• व्यापारिक मानसिकताले संगीतको बजार बिग्रिएको हो

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७२, आईतवार

    झलक संगीतम्, गायक, संगीतकार


    झलक संगीतम् संगीतको एउटा विद्यार्थी हुन् । लोकगायकको परिचय बोकेर सांगीतिक क्षेत्रमा उदाएका उनले काठमाडौंमा घर, सोल्टिनीलाई बैना मारुकी लगायतका दर्जनौं हिट गीत दिए । संगीतको आरोह अवरोहमा उनको नाम लोकगायकै रुपमा स्थापित थियो । आधुनिक गीतसंगीतमा पनि उनले राम्रो प्रगति गरेका छन् । बाचा आधुनिक एल्बमबाट गायन र एल्बमको अवार्डसमेत चुमिसकेका उनले आफ्नो सुरुवात लोकगीत भए पनि आधुनिक गायनलाई पनि मजबुत बनाएका छन् । संगीतको संघर्षमा उनले कहिले गायक भए, कहिले शब्द संकलक त कहिले एरेन्जरका रुपमा पनि देखिए । यतिबेला ‘सम्पूर्ण सिर्जना एउटै छाता मुनी’ भन्ने नाराका साथ अघि बढिरहेका छन् । आलाप रेकर्डिङ स्टुडियो संचालन गरिरहेका झलक संगीतम् स्टुडियो मात्र होइन एरेन्जको सम्पूर्ण काम, अडियो भिडियो उत्पादन तथा प्रमोशन लगायतका कामहरुमा व्यस्त छन् । यिनै संगीतकार, गायक, एरेन्जर झलक संगीतम्सँग म्यूजिकखबरका लागि सुमन बैरागीको कुराकानीः

    पहिला गायक हुनुहुन्थ्यो अहिले व्यवसायी बन्दाको फरक अनुभव कस्तो छ ?
    यो त मानिसको दृष्टिकोणमा फरक पर्ने कुरा हो । पहिला नि संगीतमै थिएँ र अहिले पनि संगीतमै छु । तर पहिला पर्दा अगाडि देखिँदा धेरैले चिन्थे अहिले पर्दा पछाडि रहेर संगीतकै काम गरिरहेको छु । पहिला गायक हुँदा पैसा थिएन, खाना नखाएर कपडा किनेर लाउनु पर्ने अवस्था थियो । किनकी बाहिर हेर्दा गायक हो भन्ने कुरामा ध्यान दिनुपर्ने थियो तर भोकभोकै गायक भएर हिडिन्थ्यो । त्यसले गर्दा हाम्रो गायन पक्ष कमजोर भयो । तर अहिले व्यवसाय गरेको छु, त्यसमा सन्तुष्ट पनि छु । संगीतको व्यवसायमा मैले गीत रेकर्डिङ, नयाँ नयाँ सिर्जना, एरेन्जको काम, संगीतको काम गरिरहेको छु ।

    jhalak sangitam
    तपाई गायक हुँदाताका त बिक्री हुन्थ्यो त किन भोकभोकै हुनुभयो ?
    कलाकारको लगानीलाई कम्पनीले बेच्ने प्रचलन त्यतिबेलादेखिकै हो । सही व्यवस्थापन थिएन, हामी लगानी गरेर कम्पनीलाई दिन्थ्यौं उनीहरुले बेचेर खान्थे हामीलाई दिन कन्जुस्याईं गर्थे । संगीतको जगेर्ना गर्न भनेर उनीहरु आएका थिएनन् त्यसैले स्रष्टा मरिरहेको हुन्थ्यो । स्रष्टा रहे कम्पनी रहन्छ भन्ने नहुँदा हामीमा उपलब्धी शून्य भयो । त्यसपछि प्रविधिको विकास भयो तर प्रविधि अनुसार हामी चल्न सकेनौं । बिक्री हुन्छ तर बिक्री हुने माध्यम छैन । सिआरबीटी पिआरबीटी जस्तो प्रविधिको माध्यम आयो तर कम्पनीले चोरे, कमाए लुटिखाए, जसका कारण अहिले बन्द नै भयो । स्रष्टाले बुझेनन् र आफ्नो खुट्टामा आफैं बन्चरो हाने ।

    कसरी गर्ने त प्रविधिको सदुपयोग ?
    हामी प्रविधि अनुसार चल्नुपर्छ । प्रविधिले गर्दा धेरै विकास भएको छ । पहिला लाइभ गाउनुपथ्र्यो, वान टेकमा काम सक्नुपथ्र्यो तर अहिले सयौ टेक खाएर पनि गायक बनेका छन् । सुरतालसमेत प्रविधिले मिलाइदिएको छ । त्यस्तै यूट्यूबलाई सही सदुपयोग गरेर किनेर हेर्ने वातावरण बनाउनु प¥यो । विदेशीले कलाकार बचाए, कलाको सम्मान गरे र उनीहरुको जति कलाकार भए पनि चर्चामा नै रहे । तर हामी रहरमा आयौं र कम्पनी मोटाउने काम ग¥यौं । तर म पनि व्यवसायी भएको छु, व्यवसाय गर्छु तर नहुने काम गर्दिनँ ।

    पछिल्लो समय बिक्री छैन तर यूट्यूबमा अश्लिलता भएको गीत मात्र चल्ने गर्छ नि ?
    संगीतमा ग्ल्यामर हुन्छ तर भल्गर हुँदैन । छाडापन ल्याएर संगीत बिगार्ने काम भएको छ तर त्यसलाई हामीले रोक्नुपर्छ । राम्रा गीतसंगीत पनि चलेका उदाहरण छन् । हामीले राम्रोलाई प्रोत्साहन गर्नुपर्छ । तिमीले पराई ठानेपछि, मलाई अमेरिका यहीजस्ता धेरै गीतहरु चलेका छन् । हामीले एक दुईजना छाडापनका गीतहरुलाई रोक्न सक्नुपर्छ । नाङ्गोपनले पैसा कमाइएला तर इज्जत कमाउन सकिँदैन ।

    अब तपाईका योजना ?
    मान्छेको अनुहार हेरेर पहिचान गरिन्छ तर मैले गायन छाडेको छैन । म गायक हुँ, गाउनु पर्छ र गाउँछु । पछिल्लो समय बाँच्ने कामका लागि व्यवसायतर्फ उन्मुख भएको छु । अडियो भिडियोदेखि रेकर्डिङ, एरेन्जको काम सबै आलाप रकेर्डिङ भित्र नै हुन्छ । मेरो भविश्यको एउटा योजना भनेको लोकसंगीतमा एउटा स्कुल हुनुपर्छ । जुन स्कुलले धेरै वाद्यवादन, गायक गायिकालाई शिक्षा दिन सकोस् र लोकसंगीतको जगेर्ना होस् । उदाहरणको रुपमा अहिले सनई बनाउने बल बहादुर जैरु मात्र हुनुहुन्छ उहाँको पछाडि आउने को भन्ने चिन्ता लोकसंगीतमा खड्किएको छ । एउटा गायक बन्न २० जनाको लगानी हुन्छ तर गायक मात्र पर्दामा देखिँदा ती बाद्यवादक, संगीतकार, गीतकार, एरेन्जर सबै पर्दा पछाडि परेका छन् ।

    संगीतको विकास गर्नका के गर्नुपर्छ ?
    सिस्टमको विकास गर्नुपर्छ । हामीकहाँ संगीतकै विकासका लागि भनेर खोलिएका धेरै संघसंस्था छन् । तर सबै संस्थाका नाममा स्रष्टाको लगानी डुबाउने र लुट्नेहरु मात्र छन् । गीतकार संगीतकारको रोयल्टी कलेक्सन गर्ने र दिने भन्दै खोलिएको संगीत रोयल्टी संकलन समाज छ तर अहिलेसम्म केही गरेको छैन । विदेशीले दिएको लाखौं खर्च गर्ने काम मात्र भएको छ । रोयल्टीले कसलाई दिने भन्ने व्यवस्था गर्नुपर्छ । रोयल्टीजस्तो पावरफूल संस्थाले संगीत क्षेत्रको नेतृत्व गर्नुपर्ने हो तर चुनाव आउँदा भोट माग्न आउने र अरुबेला डलर खाने संस्थाको रुपमा परिचित बनेको छ । केही नगर्ने संस्थाको आवश्यकता छैन । संगीत क्षेत्रमा हामी कलाकार एकजुट बन्न नसक्ने हो भने हामी नेताको चुनाव जित्ने साधन मात्र बन्छौं । यहाँ कलाकार कसरी बाँच्लान् भन्ने कोही छैन कलालाई प्रयोग गरेर कमाउनेहरु धेरै छन् ।

    aalap recording
    यसो भनिरहँदा कलाकारले पनि त गर्नुपर्ने केही होला नि त ?
    कलाकारले गर्नुपर्ने धेरै छन् । कलाकार भएर मात्र हुन्न आफ्नो अधिकारका लागि एकजुट भएर अगाडि बढ्नुपर्छ । हामी कसैले केही गर्देला भन्दाभन्दै आजको स्थितिमा आइपुगेका हौं । यो हुन नदिन हामी अपडेट हुनुपर्छ । कलाकारको हैसियत अनुसार चल्न सक्नुप¥यो । रहरमा हामी कलाकार बन्ने होइन, शिक्षित कलाकार बन्नुप¥यो । प्रत्येक कलाकारले संगीतको शिक्षा लिनुपर्छ । कलाकारको आफ्नै वेभसाइट र यूट्यूब एकाउन्ट हुनुपर्छ र त्यसबाट व्यापार गर्न सक्नुपर्छ ।

    अहिले हाम्रो संगीतको अवस्था कस्तो छ ?
    हामी सुध्रिएका छौं । हिजो रिलको अवस्थाबाट आजको डिजिटल अवस्थामा आइपुगेका छौं । एक क्लिकको भरमा विश्वभरि देखिन्छौं अनि सुनिन्छौं । फिजिकल बजारमा कमाउन नसकेका हामी डिजिटल बजारमा पनि उस्तै भएका छौं । व्यापारिक मानसिकतामा लागेकाले संगीतको बजार बिग्रिएको हो । कलाकार र खेलाडीले नै हो देश चिनाउने भनेको । हामीले संगीत शिक्षालाई पनि अनिवार्य शिक्षाको रुपमा लगाउनु पर्छ । त्यसैले प्रविधिको विकाससँगै हामी पनि विकास हुनु जरुरी छ ।

    संगीतमा लागेर बाँच्न सकिँदैन भन्नेहरुलाई तपाईं के भन्नुहुन्छ ?
    कला क्षेत्रमा लागेर बाँच्नका लागि निरन्तरता चाहिन्छ, क्रियशन चाहिन्छ । रहरले बाँचिदैन यो क्षेत्रमा । कला, गला भएकाहरुमा पनि संगीत सिकेर यही क्षेत्रमा केही गर्छु भन्नेहरु मात्र बाँच्न सक्छन् । हामी यही क्षेत्रमा क्रियाशील रह्यौं, निरन्तर लाग्यौं र बल्ल बाँच्न सक्ने भएका छौं तर प्रतिफल छिटो खोज्नेहरुका लागि यहाँ बाँच्न सकिँदैन ।

    अन्त्यमा ?
    हामी बोलेर होइन गरेर देखाउनु पर्छ । हामी अरुको कुरा गरेर समय बर्बाद पार्नुभन्दा आफ्नो काम गरेर समयको सदुपयोग गर्नुपर्छ । समय अनुसार चल्न सक्नुपर्छ । मैले संचालन गरेको आलाप रेकर्डिङ स्टुडियोबाट संगीतका सम्पूर्ण कामहरु गरिरहेको छ । अडियो भिडियो, संगीत, एरेन्जदेखि प्रचार प्रसारसम्मका सबै काम एउटै छानामुनी हुन्छ । म एउटा संगीतको व्यवसायी पनि हुँ तर व्यवसाय गर्छु भन्दै अरुलाई मर्का पार्ने काम गर्दिनँ । म मेरो परिश्रमको मूल्य लिएर मात्र काम गर्छु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु