तीजको मौलिकता र संस्कृति झल्किने गीत ‘पातली–२’

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७७, बिहीबार

काठमाडौंं । पछिल्लो पुस्ताका गायिकाहरुमा कला लम्साल भन्ने बितिकै मौलिक गीतमा जोड दिने अनुशासित गायिका भनेर बुझ्ने गरिन्छ । उनले तीजको मौलिकता र मर्मलाई ध्यान राख्दै गीत सार्वजनिक गर्ने गरेकी छिन् । उनकोे गीत ‘पातली’ ले गत वर्ष निकै सफलता पायो । यसै गीतको सफलता पछि उनले यो वर्ष पनि ‘पातली’को सिक्वेल ‘पातली २’ लिएर आएकी छिन् ।

‘ऐना हेरि हेरि’ बोलको उक्त गीतमा लोकप्रिय सर्जक शिव हमालको शब्द तथा संगीत रहेको छ । गीतलाई कृष्ण बिक ‘भाञ्जा’ को एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन् । त्यस्तै कोरस गायनमा भने रुवी सिन्जाली र प्रेमा राना मगरको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियो समेत निकै आकर्षक बनेको छ । सुन्दर पर्यटकीय स्थल पोखराको लेकसाइडमा छायांकन गरिएको गीतको भिडियोमा गायिका कला र मोडल दिपासा बिसीको नृत्य रहेको छ । उनीहरुलाई नृत्यमा थुप्रै कोरसले साथ दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा नृत्य निर्देशन भने होम गुरुङले गरेका हुन् । सुरेश श्रेष्ठको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
गायिका कलाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकोे यस गीतलाई अपलोड भएको २४ घण्टा नपुग्दै झण्डै ५० हजार दर्शकले हेरिसकेका छन् । गीतले भिवर्स मात्र नभई प्रतिक्रिया पनि सकारात्मक पाउन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु