
काठमाडौं । गीतकार सङ्घ नेपालको १७ औं वार्षिकोत्सवको सुअवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम’ भव्यरुपमा सम्पन्न भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले सभापतीत्व गरेका थिए ।
गीतकार संघले हरेक वर्ष नियमित रुपमा प्रदान गर्दै आएका विभिन्न शीर्षकका सम्मान तथा पुरस्कारहरु यस वर्ष पनि अर्पण गरियो । यस वर्ष प्रतिष्ठित गीतकार निर शाह ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा सम्माति भए । विगत पाँच दशकदेखी अविचलित योगदान पू¥याउँदै आएका नेपाली कला क्षेत्रकै विशिष्ट व्यक्तित्व गीतकार शाहलाई नगद रु. १ लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरियो । शाहका वादल बनाई देउ आकार बदल्न सकुँ, गहिराइमा डुब्दै नडुव , पर्खि बसे आउला भनि , कहिले कही हास्छु धेरै नै हान्छु, तिमीसँग डुङ्गामा घुम्छा घुम्दै फेवाताल, खुल्दैन ताल्चा त्यो ढोकाका, हिउ भन्दा चिसो, आगो भन्दा तातो, आँखैमा कसैको तस्बिर, अर्को जुनी चाहिदैन मलाई, प्यारी वसन्ती, पसिनाको जलैले लगायत गीतहरु प्रसिद्ध छन् ।
त्यस्तै, यस बर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राइलाई नगद रु. १५,००० सहित सम्मान गरियो । बिदेशमा बसेर पनि नेपाली गीतिलेखनमा सक्रिय रहँदै आउनु भएकी गीतकार राईद्वारा रचित पुरानो हुँदैन माया, पानी मिठो मेरो हजुर इलाम बजारको लगायत गीतहरु कालजयी छन् ।
समारोहमा संघले दिने ‘बिष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ बाट यस वर्ष लोहोरङराई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद रु. २५,२५२ सहित सम्मानित गरियो ।
समारोहमा, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान – २०८२’ बाट दुईजना गीतकारहरु सम्मानित भए । नेपाली गीति लेखनमा नयाँ सम्भावना सहित निरन्तर साधना गर्दै आएका गीतकारद्वय सुशिला पौडेल र अरुण तिवारीलाई जनही नगद रु. १५,००० सहित पुरस्कृत गरियो ।
सोहिक्रममा संघले यस वर्षबाट शुरू गरेको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान–२०८२’बाट हिमालय टाइम्सका उपसम्पादक बरिष्ठ पत्रकार कृष्ण भुसाल नगद रु ५,५५५ सहित सम्मानित भए । सम्मानितहरुको तर्फबाट ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा सम्माति गीतकार नीर शाहले मन्तव्य राखेका थिए ।
कार्यक्रममा यस बर्ष ‘जगतमर्दन थापा बर्ष गीति पुस्तक पुरस्कार २०८२’ कल्पना खरेलको कृती ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालनको कृती ‘भोलीको आश उज्यालो प्रकाश’लाई नगद रु. ५७,००० सहित प्रदान गरियो । भने भैरवनाथ रिमाल (कदम) बर्ष गीत पुरस्कारबाट ५७,००० सहित गीतकारद्वय डम्बर याक्सो ‘म तिम्रो नजरमा’ गीतबाट र प्रवल विष्ट ‘भुल्न सकिनँ’ गीतबाट पुरस्कृत भए ।
कार्यक्रममा सम्मान र पुस्कार कार्यक्रमसँगै दश अग्रज गीतकारहरुको सम्मानमा इतिहास बोकेका दशवटै कालजयी गीतहरु चर्चित गायक–गायिकाहरूले मञ्चमा प्रत्यक्ष (लाइभ) प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व नीर शाहकै गहन दार्शनिक भाव बोकेको गीत ‘गहिराइमा डुब्दै नडुब’ लाई गायक जगदिश समालले प्रस्तुत गरेर कार्यक्रमको साङ्गीतिक माहौल तताएका थिए । त्यसैगरी, गीतकार डा. भोला रिजालको मर्मस्पर्शी गीत ‘मेरो पौवा पाटीलाई’ गायक सञ्जय तुम्रोकले दमदार शैलीमा प्रस्तुत गरे।
गत वर्ष संघबाट सम्मानित भएका र दिवंगत भएका अमर स्रष्टा गणेश रसिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको चर्चित पूर्वी लोक आधुनिक भाका ‘धेरै सम्झे धेरै हुन्छ’ लाई गायक अशोक मुकारुङले स्वर दिएका थिए । यसैगरि गीतकार एसपी कोइरालाद्वारा रचित चलचित्र ग्रहणको चर्चित रोमान्तिक गीत ‘धडकनभित्र लुकाइदेऊ न’ लाई रूपक चौधरी र बिनुषा राईको युगल गायनले हल रोमाञ्चित भएको थियो ।
मातृवात्सल्य र भावुकताले भरिएको अमर बान्तुको रचना ‘आमा’ लाई गायिका निशा देसारको प्रस्तुतिले दर्शकदीर्घालाई भावुक बनाएको थियो भने कवि एवं गीतकार बसन्त चौधरीको आधुनिक गीत ‘मेरो प्यारो मान्छे’ मा गायिका माण्डवी त्रिपाठीले सुन्दर प्रस्तुति दिइन्।
यस्तै संघका संस्थापक अध्यक्ष समेत रहेका गीतकार डा. कृष्णहरि बरालद्वारा रचना गरिएको गम्भीर जीवनबोध गराउने चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ बाल गायक प्रेम परियारको जादुमयी स्वरमा गुन्जिँदा दर्शकहरूले तालीको गडगडाहटले हल गुञ्जायमान भएको थियो । यस्तै गाीतकार योगेन्द्रमणी दाहालको ‘बादलहरू हो’ मा सञ्जय तुम्रोकले प्रस्तुति दिएका थिए भने संघका पुर्वअध्यक्ष समेत रहेका गीतकार चूडामणि देवकोटाको देशभक्तिपूर्ण गीत ‘तिम्रो पनि रगत’ मा सुमित खड्काले प्रस्तुति दिँदै राष्ट्रिय भावना जगाएका थिए ।

संघकै पुर्व अध्यक्ष शुभ मुकारुङको शब्द रचना रहेको चर्चित गीत ‘तिमीले मलाई छाडि गए’लाई गायक गणेश पराजुलीले गीतको भाव अनुसारकै मर्मश्पर्शी प्रस्तुति दिएका थिए । वरिष्ठ सङ्गीतकार अशोक कुमार राईको सङ्गीत संयोजनमा १५ जना कुशल वाद्य वादकहरूको टोलीले गीतहरूमा प्रत्यक्ष सङ्गीत भरेका थिए । जसमा, किबोर्डमा शुवानी मोक्तान, भ्वाइलिनमा मोहनकृष्ण कार्की ढली, मनोहर सुनाम, किशोर कार्की ढली, रविन कार्की ढली, ढोलकमा कुमार महाराज, भरत बुढाथोकी, बाँसुरीमा गोपाल देव, मादलमा पोषण घर्ती, अनिल थापा, गिटारमा देव राई (बेस), प्रभात लामा (लिड), खगेन्द्र गुरुङ (रिदम) र प्याड ड्रममा अंकित खड्का रहेका थिए ।
समारोहमा यस बर्ष गीतकार संघ नेपालको आजीवन सदस्यता प्राप्त गीतकारहरुलाई प्रमाण–पत्रसमेत वितरण गरिएको थियो भने कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरियो ।
उक्त विशेष समारोहमा, संघका अध्यक्ष तथा कार्यक्रमका सभापती बसन्त बित्यासी थापाले स्वागत मन्तव्य राखेका थिए । थापाले देशको असहज परिस्थितिका कारण कार्यक्रम केही ढिलो हुन गएको स्मरण गर्दै भने – भदौ १० मा आएको विनाशकारी बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण स्थगित गर्न बाध्य भयौं । देश दुख्दा हामी पनि दुखी भयौं र कार्यक्रम स्थगित गरी सङ्घले सो कार्यक्रमका लागि छुट्ट्याइएको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १५ हजार सहयोग गर्यौं । नेपाली गीत–सङ्गीत र शब्दको गरिमालाई उच्च राख्न सङ्घ सधैँ प्रतिबद्ध रहेको कुरामा जोड दिंदै उनले समारोहमा उपस्थित एवं संघ र समारोहलाई सहयोग पु¥याउनेलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारीहरु, कला क्षेत्रका विशिष्ट व्यक्तित्वहकोे बाक्लो उपस्थिति रहेको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्य सचिव भुपेन्द्र रायमाझी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, सांगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै गीतकार संघ नेपालका संस्थापक अध्यक्ष एवं प्रतिष्ठित गीतकार कृष्णहरि बराल, प्रतिष्ठित गीतकारहरु भोला रिजाल, एसपी कोइराला, राजेन्द्र थापा, गीतकार संघ नेपालका अक्षय कोष संरक्षकहरु अमर बान्तु, अभिषेक रिजाल, मोहित मर्दन थापा, गीतकार दिनेश अधिकारी, सुबाश चन्द्रढुंगेल, प्रमोद ढुंगाना, भुषण खरेल, योगेन्द्रमणी दाहाल, शुभ मुकारुङ, सुनिल मास्के, कवि तथा गीतकार डा.राजुबाबु श्रेष्ठ, कवि तथा गीतकार देवेन्द्र केसी, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ गायक तथा सर्जक दुर्गा रायमाझी, लगायतका गीतकारको उपस्थिति रहेको कार्यक्रमलाई संचारकर्मी एवम् संघका आजीवन सदस्य हेम सुबेदीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम रेडियो आहा १०४.५ मेगाहर्ज र रेडियोको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो ।