‘हे ठूली’ कभर भिडियो प्रतियोगितामा ५० हजारसहित फ्रेन्डसिप ग्रुपले चुम्यो उपाधि

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७७, आईतवार

काठमाडौं । गायक प्रकाश गुरुङ र पूर्णकला बिसीको स्वर एवं अविनाश थापा मगरको शब्द संगीतमा रहेको कौडा गीत ‘हे ठूली’ को कभर भिडियो प्रतियोगितामा फ्रेन्डसीप ग्रुपले प्रथम पुरस्कार जित्न सफल भएको छ । फ्रेन्डसीप ग्रुपले रु. ५० हजार नगद राशिसहित प्रथम पुरस्कार जित्न सफल भएको छ । त्यसैगरी अल स्टार कल्चर ग्रुपले रु २५ हजार नगदसहित दोस्रो पुरस्कार जित्न सफल भएको छ भने मगर विद्यार्थी संघले रु. १५ हजार नगद राशिसहित तेस्रो पुरस्कार जित्न सफल भएको छ ।

त्यस्तै हे ठूलीको कभर भिडियोमा सहभागी भएकाहरुमध्येबाट डी.डी. डान्स सेन्टरले रु. १५ हजार राशिसहित वेष्ट भिडियोको उपाधि चुम्न सफल भएको छ भने सप्तरङ्गी आमा समूहले २५ हजार नगद राशिसहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ । त्यस्तै सीमा अलिशा ग्रुपले ५ हजार नगद सहितको उत्कृष्ट कोरियोग्राफीको पुरस्कार जितेको छ भने मितिनी ग्रुपले ५ हजार नगदसहित प्रोत्साहन पुरस्कार जित्न सफल भएको छ ।

असोज १७ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पुरस्कार घोषणा गर्दै हस्तान्तरण पनि गरिएको छ । गायक प्रकाश गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा तमु कलाकार संघका अध्यक्ष राजु गुरुङ, गोरखा सेवा समाज केन्द्रका अध्यक्ष महेश गुरुङ, पश्चिमाञ्चल कला केन्द्रकी अध्यक्ष एवं वरिष्ठ गायिका हरिमाया गुरुङ, संगीतकार एवं गायक दुर्गा गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम हाम्रो रोधी घर (गुरुङ÷मगर)ले आयोजना गरेको हो भने पश्चिमाञ्चल सांस्कृतिक केन्द्रले सहआयोजकको भूमिका निर्वाह गरेको थियो । कार्यक्रम निर्देशकको भूमिका भने निर्देशक दीप कोके गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल सांस्कृतिक केन्द्रकी अध्यक्ष एवं वरिष्ठ गायिका हरिमाया गुरुङले मौलिक कला संस्कृतिको संरक्षण एवं प्रबद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना भएको बताइन् । गायिका गुरुङले गुरुङ र मगर जातिहरु कौडा, सालैजो, ठाडो भाका लगायतका मौलिक कला संस्कृतिमा सदैव क्रियाशील रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर यो कला संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।

त्यसैगरी कार्यक्रममा तमु कलाकार संघका अध्यक्ष राजु गुरुङले गुरुङ र मगर जाति भनेको मौलिक कला संस्कृतिको धनी भएकोले सबैले आफ्नो संस्कृतिको संरक्षण एवं प्रबद्र्धन गर्न क्रियाशील रहनुपर्ने बताए । उनले सरकारले मौलिक कलासंस्कृतिको जगेर्नामा कुनै पनि ध्यान नदिएकोले मुलुकको संस्कृति धरापमा पर्ने अवस्थामा पुगेको भन्दै सबैलाई सजग रहन अनुरोध गरे । त्यस्तै मगरात संघर्ष समितिका तर्फबाट राम मगरले नेपालको कला संस्कृति भनेको गुरुङ र मगरले मात्र जोगाइराखेको दाबी गरे । उनले हिन्दूहरुले मगर र गुरुङको संस्कृति नपढाएर शाह र राणाको इतिहास मात्र पढाएकोले अबदेखि आफ्नो भाषा र संस्कृतिको इतिहास पढ्न र पढाउनेमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमलाई समापन गर्दै गायक प्रकाश गुरुङले असहाय बाल बच्चाको सहयोगार्थ यो कार्यक्रम आयोजना गरेको बताउँदै भिडियोबाट आएको १० हजार रकम एक कार्यक्रम गरी हस्तान्तरण गर्ने समेत बताए । कभर भिडियो गर्नुको उद्देश्यमा लकडाउनबाट फ्रस्टेशनतर्फ गइरहेको समाजमा रहेका युवा पुस्तालाई सक्रिय गराउन आयोजना गरेको बताए । उनले कार्यक्रमलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने, पुरस्कार प्रायोजन गरिदिने सबैलाई आभार प्रकट गर्दै ‘हे ठूली’को अफिसियल भिडियो अब छिट्टै सार्वजनिक गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु