• ६ लाख पुरस्कारको ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’ हुने

    म्यूजिक खबर
    प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

    काठमाडौं । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ यही साउन १२ गतेदेखि पोखरामा हुने भएको छ । शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा तीन दिने दोहोरी गीत प्रतियोगिता हुन लागेको हो ।

    आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौंस्थित ‘ईन्द्रणी’ कार्यक्रमको स्टुडियोमा बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर गुरुङ ‘ह्योल्मो’ले स्वर्गीय शेरचनको पोखरामा प्रतिमा स्थापना गर्ने मूल उद्धेश्यले प्रतियोगिता गर्न लागिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिए । ​

    प्रतियोगितामा प्रथम हुने समूहले ६ लाख नगद पुरस्कार पाउने कल्याण शेरचन स्मृति प्रतिष्ठानले जनाएको छ । द्धितिय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गायक–गायिकालाई ५०र५० हजार रुपैयाँ र अनुशासित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो ।

    प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडि बढाइएको र प्रतियोगितामा ४० देखि ५० समूहको सहभागिता रहने आँकलन गरिएको उनले बताए । प्रतियोगितामा एक महिला र एक पुरुष गरी दुई–दुई जनाको समूह रहने बताउँदै समूह दर्ताका लागि २ हजार रुपैयाँ तोकिएको दाहालले जानकारी गराए ।

    प्रतियोगितामा प्रवेश शुल्क भने लाग्ने छैन् । प्रतियोगितामा ५५ लाख आम्दानी र ३९ लाख रुपैयाँ खर्च हुने अपेक्षा आयोजकको छ । बचत रकमबाट स्वर्गीय शेरचनको प्रतिमा स्थापना गरिने कल्याण शेरचन स्मृति प्रतिष्ठानको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु