सांगीतिक बगैंचामा ढकमक्क फक्रिएकी ‘कोपिला’ र ‘क्यान्सर’को कथा

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०८०, बुधबार

सबिता पोखरेल, काठमाडौं । लोकदोहोरी क्षेत्रमा ढकमक्क फक्रिएकी गायिका हुनुहुन्छ कोपिला गौतम । ६० को दशकमा देशभित्र हुने विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति दिंदै, गीत र एल्बम निकालेर गीतसंगीतको क्षेत्रमा ठूलो योगदान पू¥याउँदै आउनु भएको छ । थोरै गीत भए पनि गुणात्मकतामा ध्यान दिने उहाँको बानी छ । उहाँका चर्चित गीतहरुमा गायक पशुपति शर्मासँग गाएको गीत ‘पोखरा फेवाताल’ उहाँको चर्चित गीत मध्ये एक हो । यो गीत आज पनि उत्तिकै बजिरहने गर्छ । त्यस्तै गायक चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत ‘चौतारी ताकेर’ ‘आमाले पकाएको दर’, कस्तो आयो जमाना पनि उहाँका करिअरका महत्वपूर्ण गीतहरु हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापनासँगै पूर्वाञ्चल उपाध्यक्ष जस्तो पदमा जिम्मेवारी सम्हालिसक्नु भएको छ । करिब डेढ दशक उहाँले पत्रकारितामा पनि आफूलाई संलग्न गराउनु भयो ।
पूर्वेली भाकाहरुदेखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी कोपिला गौतमले करिब दर्जनभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ ।  गायनको यात्रामा प्रत्यक्ष दोहोरी गायनतर्फ हिंडेकी कोपिला गौतमले ६० को दशकमा नै पूर्वेली लोक गीत रेकर्ड गराउनु भएको थियो ।
आफ्ना बुबा देवीप्रसाद गौतमसँग स्वर भरेको ‘जाउँ है चेली’ बोलको पूर्वेली गीतले उहाँलाई गायनमा पाइला टेकाएको हो । गाउँको एसएलसीसम्मको अध्ययनपछि काठमाडौं प्रवेश गरेकी गायिका गौतमले गीतसंगीतमा राम्रै सफलता हात पार्नु भयो ।

क्यान्सरको लक्षण
कोपिला गौतम मेरी दिदी (जेठानी) हुनुहुन्छ । काठमाडौं बसाईमा हाम्रा सबैभन्दा नजिकका अभिभावक दाई रमेश तुफान पण्डित (जेठाजु) र दिदी कोपिला गौतम । पत्रकारिता, राजनीतिसँगै, समाजसेवा र सामाजिक अभियन्ताका रुपमा आफूलाई समर्पण गराउँदै आउनु भएको छ रमेश दाइले । उहाँलाई धेरैले अभिभावक मानेको मैंले पाएकी छु । दाइका सबै कर्ममा कोपिला दिदीले सत्प्रतिशत साथ र उतिकै योगदान दिनु भएको छ । २०७८ सालको साउन महिनाको दोस्रो हप्ता हुनपर्छ उहाँहरुलाई यतिकै भेट्न गएँ । जाँदा दाई–दिदी दुबैजना हुनुहुन्न रहेछ । कोपिला दिदीलाई फोन गरें । दिदीले आइहालें है, नजाउ भन्नु भयो । भनेजस्तै उहाँहरु १० मिनेट नबित्दै आइपुग्नुभयो । पारिवारीक गफ गरियो । दिदी सधैं चटक्क देखिने अनि मिलेको जिउडाल, त्यो दिन भने दिदीको पेट अलि ठुलो देखें । मोटाउनु भएछ, भनें । दिदीले जचाउन गएको पनि भन्नुभयो, सँगै लकडाउनमा बसीबसी खाएर होला भन्नुभयो । यो विषयमा धेरै गफ गरिएन । भोग्ने समस्या त दिदीसँगै थिए । पेट बढ्नु सामान्य लाग्नु साझा सोच हो मैंले पनि त्यस्तै सोचें । सायद यो नै क्यान्सरको लक्षण रहेछ । मेडिसिटी हस्पिटलमा चेकअप गर्दा ओभरियनमा सिस्ट (क्यान्सर) पत्ता लाग्यो ।

क्यान्सर हुने प्रमुख कारणप्रति अविश्वास
सामान्यरूपमा चिकित्सलाई देखाउन जाँदाजाँदै जब दिदीलाई क्यान्सर भएको भन्ने कन्फर्म भयो, एउटा भनाइमा मेरो बिमती रह्यो । खानपिन र जिवनशैली क्यान्सरका प्रमुख कारण भनिन्छ । अब म भने यो कारणलाई व्यक्तिगत रुपमा मान्दिनँ । किनभने कोपिला दिदी अत्यन्तै ‘हेल्थ कन्सियस’ हुनुहुन्थ्यो । खानपिनमा असाध्यै ध्यान दिनु हुन्थ्यो । जडिबुटिका चिया, ग्रिन टि मात्रै खानु हुन्थ्यो । चिल्लो, चाप्लो, तारेका र पोलेका खानेकुराहरु उहाँको मेनुमा कहिलै परेनन् । लिनु परे सँगै बसेकासँग मिल्नलाई बाध्यताले मात्रै लिनुहुन्थ्यो । दिदीको लागि चिनी त ब्याण्ड नै थियो । दुध हालेको चिया त मैंले पिउँदा मात्रै पिउनु हुन्थ्यो जस्तो लाग्छ । जिवनशैली उस्तै अनुशासित थियो । सधैं सचेत रहने दिदीलाई क्यान्सर भयो भन्दा पत्याउँदै पत्याइनँ । मैंले नपत्याएर के गर्नु, क्यान्सर लागेको सत्य थियो ।

क्यान्सरको लडाईंमा पनि ‘ऐया’ र ‘आत्था’ भनेको सुनिएन
साउन २६ गते बिहान ५ः ५० मा अचानक ‘सबिता मेरो त अर्जेन्ट अप्रेसन हुने भो । हस्पिटल छु है हरिसिद्धिमा । आज अप्रेसन छ ।’ भन्ने कोपिला दिदीको म्यासेज आयो । यो म्यासेज देखेपछि भने छाँगाबाट खसेको महसुस भयो । फोर्थ स्टेजमा पुगिसकेको र एग्रसिभ क्यान्सर भएकाले डाक्टरको सल्लाह बमोजिम तुरुन्त दिदी हस्पिटल जानु भएछ । हतार–हतार श्रीमान र म हस्पिटल गयौं । रमेश दाइ र दिदीका भाइहरु हुनुहुँदो रहेछ । अस्पतालको गाइनो विभागको प्रमुख समेत रहेकी डा अन्जु श्रेष्ठको निगरानीमा दिदीको उपचार सुरु भएको थियो । सबैले प्रार्थना गर्यौं । मंगलबारको दिन थियो, मेरो ब्रत । सात घण्टा लामो अप्रेसन सफल भएको जानकारी दिंदै एकजनालाई बोलाउनु भयो । म गएँ । थर्ड प्लस स्टेजको क्यान्सर भएको डाक्टरबाट सुने । दिदीलाई भेटें कुरा गरें, दिदीले दोहोरो नै कुरा गर्नु भयो । एक किसीमको ढुक्क महशुष भयो । त्यसपश्चातका दिनहरूमा दिदीले आफ्नो जीवनलाई सरल तरिकाले बिताउनुभयो । उहाँले कहिल्यै ‘ऐया’ र आत्था भनेको पनि सुनिएन । ११ दिन बिताउनु भयो दिदीले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा । डा. सुदिप श्रेष्ठ, डा अन्जु श्रेष्ठ, डा. कपील सिखर अमात्य र डा. प्रफुल्ल श्रेष्ठ दिदीका लागि मात्रै होइन हामी सबैका लागि भगवान हुनुहुन्छ ।

क्यान्सर बिजेता भएपछि झनै सशक्त
नियमित फलोअपमा जानु भयो । आफ्नो रोगका बारेमा गुनासाहरू पोखिराखेको मलाई थाहा छैन । पेट सिटी स्क्यान गर्दाखेरि उहाँको शरीरमा क्यान्सरको सेलहरू छैन भन्ने रिपोर्टले देखायो । सबै ढुक्क भयौं, सबैमा खुशीयाली छायो । सबै कुरा सामान्य हुँदै गयो ।
क्यान्सरपछि दिदीले आफ्ना जिम्मेवारी पुरा गर्दै आउनुभयो । गायन क्षेत्रमा जुर्मुराउनु भयो । यो समयमा उहाँले अवार्डहरु नै आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । त्यो भन्दा ठुलो कुरा अर्को जिम्मेवारी लिनुभयो –क्यान्सरसम्बन्धी जनचेतनाको अभियानमा जोडिनु भयो । क्यान्सरबारे सचेतना फैलाउँदै हिँड्नुभयो । यो समयमा आफू स्वयं क्यान्सरको पीडित भन्ने नै बिर्सनुहुन्थ्यो ।

फेरि क्यान्ससँग भिडन्त
चौथो स्टेजको क्यान्सरसँग कुस्ती खेली पछार्न सक्षम हुनुभयो । तर यतिबेला त्यो पछारिएको क्यान्सर फेरि उठ्ने प्रयास गर्दै छ । नेपालको हरिसिद्धि क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा फलोअपमा रहुन भएको उहाँ यसपटक भने डाक्टरहरुको सल्लाहले नै (गत फागुन) चेकजाँजका लागि राजिब गान्धी क्यान्सर हस्पिटल पुग्नु भयो । जेनेटिक परीक्षण गराउँदा बायोप्सी रिपोर्टमा क्यान्सर पोजेटिभ देखियो । पहिलो क्यान्सरले हमाला गरेको झण्डै ३ वर्षपछि देखा परेको हो । जाँच गर्ने क्रममा लेफ्ट ब्रेस्टमा क्यान्सर देखिएको हो । अर्को ब्रेस्टमा पनि पछि क्यान्सर देखिने सम्भावना रहेको डाक्टरहरुले बताएका छन् । त्यसैले चाँडै नै दुबै ‘ब्रेस्ट रिमुभ’ गरिंदैछ । त्यति ठुलो क्यान्सरलाई त जित्नु भएको तपाईंले यो सुषुप्त रुपमा रहेको क्यान्सरलाई नजित्ने त कुरै भएन । हामी सबैलाई विश्वास छ मुस्कुराएरै जित्नु हुनेछ । ‘मानसिक र शारीरिक रुपमा थकाएको क्यान्सरलाई यो पटकपनि आत्मबलसहितको उपचारले जित्नुहुनेछ ।

आर्थिक सहयोगका लागि परिवारमा लामो छलफल
कोपिला दिदीले क्यान्सरलाई पराजित त गर्नुहुन्छ नै यसमा शंकै छैन । यतिबेला पहिलो आवश्यकता आर्थिक पाटोको हो । स्वभिमानी स्वभावकी हुनुन्छ कोपिला दिदी, रमेश दाई त झन् दिनु मात्रै परोस् भन्ने स्वभाव । यो स्वभाव दाजुभाई (मेरो श्रीमान सुमन बैरागी र रमेश दाई)को ठ्याक्कै मिल्छ । लगेको पैसा फिर्ता माग्न पनि डराउने । यता क्यान्सरको उपचार भने महंगो । पहिलो पटक तीन वर्षसम्म उपचार गराउँदा कहिलै आर्थिक समस्याको कृुरा निक्लेन । आफूसँग भएकै बजेटले उपचार सफल भयो । सकेसम्म यो पटक पनि नभन्ने मनाशय थियो, दिदी–दाईको । तर, अब भने स्वभिमानले अस्पतालको ‘बिल पे’ नहुने महशुष भयो । ‘जिवन सबैभन्दा ठुलो कुरा हो, कलाकारको अवस्था सबैलाई थाहा छ के को लाज ? आर्थिक अपिल गरौं’ भनेर दिदीलाई मैंले पनि भने । इण्डियाबाट बजेट जुटाउनका लागि दिदी र दाइ आएपछि धेरै दिन सल्लाह भयो, अब के गर्ने कसरी जुटाउने भन्ने विषयमा । ऋण लगेको पैसा मात्रै उठे पनि सजिलै उपचार हुने थियो भन्ने दाई, दिदीको कुरो । पैसा लानेहरुबाट कुनै रेस्पोन्स नभएपछि आर्थिक सहयोगको अपिलका निचोडमा पुगियो । दाई दिदीलाई नै यसमा सहज बन्न गाह्रो भएको थियो ।

अन्ततः आर्थिक सहयोगको अपिल
आर्थिक सहयोग अपिलको अर्को उपाय डुबेको पैसा उठ्नुपथ्र्यो । नतिर्ने छाँटकाट देखिएपछि आर्थिक अपिलको बिकल्प रहेन र अन्ततः गरियो आर्थिक सहयोगको अपिल । कोपिला दिदीले सामाकि सञ्जालबाट आफन्त, इष्टमित्र र कोपिला दिदीका फ्यानसँग आर्थिक सहयागको लागि अपिल गर्नुभएको हो । अपिल गरिएसँगै सहयोगी हातहरु पनि अघि बढेका छन् । धेरै म गर्छु भनेर बोल्नु पनि भएको छ । तर उपचार खर्च तुरुन्तै चाहिने भएकाले स्वेच्छाले सक्दो सहयोग चाँडो गरिदिनु हुन अनुरोध गर्दछौं । सहयोग र सद्भाव देखाउने सबैमा धन्यवाद ।

अपिलसँगै अघि बढे सहयोगी हातहरु
सहयोगको अपिल घोषणा भएलगत्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सहयोगका लागि सबैलाई अपिल गरेको छ । त्यसैगरै इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेलले अभियान संचालन गरिरहनुभएको छ । इन्द्रेणीमार्फत ५० हजार, पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पाबाट २० हजार र इन्द्रेणीमा उपस्थित कलाप्रेमीहरुबाट पनि सहयोग रकम उठेको छ । त्यस्तै अमेरिकाबाट गायिका सिर्जना विरही थापाको पहलमा सहयोग रकम उठ्ने क्रम जारी छ । गीतकार ज्ञानेन्द्र गदालले ‘गोफन्ड’ अभियान संचालन गर्नुभएको छ ।

आत्मबलकी धनी
कोपिला दिदीको सबैभन्दा ठुलोे विशेषता भनेको आत्मबल हो । मैले दिदीलाई हरेक भेटमा यो भन्ने गरेकै छु । यो मात्रै होइन, जीवनका सबै अप्ठ्यारा परिस्थितीलाई उहाँले हाँसेरै सामना गर्नु भएको छ । साँचै भन्नु पर्दा उहाँलाई मैंले कहिलै आतिएको देखेकि छैन । उहाँलाई अरु विशेषता जोडिनु पर्छ भने ‘आत्मबलकी धनी’ पहिलो नम्बरमा आउँछ जस्तो लाग्छ । त्यस्तै साहसी र निर्भिक पनि हजुरका पयार्य नै हुन् कोपिला दिदी । यो पटक पनि निको भएर आउनु हुनेछ अनि मीठा मीठा गीतहरु पस्किनु हुनेछ । क्यान्सर सर्भाइबरका रुपमा समाजलाई योगदान दिनुहुनेछ । शुभकामना प्यारी कोपिला दिदी ।।

कोपिला दिदीलाई सहयोगका लागि निम्न ठेगानमा सम्पर्क वा सिधै सहयोग गर्न सकिनेछ ।

कोपिला गौतम
खाता नंं : १४२००१०००२२८८४०१०
राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखा

Kopila Gautam
A/C No. 1420100022884010
Rastriya Banijya Bank
New Baneshwor Brnch

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु