• जगतमर्दन थापाले ल्याए ८४ वर्षमा ‘म मक्किएको धुरी खाँबो’

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार
    Jagat Mardan Thapa

    काठमाडौं । अग्रज स्रष्टा गायक, गीतकार तथा संगीतकार जगतमर्दन थापाले ८४ वर्षको उमेरमा ‘म मक्किएको धुरी खाँबो’ लिएर आएका छन् । गत वर्षमात्र ‘म पतझड तिमी मधुमास’ लिएर बजारमा ल्याएका थिए । ‘माया लुकाई लुक्दैन’, ‘कोइलीले सम्झाइदियो’, ‘म पतझड तिमी मधुमास’ जस्ता गीतका अग्रज स्रष्टा संगीतकार तथा गायक जगतमर्दन थापाले वरिष्ठ प्रेमध्वज प्रधानको प्रमुख अतिथ्यतामा आयोजना गरिएको गायक थापाको ८४ औं जन्मोत्सवको अवसरमा गीतकार यादव खरेल, गीतकार प्रकाश सायमी, थापाका छोरा मोहित मर्दन लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए । फागुन ८ गते विहीबार राजधानीमा ८४ वर्ष पुगेको अवसर पारेर उनले एल्बमलाई सार्वजनिक गरेका हुन् । वाद्यवादनको प्रत्यक्ष प्रस्तुतिसँगै स्टेजमा गाउँदै उनले एल्बमका गीतहरु प्रस्तुत गरेका थिए ।


    कार्यक्रममा निकै जोसिला देखिएका गायक थापाले आधा दर्जन गीत प्रस्तुत गरे । भारतीय गायिका लिली सिंहको स्मरण गर्दै उनले विसं. २०१९ सालतिर नै भारतमा रेकर्ड भएका उनका गीत ‘भन लौ नढाँटी…’, ‘जुनेली रातमा कति बसूँ…’ जस्ता गीत पनि सुनाए । एल्बममा नै समावेश रत्नशमशेर थापाको शब्द तथा शक्ति वल्लभको संगीत रहेको ‘आली आली हरियाली…’, सहदेव ढुंगानाको शब्द र मनोहर सुनामको संगीत रहेको ‘दैव संजोग…’ लगायतका गीत प्रस्तुत गर्दा हलमा उपस्थित दर्शकहरुले तालीले उनलाई उर्जा थपिदिएका दिए । गायक जगतमर्दन थापालाई गायनमा गायिका सरिता शाही र जिना रसाइलीले गायनमा साथ दिएका थिए । गायक थापासँगै उनका नाति बालगायक आयुष्मान विष्टले पनि ‘तारा मात्र होइन…’ लगायतका गीत गाएका थिए । एल्बमको शीर्ष गीत र ‘फेरि साथ मेरै…’ को म्युजिक भिडियो पनि समारोहमा सार्वजनिक गरियो ।


    गायक प्रधान र सायमीले थापाको संगीतप्रतिको साधनाको खुलेरै प्रशंसा गरे । गायक थापालाई संगीतले झन् स्वस्थ बनाएको बताउँदै प्रधानले ‘जो पायो त्यसले थापाको उमेरमा गाउन नसक्ने’ बताए । गायक प्रधानले यो उमेरमा गायन निकै कठिन छ । जगतमर्दन थापाको प्रयास निकै प्रशंनीय रहेको बताए ।


    म मक्किएको धुरी खाँबो एल्बमभित्र वसन्तको फूल सरी, दैव संयोग, आली आली हरियाली, म मक्किएको धुरी खाँबो, फूल्मायाले हेर्थिन् मलाई, कहिले तिमी अघि कहिले म पछि, फेरी साथ मेरै जस्ता गीतहरु रहेका छन् । जसमा रत्नशमशेर थापा, सहदेव ढुंगाना, हर्क साउद, विवश वस्ती, वसन्त वित्यासी थापा, तुलाराम थापाको शब्द रहेको छ । शक्ति वल्लभ, मनोहर सुनाम, कल्याण सिंह, भिम विरागको संगीत रहेको छ । एल्बमलाई भकारी म्यूजिकले बजार व्यवस्थापन गरेको हो भने गीतकार निर्माता मोहित मर्दन थापा हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु