• बिसु कुमार केसीको नेतृत्वमा बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०८१, मंगलवार
    IPPSON

    काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल Intellectual Property Protection Society of Nepal (IPPSON) को १२ औं वार्षिक साधारणसभाले बिसु कुमार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । २०८१ पौष १९ गते शुक्रबार भएको उक्त सभाले केसीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
    बिसु कुमार केसी अध्यक्ष रहेको यस समाजमा उपाध्यक्षमा अम्बर बहादुर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा रहेका छन् । त्यस्तै कार्यकारी सदस्यहरुमा निवर्तमान अध्यक्ष मधुसुदन पौडेल, डा.प्रतिभा पाण्डे, चूडामणि देवकोटा, लक्ष्मी सापकोटा, सज्जनवर सिंह थापा र मुकुन्द ढुंगाना रहेका छन् ।
    समाजको वार्षिक साधारणसभा पश्चात् नेपाल सरकार, उद्योग बिभाग एवं बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको सहकार्यमा ‘बौद्धिक सम्पत्ति सम्बन्धी’ विचार गोष्ठी सम्पन्न भएको थियो । सो गोष्ठीमा अर्थ बिज्ञ डा. पोषराज पाण्डेले बौद्धिक सम्पत्तिको आर्थिक विकासमा भुमिका विषयमा आफ्ना विचार राखेका थिए । बौद्धिक सम्पत्ति आर्थिक प्राविधिक साँस्कृतिक विकासको महत्वपूर्ण औजार भएता पनि नेपालमा यसको उपयुक्त र उचित व्यवस्थापन गर्न नसकेकोले हामी पछि परेको पाण्डेले बताए । बौद्धिक सम्पत्ति सम्बन्धी नीति आएको सात आठ वर्ष भैसकेको भए पनि हालसम्म कार्यान्वयन गर्न ऐन सम्म बन्न नसकेको तथ्य पाण्डेले उल्लेख गरे । कार्यक्रममा पूर्व मन्त्री श्री शंकरप्रसाद कोइराला, पूर्व सचिवहरू श्री भानु प्रसाद आचार्य, श्री भरत बहादुर थापा, श्री कृष्ण ज्ञवाली उद्योग बिभागका महानिर्देशक श्री राजेश्वर ज्ञवालीले बौद्धिक सम्पत्ति सम्बन्धि मन्तव्य राखेका थिए । साथै उद्योग वाणिज्य क्षेत्रका बिज्ञहरु र बौद्धिक सम्पत्ति बिज्ञहरुले समेत कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा बिभागका श्री सोमनाथ गौतमले ‘औद्योगिक सम्पत्ति प्रशासनको वर्तमान अवस्था र स्थिति’ सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नवनिर्वाचित अध्यक्ष बिसुकुमार के.सी.ले आगामी दिनमा सरकारी तथा निजि क्षेत्रका संघ संस्थाहरूसंग सहकार्य गरेर बौद्धिक सम्पत्तिको विकास र प्रवर्द्धन सम्बन्धी कार्यहरू संस्थाले गर्ने नीति लिने र नयाँ बौद्धिक सम्पत्ति सम्बन्धि ऐन पारित गराउन सहयोग र पहल गर्ने बताए ।
    बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल पेटेण्ट डिजाइन ट्रेडमार्क कपिराइट लगायतका बौद्धिक सम्पत्तिहरूको संरक्षण र प्रवर्द्धनका लागि गैह्रसरकारी क्षेत्रबाट सहयोग, सहकार्य र पहल गर्ने उद्देश्यले स्थापित सामजिक संस्था हो । बिसु कुमार केसीको नेतृत्वमा भएको बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु