
सुमन पण्डित/म्यूजिकखबर
काजिश श्रेष्ठले भर्खरै सम्पन्न सातौं नेशनल क्यापिटल अवार्डमा सर्वोत्कृष्ट कोरियोग्राफरको विधाबाट अवार्ड चुम्न सफल भएका छन् । क्यापिटल इभेन्ट र शुभकामना मिडियाको सहकार्यमा सम्पन्न भएको उक्त अवार्डमा निर्देशक तथा कोरियोग्राफर काजिश श्रेष्ठले अवार्ड चुम्न सफल भएका हुन् । उनले वरिष्ठ गायक सिताराम पोखरेल, चर्चित गायक बुद्धिसागर बस्याल, कवि हेम प्रभास र संचारकर्मी सूर्य चन्दको हातबाट अवार्ड चुम्न सफल भएका हुन् । उनले ‘लाइदिउँ कि मोहनी’ बोलबाट अवार्ड चुमेका हुन् । माननीय सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो । उनीसँगै ४१ विधाका कलाकारहरुले अवार्ड चुमेका थिए । उनले यसभन्दा अघि विन्ध्यवासिनी म्यूजिक अवार्ड, ओएस नेपाल म्यूजिक अवार्ड जस्ता अवार्डहरु चुमिसकेका छन् । अवार्डको साथमा विभिन्न ठाउँमा उनले सम्मानहरु पनि पाइसकेका छन् । गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल भएकै कारण उनी अब्बल कोरियोग्राफरको नाममा स्थापित बनेका हुन् ।
कोरियोग्राफर काजिश श्रेष्ठको पृष्ठभूमि
काजिश श्रेष्ठ तराईको जिल्ला रौतहटका बासिन्दा हुन् । बच्चादेखिनै नृत्यमा मोह राख्ने उनी यतिबेला चल्तीका कोरियोग्राफर बन्न सफल भएका छन् । स्कुले जीवनमा कलाकारिताका लागि राम्रो वातावरण नपाए पनि एसएलसीपछि कलेज पढ्न चपुर गए त्यहाँ कर्मा लामालाई भेट्ने मौका पाए । लामाले चपुरमा कल्चर सेन्टर खोलेर नृत्य सिकाउने काम गर्थे । काजिसको मनमा हिरो बन्ने रहर गुम्सिएको थियो । यसका लागि नाच्न जान्नुपर्छ भन्ने बुझेका थिए उनले । डान्सको फरक फरक शैली कसरी सिक्ने होला भन्नेमा अभ्यस्त थिए । अरुले जस्तै गीतमा शब्दसँगै नृत्य प्रस्तुति गर्ने क्षमता सिक्न उनी आतुर थिए । जसले गर्दा कर्मा लामाको कल्चरल सेन्टरसम्म उनलाई पु¥यायो ।
कल्चरल सेन्टरमा जाँदा दुई वटा खोला पार गरेर जानुपथ्र्यो । बर्खायाममा लुगा जुत्ता भिजाउँदै जाने गर्थे । विहान ४ बजे उठेर नै नाचको प्य्राक्टिस गर्थे । मेहनतलाई आफ्नो साथी बनाउँदै गए । जब काठमाडौं आए त्यसपछि साधना कला केन्द्रमा केही महिना नाच सिके । त्यसपछि नृत्य सिकाउने प्रशिक्षकको रुपमा नेहा सिने आर्ट हुँदै केही डान्स सेन्टरमा पुगे । यसैक्रममा म्युजिक भिडियोमा नाच्ने मौका पाए । चर्चित कलाकार, निर्देशक एवं नृत्य प्रशिक्षक शिवम पोखरेलसँगको भेटले उनलाई म्युजिक भिडियोसम्म पु¥याएको दिन कहिल्यै भुल्नै सक्दैनन् । मनभरि कलाकार बन्ने रहरले उथलपुथल हुँदा उनी धेरैपटक अरुको म्यूजिक भिडियो सुटिङस्थलसम्म पुगेका थिए । ‘आफ्नो काम नै नहुँदा पनि सुटिङ र नाच हेर्नकै लागि पुग्ने गर्थे । कहिलेकाहीँ स–सानो भूमिका पाउँथें मख्ख पर्दै फर्कन्थें’ उनले पुराना दिन सम्झिए ।
पहिलो पटक नाचेर पाँच सय पारिश्रमिक पाएका काजिस अहिले भने चल्तिका कोरियोग्राफर बनिसकेका छन् । निरन्तर मेहनत, लगाव र धैर्य गर्न सक्ने बानीले उनलाई सफलताको श्रेणीमा उभ्याएको छ । यतिबेला उनी महंगा कोरियोग्राफरको रुपमा परिचित छन् । गीतअनुसार आफ्नो कलालाई प्रस्तुत गर्न उनी सधैं आतुर हुन्छन् ।
काजिसको अभिनय यात्रा
काजिश श्रेष्ठको पहिलो गीत थियो गायक विरही कार्कीको ‘मायालु हजार’ । जुन गीतमा उनी मोडलको भूमिका छन् । मोडल महेन्द्र गौतमले काजिशलाई नै मोडल बनाउनुपर्छ भनेर निर्देशक शिव बिकलाई प्रस्ताव गरेका थिए । यो भिडियो दश वर्ष पहिले सार्वजनिक भएको थियो । त्यसपछि त निर्देशक शिव विकले उनलाई ५–७ वटा भिडियो निरन्तर खेलाउन सफल भए ।
त्यसपछि ‘रातो अविर पहेलो केशरी’ । तीन वर्ष अगाडि एउटा गीत रिलिज भएको यो गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी गरेका थिए । गीतमा उनले करिश्मा ढकालसँग अभिनयसमेत गरेका छन् । यो गीतपछि काजिश श्रेष्ठकै कोरियोग्राफीमा ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीत रिलिज भयो । सय जना कोरस राखेर काजिशले भिडियोमा नायक दिलिप रायमाझी र मोडल एलिसा शर्मालाई अभिनय गराएका थिए । यी दुई गीत कोरियोग्राफर काजिशका लागि कोशेढुंगा सावित भयो ।
उनले कोरियोग्राफी गरेका गीतहरु ’नौलाई शुन्य नब्बे, ’जुनकिरी, ’रातो अबिर, सुपारिका दाना, चर्तिकला नक्कले, ओइ साइली जान्छेउ र ?, ओए मेरो नक्कले, बिच्च बिच्चमा ३, बेसार लगायतका सयौं लोकगीतका भिडियोमा उनले गरेको कोरियोग्राफी चर्चित छ । यस्तै उनले आधुनिक गीतमा पनि काम गरेका छन् । प्रताप दाशको ’जुनकिरी, कर्ली कपाल, के दियौ तिमीले, सैया, तिमी सुखी हुनु, शिरशिर हावा, आइ लभ यु लगायतका गीतको भिडियोमा पनि काम गरेका छन् ।
उनले कोरियोग्राफी गरेका गीतमा दिलिप रायमाझी, पुस्प खड्का, दुर्गेश थापा, पुस्कल शर्मा, रामजी खाड, आचल शर्मा, वर्षा शिवाकोटी, सुष्टि श्रेष्ठ, अनु शाह, सागर लम्साल लगायत दर्जनौं चर्चित कलाकारले अभिनय गरिसकेका छन् ।
हरेश नखाने काजिश
एकातिर कलाकार बन्ने रहर मनभरि छ अर्कोतिर जिन्दगीको उतारचढाव । आर्थिक अवस्था जुटाउँदै कलाकार बन्ने दौडमा होमिँदै गर्दा उनीभित्र पनि धेरै आरोहअवरोह देखिए । संघर्षको पहाड अगाडि उभिएको थियो, चुनौतिको सामना गर्नुपर्ने अवस्था ज्यूँका त्यूँ थियो । कहिले रेष्टुरेन्ट संचालन गर्न पुगे उनी । कहिले रहरको मैदानमा बिचलन आएपछि रोजगारीका लागि मलेसियातिर लागे । तर समय भन्दा अगाडि र भाग्यमा भन्दा धेरै केही नमिल्दो रहेछ । उनी पुनः कलाकारितामा नै फर्किए । आफूले गरेको मेहनतको फल टिप्ने बेला आइपरेको बिचलनलाई चिर्दै कलाकारिताको यात्रामा होमिए । हिजोआज म्यूजिक भिडियो छायांकनको सेड्यूल बनाउनमा व्यस्त छन् । काजिशको जीवन फेरिएको छ । उनीसँग, नेपाली लोकदोहोरीको म्यूजिक भिडियोले पनि उनको सोच अनुसार नयाँ पालुवा फेरिरहेको छ ।
लकडाउनपछि मात्र काजिशले २०० भन्दा बढी म्यूजिक भिडियोको निर्देशन गरेका छन् । नायक राजेश हमाल, पल शाह, दिलिप रायमाझीदेखि नायिका पूजा शर्मा, वर्षा सिवाकोटीसम्मलाई उनले नचाएका छन् । मोडल दुर्गेश थापादेखि सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडासम्मले उनको निर्देशनमा कम्मर मर्काएका छन् । पछिल्लो समय उनले कोरियोग्राफी गरेका ‘बाजा बजाउँदै’, ‘नैना रेशम’, ‘ओए कान्छी’, ‘हिरो हिरोइन’, ‘डाँफे चरी’, ‘पछ्यौरी लिस्यो’ ‘चिनो मायालाई जाली रुमाल लगायतले दर्शकको मन जितेका छन् ।
हालसम्म ८ सय भन्दा बढी गीतको कोरियोग्राफी तथा १ सय ५० भन्दा बढी भिडियोमा अभिनय गरेको अनुभव उनीसँग छ । काजिश आफूलाई मोडलभन्दा पनि कोरियोग्राफरकै रुपमा चिनाउन पाउँदा खुशी हुन्छन् ।
पछिल्लो समय वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको नाच्देउ मैच्याङ तिमी डम्फूको तालैमा गीतमा कोरियोग्राफी गर्ने मौका पाएका छन् । ४७ वर्षपछि रिमेक भर्सनमा गरिन लागिएको यो गीत उनको लागि एउटा महत्वपूर्ण बनेको छ । त्यस्तै पल शाहसँग पछिल्लो समयमा ३ वटा भिडियो सहकार्य गरेका छन् । करोड क्लबमा पुगेका धेरै भिडियोहरु उनले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । पल शाह, पूजा शर्मासँगका केही प्रोजेक्ट आशालाग्दा छन् । पछिल्लो समय चर्चामा रहेका गीतहरु बनमा खयर, बनको जडिबुटी, अन्त नभने मुसुक्क हाँसिदेउ माया छ भने, डाँडैको टुनी, पाइएन ओखती लगायतका दर्जनौं गीतहरु रहेका छन् । त्यस्तै करोड क्लबमा रहेका गीतहरु हावा चिसो चिसो, सुर्ती माड्दा माड्दै, धनगढीको बसमा, बाजा बजाउँदै, कल्ले बोलायो लगायतका छन् भने केही गीतहरु करोड क्बलको नजिकमा रहेका छन् । एकपछि अर्को गीतको भिडियोलाई नविनतम् प्रयोग गरेर चर्चाको शिखरमा पु¥याउन सफल रहेका छन् काजिस । उनीसँगको सहकार्यमा रहेका सिर्जनाहरुले भिडियोको बजारमा पनि नयाँ आयाम ल्याउन सफल भएको हुन्छ र सफलता पनि चुमेको हुन्छ ।
फिल्ममा होस् या आधुनिक गीतमा अहिले लोक प्याटनका गीत हावी भएका छन् । उनाई पनि लोक गीतले नै देशको पहिचान दिन्छ भन्ने लाग्छ । लोकसंगीत बिना गीतसंगीत अधुरो भएको लाग्छ उनलाई । काजिश हिजोआजका म्युजिक भिडियो चलचित्रको गीतको भिडियो स्तरको बन्ने गरेको दाबी गर्छन् । म्युजिक भिडियो स्तरीय बन्न थालेसँगै चलचित्रका कलाकारहरुको पनि आकर्षण बढेको छ । दर्शक तथा सर्जकहरुले आफ्नो कामलाई मन पराएसँगै चुनौती भने थपिएको काजिश बताउँछन् । कोरियोग्राफी एवं निर्देशनबाट उनले मुलुकमा भएका प्रतिष्ठित अवार्डहरुसमेत हात पारिसकेका छन् । दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो कोरियोग्राफर एवं निर्देशकको अवार्ड हात पारिसकेका उनले १३ औं विन्दवासिनी म्यूजिक अवार्ड, नेपाल म्यूजिक अवार्ड, एपिक नेपाल म्यूजिक अवार्ड लगायतका दर्जनौं म्यूजिक अवार्ड तथा सम्मानहरु हात पारिसकेका छन् । त्यसो त पछिल्लो समयका व्यस्त एवं चुजी निर्देशक एवं कोरियोग्राफरका रुपमा समेत उनी परिचित छन् ।
नेपाली म्यूजिक भिडियो दुनियाँमा एउटा प्रतिभा काजिशको नाममा फक्रिदैछ । सायद, काजिश जस्तै नेपाली म्यूजिक भिडियो क्षेत्रले आफूलाई फराकिलो बनाउन अझ धेरै काम गर्न बाँकी छ । यसमा काजिशले एउटा इट्टा थप्ने काम गरेका छन् । उनले गरेको काम म्यूजिक भिडियो निर्माणका लागि नयाँ आयाम बन्नेछ ।