• गोविन्द मधुरको दुई दशकः संघर्षदेखि सफलतासम्म

    म्यूजिक खबर
    प्रकाशित: २ माघ २०८०, मंगलवार

    सबिता पोखरेल/म्यूजिक खबर


    सारा दोष मलाई दिन्छौ, मेरो गल्ती केहि छैन
    भन्छेउ अरे म मरेनी केहि फरक पर्दैन
    एकदिन उज्यालो छाउँला, मेरो पनि त दिन आउला
    मरेको छैन अझै म मरेको छैन ।
    पछिल्लो समय सार्वजनिक भएका गीतहरु मध्ये सुगम संगीतमा सर्वाधिक रुचाइएको गीत हो यो । यो गीतमा गोबिन्द मधुर आचार्यको स्वर, संगीत रहेको छ । शब्द समेत दिनेश अधिकारीसँग मिलेर उनैले लेखेका हुन् । ति सबै काममा उनले न्याय गरेका छन् । यो गीतलाई २०८० असोज १० मा ‘गोबिन्द मधुर आचार्य’ नामको य्ुट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जब यो गीत सार्वजनिक भयो, गोबिन्दको चौतर्फी चर्चा भयो । यहि गीतलाई राम्रो भ्यूज आयो, न्यूज पनि उस्तै गरि । सांगीतिक क्षेत्रमा दुई दशक बिताइसकेका संगीतकार गोबिन्दलाई यहि गीतले गायकको रुपमा समेत स्थापित गरायो । उनको निखारिएको गायन र संगीतले सांगीतिक धरातलमा उचाई कायम ग¥यो । यतिबेला यो गीत प्रकाशन भएको ४ महिना पनि पुगेको छैन । गीतले करोड भ्यूज क्रस गरिसकेको छ । गोबिन्दको जिवनकै अत्यन्तै न्यून लगानीमा बनेको गीत हो यो । गणितीय हिसाबमा भन्नुपर्दा ५–१० हजार खर्च भयो । यसअघि धेरै लगानी गरिएका गीतलाई कमले सुने । एउटा मात्रै गीत थियो ८० हजार जति भ्युज कमाएको । नत्र ३ हजार, २ हजार, १ हजार यस्तै यस्तै भ्युज थिए । यहि गीतको सपोर्ट अन्य गीतको समेत भ्यूज बढाएको छ ।

    गोविन्द दुई दशकदेखि सबै कुरा भुलेर संगीतमा नै लिप्त भएका छन् । मीठा मीठा गीतहरु पस्किरहेका छन् । तर, उनलाई अहिले नयाँ गायक भन्नेहरु पनि धेरै छन् । अहिले गीत हिट भइरहेकाले र भर्खरै मिडियाले पनि स्थान दिन थालेकाले उनलाई नयाँ ठानिएको हो । यो कुरामा पनि गोविन्द दुःखी छैनन् । उनी भन्छन् – ‘नयाँ भनेर चिन्नेहरुलाई मेरो पुरानो गीत सुनाउँदा छक्क पर्नुहुन्छ । त्यो पनि मलाई रमाइलो लाग्छ । कतिले कहाँ हराएको थियो यति मीठो आवाज भनेर कमेन्ट गर्नु भएको छ । आवाज हराएको होइन, श्रोताको कानसम्म त्यो आवाज नआईपुगेको मात्र हो ।’ त्यसैगरि सयौंचोटी सुन्दा पनि धित मर्दैन, जति सुनो उति सुनौं लाग्ने गीत’ भन्ने भावका प्रशस्तै कमेन्टहरु अहिले पनि पढ्न पाइन्छ । उनको स्वरमा रहेको नयाँ गीत ‘एकदिन उज्यालो छाउला मेरो पनि दिन आउला’ले धेरैको मनलाई आनन्द दियो, कानलाई शितलता दियो, उनको आफ्नै लागि पनि साँच्चै दिन आएको छ । संगीतकारका हिसाबमा स्थापित र लोकप्रिय भएता पनि गायनमा यही गीतलाई टर्निङ प्वाइन्ट मान्छन् ।
    हुन पनि सङ्गीत, स्वर र रचनाको त्रिवेणीबाट कालजयी गीतहरु पस्कन सफल आचार्यको सङ्गीतप्रतिको पृष्ठभूमि खोज्दा एक इतिहास बनेको छ । गोविन्दले यहाँसम्म आइपुग्न निकै लामो यात्रा पार गरेका छन् । उनले मध्यपश्चिमान्चलको दाङबाट काठमाडाको दूरी मात्र पार गरेनन्, २० वर्षे लामो समय सांगीतिक क्षेत्रमा खर्चेका छन् । उनी ०५९ सालदेखि सांगीतिक करिअरमा होमिएका हुन् । ‘कान्छीको रुमाल खस्यो पानीमा’ गीतकार लोकराज अधिकारीले लेखेको लोकगीतबाट गायनयात्रा सुरु गरेका हुन् । आफ्नै दाई सन्तोष आचार्यसँग मिलेर गाएको यो गीतले उनलाई स्थानिय रुपमा गायकको परिचय दिलायो ।

    त्यसयता गीत गाइरहे । संगीत पनि भर्न थाले । स्वर सुन्नेहरुले आहा नै भनिदिन्थे । तथापी संगीतमा बढी छाए । उनले थुप्रै गीतमा संगीत भरेका छन् । लोकराज अधिकारीको शब्द, अन्जु पन्त र मनोजराज शिवाकोटीको स्वर रहेको ‘मर्छु बरु छट्पटीमा तिम्रो सामु पर्दिनँ’ बोलको गीतमा संगीत भरे तब उनी संगीतकारका रुपमा स्थापित भए । संगीतकारको रुपमा बिक्न थाले । यसैगरि स्वरुपराज आचार्यको स्वर एवं सुदिप रेग्मीको शब्दमा रहेको गीत ‘भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई’ पनि उतिकै रुचाइएको छ । पूर्णिमा लामाको स्वर रहेको फूल भनुँ जिन्दगीलाई, सन्दिप न्यौपानेको ओक्कल दोक्कल पिपल पात जस्ता थुप्रै चर्चित गीतहरुमा उनको संगीत सुन्न सकिन्छ । यात्राका क्रममा ६ वर्षअघि ‘मधुर’ एल्बम सार्वजनिक गरे । उनको करिअरमा यो एल्बमले पनि राम्रै चर्चा दिलायो । एल्बमा चोली फाट्यो कि, तिम्रो भइनँ भने, भाग्यमानी लेख्नु, तिमीले मलाई, तिम्रो भइनँ भने, तिमी पनि, तिमीले मलाई, बदनाम त मेरै, सिउँदो तिम्रो, तिमीसँगै गीतहरु समाहित छन् ।

    उनी सबै विधाका गीतमा संगीत भर्छन्, गीत गाउँछन् । दोहोरीसँगै आधुनिकदेखि र चलचित्रका गीतका लागिसम्म काम गरेका छन् । नाम चलेका थुप्रै गायक गायिकासँग सहकार्य गरेका छन् । गोविन्दको स्वर, शब्द र संगीत गरेर ६–७ सय भन्दा धेरै गीत छन् । उनले आफैं पनि करिब डेढ सय गीत गाइसकेका छन् । थुप्रै गीतमा संगीत भरेका छन् । संगीत संयोजन उत्तिकै गरेका छन् । संगीत संयोजन भने बाँच्नका लागि रोजेको बाटो मान्छन् । जसले संगीतको अन्य पाटोलाई पनि ठुलो सहयोग गरेको छ । उनले धेरैलाई अवसर दिए । ज्योति मगरलाई काठमाडौं बोलाए, जो लामोसमयदेखि महोत्सवकी हट केक बनेकी छिन् । त्यस्तै पूर्णिमा लामालाई गायनमा फस्ट ब्रेक दिए, जसको चौतर्फी चर्चा भयो । बिन्दु परियारलाई सहयोग गरे जो आज पाश्र्व गायनदेखि आधुनिक गायनसँगै महोत्सवमा पनि व्यस्त छिन् । उनले अवसर दिएका यस्ता धेरै कलाकारहरु छन् जो व्यस्त र सफल छन् ।

    जीवनको दुई दशक लामो अनुभव प्रयोग गरिरहेका गोविन्दलाई अहिले बधाई दिने र खुशी साट्नेहरु थुप्रै छन् । उनी संगीतकार सुरेश अधिकारीलाई आइडल मान्छन् । उनै आइडल मानेको अग्रज संगीतकारले एकदिन उनको प्रशंसा गरिदिए । संगीतकार अधिकारीले एकदिन उनकै अगाडी ‘एकदिन उज्यालो छाउला’ गीतका लागि प्रशंसा गरेका थिए । अग्रज संगीतकारले अर्को अनुज संगीतकारलाई गरेको हौसलालाई उनी जीवनकै ठूलो अवार्ड पाएको महसुस गरेका छन् ।

    ‘संघर्ष गरेपछि सफल भइन्छ’, धैर्यता गरे फल पाइन्छ’ यी भनाइहरुलाई सिद्ध गरेका छन् उनले । गोविन्द आफ्नै रोजाईले यो क्षेत्रमा आएका हुन् । उनको रोजाईका लागि परिवारबाट कहिले दबाब भएन । आमा–बुबा मात्रै होइन, दाजु भाउजु र दिदी भिनाजुबाट समेत सपोर्ट पाए । बरु लामो संघर्षले कहिलेकाहिं गोविन्द स्वयं बिचलित भए । उनी सुनाउँछन् – ‘सँगैका साथी कोहि जागीर खाएर पेन्सन पाउने भए, व्यपार गर्नेहरु र परदेशीएकाहरुले समेत घर घडेरी जोडे । परिवारलाई राम्ररी व्यवस्थापन गरे । यो देख्दा कहिलेकाहिं निराशले नछोएको होइन । तर परिवारको प्रेम, सहयोग र संगीतको शक्तिले त्यो सबैलाई बिलिन गरायो । अरु त अरु ८५ वर्षे बुबा समेत खुशी हुनुहुन्छ ।’

    उनी गीत त मीठो गाउँछन् नै जस्तोसुकै परिस्थितिमा पनि गाउँन सक्ने क्षमता समेत छ । ‘रोल्पा आइडल’को निर्णायकका लागि एग्रिमेन्ट गरिसकेका थिए । जानै पर्ने थियो । त्यहि दिन आफ्नै भाउजुको १३ औं दिनको काम । दुःखद् त्यो परिस्थितिलाई पनि ह्याण्डल गर्दै निर्णायकको भूमिका निर्वाह गरे । गीत पनि गाए । यो कुरालाई उनी जीवनमा कहिलै भुल्न नसक्ने बताउँछन् । उनी भन्छन्– बाटोमा हिंडिरहेको बेला साथीहरुले ग्याङमा बसेर गीत गाउन अनुरोध गर्दा होस् या कहिलेकाहिं होटलमा मिटिङका लागि अथवा खाजा या खानाका लागि बसिरहेको बेला ओहो तपाईंसँग भेट भयो, गीत सुनौं न एउटा भन्नुहुन्छ । यो पनि माया नै जस्तो लाग्छ । असहजतामा पनि सहज हुँदै सकेसम्म गीत सुनाउने गरेको छु ।

    आँखा चिम्म गरेर उनको गायकी सुन्दा कता कता स्वरुपराज आचार्यको आभास आउँछ । स्वरुपराज आफैं झुक्किएका छन् गोविन्दको स्वर सुनेर । –रेकर्डका लागि एउटा गीतको डमी स्वरुप दाईलाई पठाएको थिएँ । दाइले फोन गरेर कसको स्वर भन्नु भयो । मैले मेरो आफ्नै हो भने । दाईले सेमत मेरो जस्तै छ त भन्नुभयो ।’ गोविन्द अझै अगाडी भन्छन् –धेरैजनाले स्वरुपदाईको जस्तै भन्नुहुन्छ । लोकप्रिय आवाजका धनीसँग मेरो आवाज मिल्छ भनिदिँदा खुशी लाग्छ । मलाई पनि दाईसँग ट्युन मिलेजस्तो लाग्छ । तर दाईको बेस अलि मोटो छ, मेरो अलि पातलो छ ।’

    यतिबेला धेरैको मनमुटुमा बसेका गायक सांगीतिक महोत्सवहरुमा भने त्यति सक्रिय देखिंदैनन् । गीत चलेको छ, तर गायक स्टेजमा देखिंदैन नि ? भनेर हामीले प्रश्न गर्दा उनी भन्छन् – ‘मेला महोत्सवमा राजनीति हुन्छ भन्ने सुन्दै आएको छु । सायद राजनीति गर्न नजानेर हो या, मेरा गीत स्टेजमा नचल्ने खालका भएर हो । तर मेरा गीत सुन्ने मात्रै छैनन् । नचाउने र उफार्ने सबै किसिमका छन् । यसो त म आफैं पनि मरिहत्ते गर्दिनँ । विदेशका २–४ वटा कार्यक्रमका लागि कुरा भइरहेको छ । अहिलेसम्म जहाँ जति जान पाएको छु । त्यसमा पनि खुशी छु ।’

    वास्तवमै कुराकानी अवधीभर कहिलै दुःखी देखिएनन्÷सुनिएनन् उनी । उनी आशावादी पनि छैनन् र निराशावादी पनि होइनन् । हुन् केवल कर्मवादी । उनी आफ्नो कर्ममात्रै विश्वास गर्छन् । उनी सकारात्मक सोचका धनी छन्, सादगी छन् । गोबिन्द साँच्चै सांगीतिक क्षेत्रका ‘गोबिन्द’ नै हुन्, ‘मधुर’ त यसै पनि सुनिएकै छन् ।
    Photo: Gopikrishna Chapagain

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु