लकडाउनमा के गर्दैछन् गोर्खाली कलाकार !

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार
Gorkhali Artist

काठमाडौं । हाम्रो मुलुक मात्र होइन विश्वमा नै कोरोना भाइरस (कोभिड–१९) ले आक्रमण गरेको कारण लकडाउनको अवस्था सिर्जना भएको छ । लकडाउनका कारण कुनै पनि उद्योगधन्दा, कल कारखाना, पसल, होटल व्यवसाय लगायत मनोरञ्जन क्षेत्रका सबै काम ठप्प छ । बलिउड, हलिउड, कलिउडका सबै कलाकारहरु यतिबेला लकडाउनको समयलाई सामाजिक कार्य गरेर कसैले बिताएका छन् भने कसैले मनोरन्जनात्मक काम गरेर बिताएका छन् । कोही गाउँतिर गएर खेतीपाती गरिरहेका छन् भने कोही गाउँ जान नपाएर शहरमा नै लकडाउनमा थुनिएका छन् ।
यही सिलसिलामा संगीत क्षेत्रमा रहेका गायक गायिकाहरु पनि लकडाउनलाई विभिन्न माध्यमले सदुपयोग गरेर उर्जा थपिरहेका छन् । कोही कलाकार राहतको कार्यमा सहयोग जुटाइरहेका छन् भने कोही गाउँतर्फ केन्द्रित भएर खेतबारीमा व्यस्त छन् । कोही सामाजिक सञ्जालको सदुपयोग गरी आफ्ना स्रोताहरुलाई मनोरञ्जन दिइरहेका छन् । गीतसंगीतको उद्योगभित्र मुलुकका धेरै कलाकारहरु केन्द्रित छन् त्यसमध्येका एक समूह गोरखा सांस्कृतिक समाज अन्तर्गत रहेका गोरखाली कलाकारहरु यतिबेला कहाँ के गरिरहेका छन् भन्ने रिपोर्ट तयार गरेका छौं ।

दीपसागर थापा, गायक (संस्थापक अध्यक्ष, गोरखा सांस्कृतिक समाज) : गायक दीपसागर थापा यतिबेला काठमाडौंमा नै लकडाउनमा रहेका छन् । लकडाउनका कारण गायन क्षेत्र ठप्प छ । उनले सञ्चालन गर्दै आएको गाउँले रोधीघर पनि संचालन हुने कुनै छाँटकाट छैन । लकडाउनको समयमा परिवारसँग रहेर बिताइरहेका छन् भने आफूसँग सम्पर्कमा रहेका र अप्ठ्यारोमा परेका कलाकारहरुलाई सहयोग जुटाउने काममा पनि सक्रिय रहँदै आएको बताउँछन् । गायक थापा सबै गोरखाली कलाकार मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन र लाकडाउनको पालना गर्न आग्रह गर्छन् ।

बीरबल ढकाल, गायक (अध्यक्ष गोरखा सांस्कृतिक समाज) : गायक बीरबल ढकाल यतिबेला काठमाडौंमा नै रहेका छन् । लकडाउनको समयमा नै गोरखासम्म पुगेर काठमाडौं आएका उनी समाजसेवामा नै सक्रिय रहेका छन् । लकडाउनले अप्ठ्यारोमा परेका कलाकारहरुलाई आफूसँग सम्पर्क भएसम्म सहयोग जुटाउनमा लागिपरेको उनी बताउँछन् । सबै कलाकारहरु लकडाउनका कारण रोजीरोटी ठप्प भएको छ, अफ्ठ्यारोमा परेका छन्, उनीहरुलाई हामी सबै मिलेर सकेको सहयोग गरेर कोरोना भाइरससँग लड्नुपर्ने अवस्था छ, गायक ढकालले भने । लकडाउनको समयमा केही गीतहरु सिर्जना गरेको बताउँदै ढकालले यो अवस्था सामान्य भएपछि गीत रेकर्ड गर्ने योजनामा रहेको बताएका छन् । गोरखा सांस्कृतिक समाजसँग आबद्ध र सम्पूर्ण कला क्षेत्रमा आबद्ध कलाकार लगायत सम्पूर्ण नेपालीहरुलाई लकडाउनको पालना गर्दै सुरक्षित रहन ढकालले आग्रह गरे ।

हरिमाया गुरुङ, गायिका : अग्रज गायिका हरिमाया गुरुङ यतिखेर काठमाडौंमा नै छन् । कोरोना भाइरसले विश्वमा आतंक फैलाइरहेको अवस्थामा नेपालले पनि यो पीडा भोगिरहेको छ । त्यही पीडाभित्र गायिका गुरुङले पनि दिनचर्या बिताइरहेकी छन् । घर बाहिर निस्कन नपाएपछि लकडाउनको समयमा घरमा नै परिवारसँग बसेर फिल्म हेर्ने, इन्टरनेटको माध्यमले अरुलाई सूसुचित गराउने काममा उनी लागिरहेकी छन् भने आफ्नो सम्पर्कमा आएका समस्यामा परेकाहरुलाई सहयोग गर्ने काममा पनि उनी लागिरहेकी छन् । मुलुकमा परेको समस्या आफ्नै समस्या हो त्यसैले सबै मिलेर समस्याको समाधान गर्नुपर्छ, उनले भनिन् । सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै कोरोना संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेकी छन् ।

प्रकाश भट्ट, निर्देशक: निर्देशक प्रकाश भट्ट यतिबेला काठमाडौंमा नै छन् । लकडाउनले गर्दा उनी पनि सहज रुपमा काम गर्न सकिरहेका छ्रनन् । कोरोना भाइरसले गर्दा भएको लकडाउनमा समस्यामा परेका गायक, गायिका, मोडल, कोरस डान्सरलगायत सम्पूर्ण कलाकारहरुलाई सकेसम्मको सहयोग जुटाउने र हस्तान्तरण गर्ने काममा उनी लागिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सदस्यका हैसियतले होस् या आफ्नो व्यक्तिगत तबरबाट सहयोग गर्ने काम जारी राखेका छन् । दैनिक कामकाजमा जान सहज नहुन्जेलसम्म सबैले सुरक्षित वातावरण अपनाउन जरुरी छ, उनी भन्छन्– ‘सके समस्यामा परेकालाई सहयोग गरौं नसकेपनि लकडाउनको उल्लंघन नगरी कोरोना भाइरसबाट बचौं र अरुलाई पनि बचाउने काम गरौं ।’

सुनिला गुरुङ, गायिका : गायिका सुनिला गुरुङ पनि काठमाडौंमा नै रहेको बताउँछिन् । लकडाउनको सुरुवात हुनेबेलासम्म उनी काठमाडौंको नयाँ बसपार्कनजिकै रेष्टुरेन्ट व्यवसायमा नै व्यस्त थिइन् । कोरोना भाइरसले विश्वलाई यस्तोसम्म बनाउला, यति लामो समयसम्म लकडाउन होला भन्ने सोचेकै थिइन उनले भनिन्– ‘लकडाउन खुला होला अनि दैनिक काममा फर्किन पाइएला भन्दै लकडाउनको समय बिताउँदा बिताउँदै तीन महिना पुग्न लागिसक्यो अझै कतिसमय पर्खनु पर्ने हो ।’ गाउँ जान पाएको भए खेतीपाती गर्न पाइन्थ्यो तर सबै दिदीबहिनीहरु नै काठमाडौंमा आफ्नै कोठामा थुनिनु परेको अवस्था छ, उनले भनिन् । तर उनी मनमा उर्जा लिएर हिंडेकी छन्, विश्वमा नै कोरोना भाइरसले आतंकित बनाइरहेको छ भने हामीले लाकडाउन पालना गर्दै सबैलाई उर्जा हुने काम गर्न जरुरी छ, त्यसैले सबैलाई सुरक्षित रहन र लकडाउनको पालना गर्न आग्रह गर्छिन् ।

बेलीमाया पुलामी, गायिका: गायिका बेलीमाया पुलामी पनि काठमाडौंमा नै लकडाउनमा छन् । लकडाउनको पालना गर्दागर्दै तीन महिना पुग्न लाग्यो झन् नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ डर थपिएको छ, उनले भनिन् । गोर्खा जान नपाएकोले यस समय कोठामै परिवारसँग बिताएर सिर्जनामा रमाइलो गरिरहेको उनले बताइन् । सबै नेपालीहरुलाई इम्युनिटी पावर बढाउन विभिन्न मनोरञ्जनात्मक कार्यकलाप गर्न अनुरोध गर्दै उनले भनिन्, जसले जे सहयोग गर्न सकिन्छ त्यो कार्य गर्न पनि सबैलाई अनुरोध गरेकी छन् ।

लवकुमार भट्ट, गायक तथा संचारकर्मी: गायक लवकुमार भट्ट लकडाउन भएपछि गाउँतर्फ गए । केही समय गाउँको बसाइपछि उनी पुनः काठमाडौं फर्किएका छन् । ट्राफिक एफएममा कार्यक्रम संचालन गरिरहेका उनी यतिखेर घरबाट नै रेडियोकर्मलाई निरन्तर संचालन गरिरहेका छन् । लकडाउनको पालना गर्दै सम्पूर्ण नेपालीहरुमा अघि बढ्न र कोरोना भाइरससँग लड्दै सुरक्षित रहन रेडियोमार्फत सुसूचित गराइरहेका छन् । गायनको क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेकोले यस समयमा उनी केही सिर्जना गर्ने क्रममा छन् । गोर्खाली कलाकार मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन पनि उनले अनुरोध गरिन् ।

किस्ना आचार्य ‘रोशनी’, गीतकार तथा संचारकर्मी : गीतकार तथा संचारकर्मी किस्ना आचार्य रोशनी लकडाउनको समयमा गोरखा पुगेकी छन् । काठमाडौंमा क्रियाशील रहँदै गर्दा कोरोना भाइरसले विश्वभरि आतंकित बनायो त्यो असर काठमाडौंमा पनि देखा प¥यो । पत्रकारिता एवं कलाकारितामा नै सक्रिय रहिरहेको बेलामा एक्कासी भएको लकडाउनका कारण छोटो समय त होला नि भनेर उनी गोरखा पुगिन् । तर यतिबेला भने गोरखामा नै सुरक्षित भएको महसुस गरेकी छन् । गाउँघरको रमणीय वातावरणसँगै उनले लकडाउनलाई सिर्जनामा सक्रिय गराएकी छन् । जसले गर्दा एउटा गजलसंग्रहको तयारी भइरहेको छ, गाउँको दिनचर्या कृषिसँग जोडिन्छ उनले भनिन् म पनि त्यही काममा व्यस्त छु । यहाँको वातावरणले मलाई सिर्जनामा पनि व्यस्त बनाएको छ । कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं, सबैले आ–आफ्नो तर्फबाट सहयोग पु¥याऔं उनले भनिन् ।

सुनिल लामिछाने, मोडल: विश्वमा फैलिएको कोरोनाले नेपालमा पनि असर पर्न थालेपछि भएको लकडाउनले गर्दा जन्मभूमि गोरखामा दिनहरु बिताइरहेका छन् मोडल सुनिल लामिछानेले । भारतीय खुला सीमाका कारण काठमाडौं जोखिम ठानी गोरखा पुगेका लामिछाने लकडाउनको अवधिभर कृषिसँग नजिक भए । ‘म त कृषकको छोरा त्यसैले गाउँमा आएपछि मल बोक्ने, गोरु जोत्ने,कोदालो खन्ने, मकै रोप्ने र गोड्ने, दाउरा काट्ने जस्ता काम गरेर दिन बिताइरहेको छु’ लामिछानेले भने । कृषि र घर का काम बाहेक गाउँ वरिपरि सबै आमाबुबाहरुलाई कोरोना भाइरस सम्बन्धि चेतना जगाउने काम पनि गर्दै आएको उनले बताए । दिनभर कृषि काममा व्यस्त भएका उनी विहान बेलुकाको समय भने इन्टरनेटको माध्यमले देश विदेशमा कोरोनाको प्रभाव कस्तो भयो भन्ने जानकारी राख्दै आएका छन् भने साथीहरुसँगको सम्पर्कमा पनि रहेको बताए । अब परिस्थिति सामान्य भए छिट्टै काठमाडौं फर्किएर काम गर्ने सोचमा रहेका उनी गोरखामा नै सुरक्षित रुपमा रहको हुँदा सम्पूर्ण नेपालीहरुलाई पनि सुरक्षा अपनाउन अनुरोध गरेका छन् ।

प्रेम अर्याल, गायक: गायक प्रेम अर्याल पनि यतिखेर जन्मथलो गोरखाको नामजुङमा पुगेका छन् । कपुरधारमा फोटोस्टुडियो संचालन गर्दै बेलुकाको समय नगरकोट दोहोरी साँझमा कार्यरत रहेका उनी लकडाउनसँगै काठमाडौं छाडेका थिए । हाल उनी गाउँको कृषि पेशासँगै बाख्रा गोठालो गएको अनुभव सुनाएका छन् । जन्मेको ठाउँमा हिजो गरेको कामलाई नै लकडाउनको समयमा निरन्तरता दिइरहेको छु र गाउँका वरपर छरछिमेकमा कोरोना भाइरसबारे चेतना जगाउने काममा पनि लागिरहेको छु, उनले भने । स्वास्थ्य नै ठूलो धन भएकाले सबैजना सुरक्षित रहन अनुरोध गर्दै कोरोनाको संक्रमण झन् व्यापक रुपमा नेपालमा फैलिन थालेकोमा चिन्ता व्यक्त समेत गरे ।

बबिता बानियाँ जेरी, गायिका:  गायिका बबिता बानियाँ काठमाडौंमा जूनकिरी दोहोरी साँझ संचालन गरिरहेकी थिइन् । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकी उनी लकडाउनसँगै यतिखेर भने कर्मघर कोहलपुर पुगेकी छन् । गत वर्ष अधियाँ दिएको खेतबारी यसपाली आफैं खेती लगाउने सोचमा बारीमा काम गरिरहेको छु, उनले भनिन् । अब तत्काल फर्किएर काठमाडौंमा व्यवसाय गर्न सहज नदेखेका कारण घरमा नै रहेर खेतीपातीलाई प्राथमिकतामा राखेको उनले बताइन् । सबैजना कोरोना भाइरसँग सुरक्षित रहेर लकडाउनको पालना गर्न उनले अनुरोध गरिन् ।

रविन लामिछाने, गायक:  गायक रविन लामिछाने लकडाउनको आधा समय काठमाडौंमा नै गुजारेर यतिबेला जन्मघर गोरखा पुगेका छन् । लकडाउन अवधिमा काठमाडौंमा रहेर विभिन्न सामाजिक काममा सक्रिय रहँदै आएका उनी पनि गोरखा पुगेपछि कृषि पेशासँगै रमाइरहेका छन् । बाझो बारीमा खेती गर्ने काम भएको छ, उनले सुनाए सिर्जना गर्ने काम पनि रोकिएको छैन । गाउँमा आफूले निर्वाह गर्नुपर्ने भूमिकासँगै कृषि पेशामा घर परिवारलाई सघाउँदै आएको उनले बताए । सामाजिक दूरी कायम गर्दै गाउघर सरसफाइमा पनि उनी लागिरहेको बताए । नेपालमा झन् कोरोना आतंक बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सबैजना सुरक्षित रहेर लाकडाउनको पालना गर्न पनि अनुरोध गरेका छन् । अब तत्कालको अवस्था दैनिक कामकाजमा फर्किन सकिने अवस्था नभएकोले सबैजना सुरक्षित रहेर स्वास्थ्यको ख्याल गर्नुहोला उनले भने ।

हरिराम परियार, गायक:  गायक हरिराम परियार पनि लकडाउनको आधा समय काठमाडौंमा बिताएर गोरखा पुगे । गोरखामा जाँदा पनि बाटोमा समस्या परेकाहरुलाई सहयोग गर्दै गए । घर पुगेपछि पनि केही समय खेतबारीमा काम गरे, घरको काम गरे, गाउँघरमा सामाजिक दूरी कायम गर्दै जनचेतना फैलाउने काम पनि गरे र पुनः काठमाडौं फर्किए । काठमाडौं फर्किएपछि पनि समस्यामा परेका कलाकारहरुसँग सहकार्य गरिरहेका छन् । आफूले सकेको सहयोगको काम गरिरहेका छन् । यसै समयमा गीतसंगीत सिर्जनाको कामलाई पनि उनले छाडेका छैनन् । सामाजिक दूरी कायम गर्दै कोरोना भाइरसबाट सुरक्षित रहने उपायहरु अबलम्व गर्दै आफ्नो काम गरिरहेका छन् । सबैलाई सुरक्षित रहेर बस्न, लकडाउनको पालना गर्न अनुरोध गर्दै उनी सम्पूर्ण नेपालीहरुलाई सचेत रहन अनुरोध गरेका छन् ।

त्यस्तै गायक सञ्जय गुरुङ, गायक दीपक अर्याल, गायिका मीरा गोर्खाली, गायक मौसम गुरुङ, मोडल नारायण ढकाल, काठमाडौंमा नै छन् । लकडाउनको पालना गर्दै उनीहरु कोरोना विरुद्धको लँडाइमा नै रहेका छन् ।

त्यसो त लोकप्रिय मोडल रञ्जिता गुरुङ, दिनेश थापा, गायक रञ्जित परियार, गायक सागर गुरुङ, गायिका सिता थापा, गायिका तथा मोडल मुस्कान घर्ती, गायिका चिजा तामाङ, सुमित्रा लामा, गायक हेमन्त आले, निर्देशक सुजन श्रेष्ठ, गायिका सरिता अधिकारी, गायिका सरिता कार्की,  गायक पृथ्वी गुरुङ, गायिका निशा गुरुङ, गायक सुजन परियार, लगायतका कलाकार पनि जन्मथलो गोरखामा नै छन् । उनीहरु गोरखामा यतिबेला मौसम अनुसारको खेतीबाली लगाउने काममा व्यस्त छन् । परिवारसँग समय बिताउन पाएको खुशी व्यक्त गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु