• ज्ञानेन्द्र गदालको शब्द र सन्तोष श्रेष्ठको संगीतमा ‘फूल हौ तिमी’

    म्यूजिक खबर
    प्रकाशित: १८ कार्तिक २०८०, शनिबार
    Gyanendra Gadal_Santosh Shrestha 'Phool Hau Timi"

    काठमाडौं । गीतकार ज्ञानेन्द्र गदालको शब्द रचनामा एवं संगीतकार सन्तोष श्रेष्ठको संगीत सिर्जनामा नयाँ गीत ‘फूल हौ तिमी’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त गीतको श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

    गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडाले उपस्थित अतिथि एवं पत्रकारहरुलाई स्वागत गर्दै ‘फूल हौ तिमी’ गीतलाई सार्वजनिक गर्ने अवसर दिएकोमा संघका सदस्य गीतकार ज्ञानेन्द्र गदाल र सन्तोष श्रेष्ठप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
    ‘फूल हौ तिमी’ गीतका संगीतकार सन्तोष श्रेष्ठले गीतकार ज्ञानेन्द्र गदालको शब्दले आकर्षित भएको बताउँदै उहाँका मायाप्रेम र जीवनसँग समर्पित भावले सबैको मन जित्ने बताए । संगीतकार श्रेष्ठले गीत सार्वजनिक गर्दासम्म एउटा आफ्नो सिर्जना थपिएको महसुस नगर्ने गायक गायिकाको बानी भएको बताउँदै गायक गायिकाले गीत गाएपछि पारिश्रमिक लिएर वेवास्ता गर्ने गरेकोप्रति सोच्नुपर्ने बेला आएको बताए ।

    त्यस्तै प्रमुख अतिथि प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बास्कोटाले गीतकार ज्ञानेन्द्र गदाल असाधरण प्रतिभा भएका गीतकार एवं कवित भएको उल्लेख गर्दै उहाँका सिर्जना अब्बल रहेको बताए । ‘फूल हौ तिमी’ मायाप्रेममा समर्पण रहेको गीतका रुपमा लिएको बताउँदै उनले प्रवासमा रहेर पनि घरबासको कथालाई बुलन्द बनाउने नै नेपाली भएको बताए ।
    गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ भने देवेन्द्र नेवाको संगीत संयोजन एवं प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको छ ।
    ‘फूल हौ तिमी’ को भिडियोमा निकेश धामी र शारदा भण्डारीको अभिनय रहेको छ । शम्भु मोक्तानको छायाँकन एवं मिलन श्रेष्ठको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई साउराम आर तुलाधरले निर्देशन गरेका हुन् । भिडियोलाई अमेरिकाको शहरहरुमा छायाँकन गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु