सुमन बैरागी/म्यूजिकखबर
स्कुले जीवनको चन्चलेपन, साथीसंगीसँगको रमाइलोपन, भित्रभित्रै उकुसमुकुस हुने कौतुहलताभित्र जागेको उत्सुकतामा बितेको बालापन पत्तै नपाई सकिँदो रैछ एसएलसी परीक्षासँगै । स्कुलमा हुने कति कार्यक्रम लक्ष्यभन्दा पनि रमाइलोमा बितेको हुन्थ्यो । अरुका अगाडि रमाइलो गर्दागर्दै पाइएको प्रशंसामा रमाइरहेको हुन्थ्यो । त्यही प्रशंसाभित्र नजानिँदो तरिकाले पाएको प्रोत्साहनले खुशी त भरिदिएको हुन्थ्यो तर पनि भोलिको लक्ष्य निर्धारण भने भएको कहिल्यै हुन्थेन । प्राय स्कुले जीवनमा सोचिएका सबै चिजहरु पाउने भए मान्छे जीवनमा सम्भ्रान्त बन्थ्यो होला हरेक विधामा । तर स्कुलका हरेक गतिविधि र बालमस्तिष्कमा हुर्किएको लक्ष्यले फरक बाटो पनि लिएर अघि बढ्छ धेरैको जीवनमा ।
जीवन कलाप्रेमी पनि तिनै लक्ष्यहीन यात्रामा थिए स्कुले जीवनमा । साथीसंगीसँग रमाइलो गर्दागर्दै उनी जीवन भट्टराईमै सीमित थिए तर कलाकारिताको यात्रामा ‘प्रकृतिप्रेमी’ बनेका थिए । स्कुलमा हुने धेरै कार्यक्रम, साथीसंगीसँगको जमघटमा उनी चराचुरुङ्गीको क्यारिकेचर गर्थे । धेरै चराहरुको भाषा बोल्थे उनी र अन्तरविद्यालयमा हुने कार्यक्रमहरुमा पुरस्कारहरु पनि हात पार्थे । तर उनी पुरस्कारका लागि क्यारिकेचर गरेका भने थिएनन्, बालापनको चन्चलतालाई प्रस्तुत गरिरहेका हुन्थे । उनीभित्र कला त थियो तर कुन विधा रोज्ने भन्ने थिएन । गायनमा त झनै उनको रुचि नै थिएन । स्कुलले जीवनलाई एसएलसीसँगै टुङ्याएपछि साथीसंगी को यात्रा फरकबाटो तर्फ उक्लिसकेको थियो । उनी पनि जीवनलाई सक्षम बनाउने विषय खोज्दै प्राविधिक शिक्षाका लागि काठमाडौंमा सर्टिफिकेट बोकेर भित्रिएका थिए ।
२०५६ सालमा काठमाडौं भित्रिएसँगै उनीभित्र प्राविधिक शिक्षा पढ्ने बाहेक अरु कुनै लक्ष्य थिएन । तत्कालिन समयमा नेपाल टेलिभिजनमा ‘इमेज च्यानल’ मार्फत् गीतसंगीतहरु बज्ने गर्थे । त्यो हेर्दै उनी नक्कल त गर्थे तर गायन बन्ने छाँटकाँट नै थिएन । उनको परिवारमा गीत सुन्न जान्ने सदस्यसम्म पनि थिएनन् । प्राविधिक शिक्षा मात्र उनको दिमागमा थियो । काठमाडौं प्रवेश सँगै उनका दाजू साहित्यकार कृष्ण अबिरलले गायक उदय सोताङसँग उनको भेट गराइदिए । जहाँ उनले नसोचेको भेट भयो । तत्कालिन समयमा उनका दाजू कृष्ण अबिरल गीति लेखनमा पनि उभिएका थिए । संयोग फरक बन्यो, उनले सोचेको प्राविधिक शिक्षा, भविष्यमा आत्मनिर्भरको बाटोमा उभिए गायक उदय सोताङ ।
जीवनलाई मनभित्र कता कता गायक बन्ने सपना भित्रिन नपाउँदै गायक उदय सोताङले ललितकलातिरको बाटो देखाइदिए । उनी त्यतै मोडिए, ललितकलामा गायन विधा लिएर पढ्ने सोचमा जीवनको यात्रा अघि बढ्ने र बने ‘ जीवन कलाप्रेमी’ । ललितकलामा शास्त्रीय संगीत विषयमा उनले अध्ययन गर्न थालेँ । स्कुल पढ्दाको प्रकृतिप्रेमी क्यारिकेचरभित्र उनको कलाकारिताको जग बसेको रहेछ भन्ने बल्ल ललितकलाको ढोकातर्फ मोडिएपछि उनले पत्ता लगाए ।
२०५७ देखिको यात्रामा उनले धेरै आरोह अवरोध पार गरिसकेका छन् । ललितकलामा संगीतका गुरु प्रभुराज ढकाल र संगीता राना प्रधानको शिक्षासँगै उनले गुरु प्रभुराज ढकालको घरमा समेत गएर शास्त्रीय संगीतको ज्ञान लिन थाले । शास्त्रीय संगीतमा भिजिसकेपछि आधुनिक संगीततर्फ उनी आउन सकेका थिएनन् । पछि गायक तथा संगीतकार उदय सोताङसँग आधुनिक संगीतको शिक्षा लिए र आधुनिक गायनमा पनि उनि उत्रिए । शास्त्रीय संगीतमै चौथो वर्षसम्म अध्ययन गरेपछि इलाहवादको परीक्षा पनि दिए, उत्तीर्ण पनि भए तर सर्टिफिकेट भन्दा शिक्षित हुनुमा नै उनी रमाएर इलाहवादको सर्टिफिकेट लिन नै गएनन् । अलि समाजमा नै फरक प्रकृतिको व्यक्तिका रुपमा उभिएका जीवन कलाप्रेमी समाज अनुसार भन्दा पनि परिवर्तनको सम्वाहक बनेर समाजलाई बदल्ने सोच बोक्ने गर्छन् । त्यसैले पनि उनी सर्टिफिकेट लिने सोच भन्दा पनि शास्त्रीय संगीतको गहिराइ खोजिरहे ।
संगीतको शिक्षा लिँदै गर्दा ५–६ वर्षको बीचमा एउटा गीत गायक उदय सोताङकै शब्द र संगीतमा रेकर्ड गराए । त्यो गीत आफैंले धेरैपटक सुने उनले तर मन मान्दै मानेन र बजारमा ल्याउन नै चाहेनन् । त्यसलाई अहिले रिरेकर्ड गर्ने सोचमा छन् । सोही बखत उनले आफ्ना दाजु कृष्ण अबिरलको शब्दमा डेनी निरौलाको संगीतमा गीत रेकर्ड गराए । जीवनसँगै झुमा निरौलाको पनि स्वर भरिएको थियो उक्त गीतमा पनि । हालसम्म डेढ दर्जन गीतमा स्वर दिएका उनले बजारमा भने आधा दर्जन गीतलाई मात्र सार्वजनिक गरेका छन् । बाँकी गीत सुन्दै जाँदा आफैंलाई चित्त नबुझेका कारण संगीत संयोजनको पाटो पनि बदलिँदै गएपछि पुनः रेकर्ड गराउने सोच बोकिरहेका छन् । उनी भन्छन्– ‘समय परिवर्तन भ य ा े, माहौल परिवर्तन भयो, भिडियोमा रमाउने समय आयो त्यसैले संगीत संयोजनलाई पनि बदलेर रिरेकर्ड गराउने सोचमा छु ।’
संगीतको कक्षाहरु लिँदै गर्दा उनले पाँचतारे होटल, क्यासिनो, गजल रेस्टुरेन्टहरुमा आफ्नो प्रस्तुति दिँदै हिंडे । त्यो क्रममा उनी ७ वर्षदेखि गायक तथा संगीतकार उदय सोताङ र गायिका मनिला सोताङद्वारा सञ्चालित मधुशाला गजल रेष्टुरेन्टमा गाउँदै आएका छन् ।
गजल साँझमा वा शास्त्रीय संगीतमा रमाउनेहरु किन बाहिरी रुपमा चर्चामा आउँदैनन् भन्ने प्रश्नमा गायक जीवन भन्छन्– ‘ हामीलाई नि चर्चामा आउन मन लाग्छ तर हामी पनि मेला महोत्सवमा व्यस्त भएजस्तै व्यस्त छौं । कमाइका हिसाबले पनि राम्रै कमाइ छ । आ– आफ्नै स्रोताहरु छन् ।’ हो मेला महोत्सवमा ठूलो भीड होला, धेरैले चिन्छन् तर हामी सिर्जनाले चिनाउनुपर्छ भनेर हिंडेका छौं । सिर्जनाले चिनाउन समय लाग्ला वा कति सिर्जना चिनेपनि गायक गायिका नचिनिएको अवस्था पनि छ, उनले भने – ‘पछिल्लो घरैपिच्छे मिडिया र कलाकार भए, प्रचारवाजी गर्नेहरु धेरै भए, म त्यो भन्दा बाहिर रमाउन चाहने भएर पनि होला नचिनिएको ।’
यतिबेला उनी नयाँ गीत तयारी गरिरहेका छन् । लोकशैलीलाई आत्मसात गर्दै जेनिष्काको शब्दमा आफ्नै संगीत र स्वरमा नयाँ गीत तयार गरिसकेका छन् । आफ्नो गायनको निरन्तरतामा उनको दैनिकी मधुशालामा नै बित्ने गर्छ भने मुलुकभित्र हुने केही मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा पनि प्रस्तुति दिँदै हिंड्छन् । समाजका हरेक कुरालाई फरक दृष्टिकोणबाट नियाल्ने गायक जीवन कलाप्रेमी कलाकै सागरमा आफूलाई समाहित गराउँदै अघि बढ्ने प्रण गर्छन् । आगामी दिनमा अझै राम्रा र समाज सुहाउँदा गीतसंगीतमा नै लाग्ने सोचमा रहेका उनी अझै पनि आफू संगीतको विधामा विद्यार्थी नै रहेको बताउँछन् । संगीत सिकेर कहिल्यै सकिँदैन उनले भने – जति सिक्दै गयो उति गहिराइमा डुबिँदै गइन्छ, सधैं विद्यार्थी जीवनमा नै संगीतको यात्रा रहेको हुन्छ ।