रममा गायक गुरुङलाई विभिन्न संघसंस्थालै पैसाको माला, खादा र फूल दिएर सम्मान व्यक्त गरेका थिए ।

को हुन् गणेश गुरुङ ?

गोरखा जिल्ला मनकामना–८ हाल सहिदलखन गाउँपालिकामा बुबा नरबहादुर गुरुङ र आमा सावित्री गुरुङको जेठो सन्तानका रुपमा जन्मिएका गायक गणेश गुरुङ लोकदोहोरीमा एउटा चर्चित नाम हो । गाउँको रोधी बस्दाबस्दै गायक बने तर उनको पारिवारिक पृष्ठभूमि भने लाहुरे थियो । ब्रिटिस लाहुरे बन्ने दौडमा उनले अन्तिम २०५८÷५९ सम्म कहिले कता कहिले कता दौडिरहे । गल्लाले नाप्दानाप्दै उनको लाहुरे हुने सपना पोखरामा पुगेर टुंगियो । उनका बुबा पनि ब्रिटिस लाहुरे, हजुरबुबा पनि लाहुरे थिए । उनीभित्र पनि लाहुरे हुने भूत चढेको थियो । तर लाहुरे सपना पूरा भएन । अन्ततः उनका सबै भाइ लाहुरे भए उनको सपना भने लाहुरे भएन गाइने भयो । अर्थात् उनी चल्तीका गायक बने ।
गायक गुरुङ लाहुरे हुने सपनाबाट टाढा बन्दै मुलुकभित्र हुने लोकदोहोरी प्रतियोगितामा भाग लिँदै गए । जति प्रतियोगितामा उनले सहभागीता जनाए सबैमा प्रथम मात्रै भए । २०५९ सालमा चैतेदशैं खुला दोहोरी गीत प्रतियोगिता पोखरामा प्रथम भएपछि उनको निरन्तर प्रथम हुने यात्रा जारी रह्यो । करिब एक दर्जन प्रतियोगितामा भाग लिएका गायक गुरुङले प्रतिस्पर्धालाई थाति राख्दै एल्बम प्रकाशनतर्फ लागे । मनकामना केबलकारमा चोक नामक लोकदोहोरी एल्बम २०६१ सालमा बजारमा ल्याए । त्यसपछि उनको दोहोरी गायन रेकर्डतर्फ उन्मुख भयो । करिब एक दर्जन एल्बम बजारमा ल्याएका गुरुङको वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्ला धुपैले, गोरखा मनकामना, रहर, गोगन पानीमा, सुनको औठी, दाइ त मेरो लाहुर जाने, गोरखा मनकामना, गोरखा डाँडा, सिरानचोक, गाउँ चिनारी गीत लगायत तीन सय भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् भने चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा रहेका छन् । २५ भन्दा बढी गुरुङ चलचित्रमासमेत गायन, संगीत र अभिनयका माध्यमले क्रियाशील रहेका गायक गुरुङ पछिल्लो समय कौडा किङका रुपमा पनि परिचित छन् ।
तमु गुरुङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष, गोरखा सांस्कृतिक समाजको द्वितीय उपाध्यक्ष र सयपत्री सांस्कृतिक समुह नेपालको अध्यक्ष समेत रहेर सामाजिक तथा गीतसंगीतकोक्षेत्रमा क्रियाशील छन्् । दर्जनौं सम्मान, पुरस्कार र अवार्ड प्राप्त गरिसकेका गायक गुरुङले २०६७ मा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका हुन् । गणेशले झन्डै डेढ दर्जन गुरुङ चलचित्रमा संगीत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु