शुभ मुकारुङको अध्यक्षतामा गीतकार संघमा नयाँ कार्यसमिति

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७७, शनिबार

काठमाडौं । गीतकार संघ नेपालको पाँचौं महाधिवेशन एवं ११ औं साधारणसभाबाट गीतकार शुभ मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ । आज भएको महाधिवेशनबाट चुडामणिको नेतृत्वमा भएको संघले शुभ मुकारुङको नेतृत्व पाएको हो । यसभन्दा अघि गीतकार मुकारुङ उपाध्यक्ष पदमा थिए । लामो समय गीतकार संघको पदाधिकारीमा बसेका मुकारुङले नेतृत्व गरेको कार्यसमितिमा उपाध्यक्ष वसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जित बहादुर घले (जेबी संयोगी) चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सुमि सिंह, शित्तल कादम्बिनी, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी, चेतन खतिवडा, उमेश राई रहेका छन् ।
गीतकार संघको नयाँ कार्यसमिति चयन गर्दै गर्दा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जना, महासचिवमा तीन जना, सचिवमा दुई जना, कोषाध्यक्षमा एक जना र सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो । अन्ततः अध्यक्ष, महासचिव र सदस्य पदमा सहमतिमा सर्वसम्मति भएको थियो भने कोषाध्यक्ष निर्विरोध चयन भएका थिए । उपाध्यक्ष र सचिव पदमा भने चुनाव नै भएको थियो । उपाध्यक्षमा वसन्त वित्यासी थापा र सञ्जय बरालको उम्मेदवारी थियो भने सचिवमा डब्बु क्षेत्री र महेश आचार्यको उम्मेदवारी रहेको थियो । चुनावी प्रक्रियाबाट थापा र आचार्य निर्वाचित भएका थिए । संघमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पहिलाको कार्यसमितिबाट आएका हुन् भने अरु नयाँ अनुहारको प्रवेश भएको हो ।
म्यूजिक खबर परिवार नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु