• जनवादी गायक जेबी टुहुरेलाई मष्तिष्कघात, अस्पतालमा उपचार हुँदै

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

    काठमाडौं । जनवादी गायक जेबी टुहुरेको अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ ।

    ७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

    मस्तिष्कघाटपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ।
    पारिवारिक स्रोतका अनुसार उनको मस्तिष्कको दाँया भागमा रगत जमेको बताएका छन् । उनलाई अहिले सीसीयुमा राखेर उपचार भइरहेको छ ।

    चिकित्सकका अनुसार टुहुरेको मस्तिष्क सुन्निदै गइरहेको छ। डाक्टरका अनुसार बढि उमेर भएको कारणले उनको अप्रेशन गर्न सम्भव नभएको र मस्तिष्कको अवस्थामा हालसम्म सुधार आएको छैन ।
    टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन्। उनले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । २०३४ सालमा आएको उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत सबैभन्दा चर्चित गीत हो । अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो ।

    उनको स्थायी घर सुनसरीको धरान हो । उनको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद्समेत बनेका थिए ।

    २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाउण्डेसन अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु