मौलिक गीतकी आधुनिक ब्राण्ड ‘कला’

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

काठमाडौं । हिन्दू महिलाको महान चाड तीज मौलिक र सांस्कृतिक पर्व पनि हो । दर र व्रतको कारणमात्र लोकप्रिय छैन तीज, गीत–संगीतले पनि तीजलाई अझ विशेष र चर्चित बनाएको छ । तीजलाई केन्द्रीत गरेर धेरै गीतहरू बजारमा आउने गरेका छन् । तर पछिल्ला वर्षहरुमा भ्युअर्स बढाउन तीज गीतका नाममा तीजको महत्व, मौलिकता र मर्मकै हुर्मत लिइएको छ । तीज गीतका दृश्याङ्कन पनि अत्यन्त भद्दा, नग्नता र चरम विकृतिजन्य हुँदै गए । यस्तै गीतले चर्चा र राम्रो भ्यूज पाएपछि भ्यूजका लागि ‘इन्टेन्सनल्ली’ नै यस्तै–यस्तै गीत बन्ने क्रम बढ्न थाल्यो । आधुनिकताका नाममा तीज गीतमा धेरै बिकृती भित्रिएकाले राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले यो वर्ष त्यस्ता गीत सार्वजनिक नगर्न आव्हान र सचेत समेत गरायो ।

तर गायिका कला लम्साल त्यो सूचिमा पर्दिनन् । गीतमा मौलिकता हुनु उनको विशेषता नै हो, ब्राण्ड हो । अझ तीज गीतमा त झन् यसको मौलिकतासँगसँगै र सांस्कृतीक पहिचानको मर्मलाई समेत ख्याल गरेकी हुन्छिन् । यद्यपी यस्ता गीतहरुमा ‘भ्यूज’ आउँदैन भन्ने मान्यता छ । उनी भ्यूजको प्रवाह पनि गर्दिनन् । तर दर्शक श्रोताले उनका यहि शैलीलाई नै रुचाउँदै आएका छन् । उनका सबै गीतमा राम्रो ‘भ्यूज’ र ‘कमेन्ट’ आउने गरेका छन् ।

हरेक वर्षको तीजमा मौलिकता बोकेरै पनि तीजलाई गीतबाट रन्काएकै छिन् । धेरैको मनमा डेरा जमाएकै छिन् । मौलिकताको पर्याय नै बनेकी कलाले यो वर्ष पनि मौलिक गीत ‘साईंली सलल’ सार्वजनिक गरेकी छिन् । कलाको यो ‘पातली’ शृंखलाको चौथो गीत हो । यसअघिका पातली शृंखलाका गीतहरू हिट भएपछि उनले यही शृंखलालाई निरन्तता दिएकी हुन् ।

यसअघि पातली शृंखलाकै ‘चमेली फूल मौरीका हुल’, ‘ऐना हेरी हेरी’, ‘झिल्के भेना’ जस्ता तीनवटा शृंखला उनले ल्याएकी थिइन् । यतिबेला चौथो शृंखला ‘साईंली सलल’ (पातली–४) टिकटकदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

विगतका शृंखलाजस्तै पातली ३ गीतलाई पनि शिव हमालले लेखेका हुन् । संगीत पनि शिव आफैंले लेखेका हुन् । आशिष अबिरलको संगीत संयोजन रहेको गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतलाई रागा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

उक्त गीतको भिडियोमा गीतमा चर्चित गायिका एवं मोडल प्रिती आलेसँगै स्वयं गायिका कलाको आकर्षक नृत्य समेटिएको छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा चर्चित गायिका एवं मोडल प्रिती आलेसँगै स्वयं गायिका कलाको आकर्षक नृत्य समेटिएको छ । भिडियोमा बिनोद श्रेष्ठलाई पनि देख्न सकिन्छ । नृत्य निर्देशन समेत मौसम हिमालीनै गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

कला लम्सालकै अफिसियल च्यानलमा अपलोड गरिएको गीतले अहिलेसम्म १ लाख ८५ हजार भन्दा बढी भ्युज पाइसकेको छ ।

पछिल्लो पुस्तामा रुचाइएकी गायिकाको सूचीमा पर्ने कलाले पहिलो तीजभाकाको रूपमा ‘भनिदेउना बाइ’, हो । एक दशकअघि मन्त्रमुग्ध स्वरमा कलाको प्रतिभा प्रस्फूटन भएको यो गीतलाई दर्शकले रुचाए । अनि, सुरु गरिन् मौलिक तीज गीतमा पहिचानको संघर्ष यात्रा । उनले त्यसपछि ‘छड्के तिलहरी’ शृंखलाको भाग १ देखि भाग ३ सम्म तीनवटा गीत बजारमा ल्याइन् । यी तीनवटै गीत हिट भएपछि उनले २०७६ मा पातली शृंखलाको पहिलो गीत चमेली फूल मौरीका हुल (पातली–१) ल्याएकी हुन् । उनको यो धेरै नै रुचाइएको गीत हो ।

कलाले गायन यात्राको सुरु २०६५ सालबाट आफ्नो स्वरमा गीत बजारमा ल्याएकी हुन् । उनले आफ्नो स्वरमा रेकर्ड गरेको पहिलो मर्न पाए खुसी हुन्थें म गाएकी थिइन् । यो गीतमा उनलाई युगल स्वरमा गायक खुमन अधिकारीले साथ दिएका थिए । उनको यो गीतलाई दर्शकले रुचाएपछि कलाले तेजस रेग्मीसँग रोइला भाकामा नाकै हेर्दा ‘थाहा होला’ गाइन् ।

गायिका कलाको बद्री पंगेनी र चन्द्र शर्मासँग संयुक्त स्वरमा आएको गीत धानको चामल ‘धानैको चिउरा’ पनि निकै सफल भयो । यसपछि उनले पुस्कल शर्मासँगको सहकार्यमा ‘मुसुमुसु हाँस’ गीत ल्याइन् । गायिका कलाको हालसम्म ‘लाहुेर आएन’, ‘फुलको डाली’ , ‘यही दोहोरी साँझमा’, ‘ठिक्क पार्छौं मुखल‘ सहित तीन दर्जन बढी गीतहरू बजारमा आइसकेकन छन् ।

अन्ततः यतिबेला मौलिकताको पहिचान बनाइसकेकी छिन् । धेरै देश, विदेशका धेरै स्टेजमा प्रस्तुती दिएर दर्शक झुलाइसकेकी छिन् ।
–सबिता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु