• पशुपति र इतुलाई सुगम सङ्गीत यात्रा सम्मान

    म्यूजिक खवर
    प्रकाशित: २९ भाद्र २०७६, आईतवार

    पोखरा । अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त सञ्चालनमा मासिक रुपमा हुँदै आएको ‘सुगम सङ्गीत यात्रा’को ५० औं शृङ्ला भदौ २८ गते शनिबार सम्पन्न भएको छ । साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खलाको अवसरमा गायक पशुपति गुप्ता र गायिका इतु जोजिजूलाई ‘सुगम सङ्गीत सम्मान’ प्रदान गरिएको हो ।

    वि. सं. २०४७ मा सुधा सागर…बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेका पोखरेली गायक गुप्ताका हत्केलामा…, तिम्रै मायाको प्यासी…, परपर…., कहिले मिलन कहिले विछोड…लगायतका सुगम गीतहरु रेकर्ड भएका छन् । त्यसैगरी, वि. सं. २०५४ मा माया गर्छु भनेर… बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेकी पोखरेली गायिका इतुको चरणामृत, चयन, चिनो र चहक गरी ४ ओटा एल्बम बजारमा आइसकेका छन् । त्यो कहिले घाम कहिले छाया होस्…., जहाँ भ्रमर छ…, बिर्सन सजिलो भएन…लगायत चर्चित गीतका गायिका इतुका हालसम्म १ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । इतु पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराकी अध्यक्षसमेत हुन् ।

    पोखरा उद्योग वाणिज्य सङ्घमा हुने यात्राको स्वर्ण शृङ्खलामा रामभक्त जोजिजू, इतु जोजिजू, पशुपति गुप्ता, लक्ष्मी गिरी, ज्ञान थापा, रोम तामाङ, एम. डी. काफ्ले, जय चापागाईँ, देवीमाया गुरुङ, पिङ्गला भट्ट, सन्तोष बस्याल, सन्तोष पराजुली, सुनील बराल, रोहनजङ कार्की, उपेश थापा, प्रज्ज्वल भित्रीकोटी, योगेश गौतम, कमला अर्याललगायत पोखराका डेढ दर्जन नयाँ तथा पुराना कलाकारले प्रत्यक्ष वाद्यवादनसहित साङ्गीतिक प्रस्तुति दिएका थिए । वि. सं. २०७२ साउन २ गते पोखराको तालबाराहीबाट सुरु भएको यात्रा पोखरावरिपरिका विभिन्न ठाउँलगायत तनहुँ, पर्वत, काठमाडौँ, दार्जिलिङलगायतका ठाउँमा सम्पन्न भइसकेका यात्राका अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु