सांगीतिक पृष्ठभूमिमा विवेकको राजनीति

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७३, शनिबार

सबिता पोखरेल/म्यूजिक खबर

कलालाई सम्मान गर्नु राजनीतिको दायित्व हो तर हाम्रो मुलुकमा यस्तो संस्कृतिको विकास भएकै छैन । विभिन्न पार्टीले कलकारहरु प्रयोग गर्छन् तर गहनाको रुपमा मात्र लिने गरेका छन् । चाहिँदा लगाउने र नचाहिँदा फुकालेर राख्ने गहना कलाकार बनाउने गरेका छन् राजनीतिक पार्टीले । तथापि पछिल्लो समयमा राजनीतिप्रति कलाकारहरुको आकर्षण बढेको पाइन्छ । यसै क्रममा नेपाली सञ्चार जगतदेखि सांगितिक जगतसम्म अत्यन्तै प्रतिष्ठित बनेकी कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सर्वाधिक चर्चित बनिन् । गीतसंगीत, पत्रकारितामा लोकप्रिय सेलिब्रेटी बनेकी वलीले राप्रपाको ऐतिहासिक एकता महाधिवेशनमा खुलातर्फ सर्वाधिक मत ल्याएर तेश्रो स्थान हासिल गर्दा चर्चाले चुलियो उनको ३ महिने राजनीति यात्रा ।

komal oli_3
स्पष्टीकरणको ठाउँमा राजीनामा
रेडियो नेपालमा सुनिने ‘यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस्’ यो मधुर आवाज आजकाल सुनिएको छैन र आइन्दा सुनिने पनि छैन । गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो । राप्रपाको राजनीतिमा सक्रिय भएपछि राजनीति र जागिरमध्ये एक रोज्न उनलाई नैतिक दबाब परेको थियो । त्यसपछि उनले स्पष्टिकरणको साटो राजीनामा पत्र बुझाइन् । रेडियो नेपालबाट राजीनामा दिनुको कारणबारे उनले म्यूजिक खबरलाई भनिन्– ‘पार्टी मार्फत राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ ।’

सांगीतिक पृष्ठभूमिमा राजनीति

कक्षा ३ मा पढ्दादेखि नै गीत गाउन थालेकी कोमल वलीको स्वर र प्रस्तुतिको प्रशंसा जति गरे पनि सकिँदैन । गीत संगीतमा उनको गायनकला सँगै समाचारको वाचन शैलीबाट समेत राम्रो ख्याती कमाएकी वलीको राजनीतिक यात्रा लामो छैन । भलै राजनीतिक ज्ञान उनीसँग यथेष्ट होला । उनले गत मङ्सिर ६ गते राप्रपा नेपाल र राप्रपा पार्टी एकता सभामा औपचारिक रुपमा पार्टी प्रवेश गरेकी हुन् । अत्यन्त छोटो राजनीति यात्रा गरेकी कोमलले पार्टीको एकता महाधिवेसनमा पाएको मतले उनको लोकप्रियतालाई शिखरमा पु¥यायो । वर्षौं राजनीति गरेका चर्चित र लोकप्रिय हस्तिहरुलाई समेत खुलातर्फ प्रतिस्पर्धा गरेर पछाडि पारिदिइन् । गायिकाको परिचयले चिनिएकी कोमल यतिबेला राजनीति वृतकी नायिका नै बनेकी छिन् ।

komal oli
राप्रपामा अत्याधिक मत आउनुको कारण
कोमलले पार्टी प्रवेश गरेको ३ महिना मात्र भएता पनि उनी यो समाजमा योगदान दिएको लगभग २४÷२५ वर्ष भइसकेको छ । पहिला दोहोरी गीतको क्षेत्रबाट उदाएकी उनलाई संगीतले नै राम्रो परिचय बनाइदियो । गायन प्रस्तुतिका लागि उनी गाउँ गाउँ गइन् । विदेशका थुप्रै ठाउँमा गइन् । जहाँ गए पनि राष्ट्रियताको कुरा, महिला शसक्तिको कुरा, छोरीलाई इमपावर गर्ने कुरा, आदि कुराहरुमा आवाज उठाउँदै आइरहेकी छिन् । फेरि, पत्रकारिता क्षेत्रमा पनि उनले जहाँ सरकारका कुरा जनतासम्म र जनताका कुरा सरकारसम्म पु¥याउने पुल भएर रेडियो नेपालमा काम गरिन् । त्यहाँ पनि उनको आवाज भिन्नै खालको थियो । अरुले पढेका समाचार कसले पढेको हो ठम्याउन निकै कठिन हुन्थ्यो तर उनले पढेको समाचार सुन्ने जो कोहिले पनि रेडियो नेपालबाट कोमल वलीले पढेको भनेर चिन्दथे । परिणामस्वरुप उनले आफ्नो नामलाई ३ करोेड नेपालीको कानमा पु¥याउन सकिन् । यसैले रेडियो नेपालको लामो पत्रकारिताको अभ्यासले पनि उनलाई समाजमा परिचित हुनलाई, ठूलो योगदान ग¥यो । राष्ट्रिय राजनीति, देशको व्यवस्था, समाजलाई परिवर्तन गर्ने कुराहरु, अन्तर्राष्ट्रिय राजनीति, नेपालको परराष्ट्र सम्बन्ध, अन्तर्राष्ट्रिय घटनाक्रमहरु लगायत हरेक कुराहरुको ज्ञान लिन पुगिन् । यस्ता यावत कुराहरुको ज्ञान हुनै पर्दछ कुनैपनि पत्रकारलाई । त्यो पत्रकारको प्रोफेसनालिज्म हो । रेडियो नेपालमा पत्रकारीताको कर्म गरिरहँदा, उनलाई पनि यि सबै कुराको ज्ञान लिन प्रेरणा मिल्यो । उसो त उनी राजनीतिशास्त्रको विद्यार्थी पनि हुन् । त्यसले गर्दा पनि उनलाई केही न केही रुपमा राजनीतिक ज्ञान थियो । १. राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि, २. अखण्डताको आधार, राजसंस्था र हिन्दु राष्ट्र निर्माणका लागि, ३. पार्टीको सुदृढ एकता, विकास र विस्तारका लागि, ४. आम नेपाली जनताको विकास र समृद्धिका लागि र ५. सु–संस्कृति, उन्नत र प्रजातान्त्रिक नेपालका लागि मेरो उम्मेद्वारी भन्दै उम्मेद्वारी दिएकी कोमललाई राप्रपाका प्रतिनिधिहरुले एउटी कुशल नेतृमा हुनुपर्ने थुप्रै गुण उनमा देखे । उनको उम्मेद्वारीलाई सहर्ष स्वीकार गरिदिए । अनि चुनावमा लगाईदिए उनकै नाममा छाप । यिनै कारणले राजनीतिक यात्राको छोटो दुरीमा सकारात्मक परिणाम आएको कुरा कोमलले बताइन् ।

komal oli_4
आरक्षण हैन खुला प्रतिस्पर्धामा विश्वास
पार्टीको महाधिवेसनमा मन्त्रीको पद सम्हालिसकेका महिलाहरु उम्मेद्वार हुनुहुन्थ्यो, जसले वर्षाैं राजनीतिक आरोह अवरोहका भोगाई लिइसक्नु भएको थियो । राजनीतिकै वहश गरेका, राजनीति भाषण गरेका त्यस्ता थुप्रै स्थापित महिलाहरुले समेत महिला कोटामा उम्मेद्वारी दर्ता गराएका थिए । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरेको पनि हो । उता स्टेजमा विशुद्ध मनोरञ्जन दिन उत्रिँदै आएकी, स्टुडियोमा समाचार पढ्दै आएकी कोमलले भने खुलातर्फ उम्मेद्वारी दर्ता गराइन् । उनको बुझाई छ –‘जहाँ चुनौतिहरु स्वीकार गरिंदैन त्यहाँ मान्छेलाई सफलता प्राप्त हुँदैन । आरक्षणले देशलाई कहिल्यै पनि सम्बृद्ध बनाउन सकिँदैन । किनभने सक्षम मानिसहरु ठाउँमा ल्याउन सकिंदैन । आरक्षणले सक्षम मानिसहरुलाई छेकेर राखिदिन्छ । यसकारण हामीले राजनीति गर्ने हो भने, खुला प्रतिस्पर्धामा उत्रिन सक्नु पर्छ ।’ उनलाई पनि केन्द्रीय नेताहरुले महिला कोटामा उठ्नुहोस् भन्ने सुझाव धेरैले दिए तर हार जित जे भएनी स्वीकार्ने मनसायले खुलातर्फ उम्मेद्वारी दिइन् । हार या जित जे भएनी स्वस्थ्य प्रतिस्पर्धामा राजनीति हुनुपर्छ ।

komal oli_2
अब राजनीतिमा कलाको सम्मान
राजनीतिले वर्षाैंदेखि कलाकारहरुलाई प्रयोग गर्दै आएको छ । तर कोमल वलीलाई तथा अन्य कलाकारहरुलाई राप्रपाले प्रयोग मात्र गर्ने छैन, कलाकारहरुको उच्च सम्मान सहित राम्रो स्पेस पनि दिनेछ । उनी भन्छिन्–‘यदि मेरो पार्टी अर्थात राप्रपा सत्तामा आयो भने कलाकारहरुले राज्यको उच्च सम्मान पाउनेछन् । नेपालको म्यूजिकको विकासका लागि राजा महेन्द्रको उच्च योगदान रहेको छ । जसरी हिजो राजाको पालामा नारायण गोपाल, तारादेवीले राज्यबाट सम्मान पाउनु भएको थियो त्यसरी नै त्यो भन्दा उच्च सम्मान मेरो पार्टीले राज्य सत्ता सम्हालेको बखतमा गर्ने छ । संगीतकर्मी, खेलाडी, कलाकर्मी, साहित्यकारहरुले पु¥याएको योगदान स्वरुप राष्ट्रिय सम्मान राज्यले गर्नु पनि पर्दछ । चाहे म सत्तामा पूगौं या नपुगौं तर मेरो पार्टीले यो पहल गर्नेछ, यो मेरो ग्यारेण्टी हो । मोक्ष प्राप्तीका लागि संगीत सुनिन्छ । मनोरञ्जनदेखि शोक मनाउन पनि संगीतको प्रयोग गरिन्छ भने यसको उच्च मुल्यांकन हुन जरुरी छ । त्यो राप्रपाले गर्नेछ ।’

komal oli_5
राजनीतिक गन्तव्य
कोमलको राजनीति प्रथम महिला प्रधानमन्त्री बन्ने मिसन पो हो की ? धेरैको जिज्ञासा भएको छ । यस प्रसंगमा कोमलको उत्तर यस्तो छ ‘समय अनुकुल भएमा, जनतामा प्रभाव पार्न सकेमा, पार्टीको निर्णय भएमा देशको प्रधानमन्त्री पनि बन्न नसकिने होइन । असम्भव भन्ने कुरा पनि त छैन नि । पार्टी र जनताले मलाई योग्य ठानेमा त्यो पनि स्वीकार्दछु, कोमलको उत्तर हुने गर्छ । ‘प्रधानमन्त्री बन्न सक्षम पनि छु । तर त्यस्तो महत्वाकांक्षा ममा छैन । मेरो राजनीतिक गन्तव्य र लक्ष्य भनेकै राजनीतिका माध्यमले देश र जनताको सेवामामा आवद्ध हुनु हो । समाजसेवा गर्नु हो । राजनीतिक यात्रा गर्दै जाँदा, गन्तव्य समयले निर्धारण गर्नेछ ।’

जीवन, प्रकृति र राजनीति उस्तै
जसरी जीवन र प्रकृति एकनास रहँदैन त्यसरी नै राजनीति पनि एकनाश हुँदैन । राजनीति भनेको परिवर्तनशील हुन्छ । एकदिनमा जसरी विहान, दिउँसो हुँदै साँझ हुन्छ त्यस्तै मान्छेको जीवन पनि बाल्यवस्था, युवावस्था हुँदै प्रौढअवस्था हुन्छ । सबै परिस्थितिको उतिकै महत्व हुन्छ । विहान घाम उदाउँदै दैनिकीको सुरुवात हुन्छ भने मध्य दिनको पनि महत्व हुन्छ । फेरि सन्ध्याको पनि उतिकै महत्व हुन्छ, हामी आ–आफ्नो निवास फर्कन्छौं । राती निदाउँछौं, शरिरलाई आराम दिन्छौं । हामीले विताउने एक दिनमा हरेक पलको उतिकै महत्व हुन्छ । त्यसरी नै हाम्रो जीवनका हरेक दिनको उतिकै महत्व हुन्छ । कतिपयले कोमललाई भन्नुहुन्छ तपाईंको उमेर ढल्क्यो । तर कोमलको बुझाई छ उमेर ढल्काउन पाउनु भनेको त धेरै सुखद कुरा हो नि । भाग्यमानी मानिसहरुले मात्र पाउँछन् यो अनुभव गर्न । युवा अवस्थाको जीवनमात्र जिवन होइन, ढल्कँदो उमेर पनि जीवनको महत्वपूर्ण समय हो । राजनीति र जीवन पनि त्यस्तै हो । यतिबेला मेरो राजनीति पनि विहानीको उदाउँदो घाम जस्तै छ । मैंले गायिका कोमल वलीको लोकप्रियता जोगाउने मात्र हैन, बढाउनु छ । लोकप्रियतालाई दिनको मध्यभागमा पू¥याउन बाँकी नै छ । जीवन, प्रकृति या राजनीति एकैनास रहिरहँदैन । आफूलाई स्थापित तथा लोकप्रियता बनाउनका लागि मेरो काम पनि चलायमान हुन प¥यो । कोमल वलीलाई जसरी अहिले चिन्नुहुन्छ, त्यो उसको कामलाई चिन्नु भएको हो । व्यक्ति त यहाँ ३ करोड नेपाली छन् कहाँ सबैलाई चिनेर सम्भव छ । त्यस्तै मैंले कोमल वलीको लोकप्रियता जोगाउन तथा बढाउन लोकप्रिय नै काम गर्न सक्नुपर्छ । जनतासँग जाने एजेण्डा, जनतालाई पकडमा राख्न सक्ने मेरो क्षमता रहन्छ भने मसँग राजनीति रहन्छ, यदि यो रहँदैन भने मेरो राजनीतिले पनि विश्राम लिन्छ ।

राप्रपा अर्थात् विवेकको राजनीति
राप्रपालाई कोमल वलीको जरुरत परेको हैन, कोमल वलीलाई चाहिं राप्रपाको जरुरत परेको हो । जसलाई राष्ट्रको माया छ, उसले राप्रपा रोजेको छ । आजको परिवर्तनका लागि राष्ट्र र राष्ट्रियतालाई माया गर्नेहरुले, विवेकको राजनीति गर्नेहरु सबैले सोच्नुपर्छ– राजनीतिको स्वार्थीकर्मलाई यसैगरी अराजक छाड्ने कि अनुशासनमा ल्याउने ? अराजक राजनीतिले गन्तव्य समात्न सक्दैन र असल परिणाम आउँदैन । राप्रपामा अनुभवी र सुझबुझ भएका बौद्धिक नेताहरु भएकाले राजनीतिमा हुने विकृतिलाई हटाउन वा घटाउन सकियोस्, सकारात्मक कदम चाल्न सकियोस् भनेर नै राजनीति चक्रव्युहमा पसेकी हुन् उनी । अझ अध्यक्षको लिडिङ र पार्टीको विधान तथा नीतिले पनि उनलाई आकर्षित ग¥यो । हिन्दुराज्य बनाउने र राजतन्त्रको पक्षमा वकालत गर्ने उनको व्यक्तिगत विचार पनि पार्टीसँग मिल्न गयो । कोमल भन्छिन् – ‘विवेकको राजनीति गर्नुहोस्, स्वार्थ त्याग्नुहोस् । अवश्य देशले सकारात्मक गति लिनेछ ।’ गरे हुने रैछ भन्ने कुरा कुलमानजीले यतिबेला सावित गराइदिनुभयो नि ! केहि न केहि त हामी भित्र छल कपट बैमानी रहेछ नि । यदि इमान भएमा त राम्रो प्रतिफल पाइने रैछ नि । लोडसेडिङ निर्मुल हुन ७ वर्ष लाग्छ, घटाउँदै लैजाने भनिएको थियो । आखिर एकाएक मुलुक नै विद्युतमय भएको छ त । हो, यसरी नै यस्तै राष्ट्रवादी सोच हरेक व्यक्तिमा हुनु पर्छ भन्ने नै मेरो मुल एजेण्डा हो ।

komal oli_6
अनिवार्य प्रश्न विवाह कहिले ?
कोमलले सबैभन्दा बढी सामना गर्नु परेको प्रश्न ‘विवाह कहिले’ ? हो । यो प्रश्न त उनको हरेक इन्टरभ्युमा अनिवार्य जस्तै बनेका छन् । चतुर वलीले तर सहज ढंगले संयोग मिल्यो भने भैहाल्छ भनेर टार्दै आएकी छिन् । निकै वसन्त काटिसक्दा पनि अविवाहित नै रहेकी सुन्दर वलीले बताइन् –विवाह सृष्टि सञ्चालनका लागि पनि नभै नहुने कुरा हो । सबै मानिसमा विवाह गर्ने चाहना भएन भने वैराग्य उत्पन्न हुनेछ । सबै तपस्वीहरु मात्र हुनेछन् । योगीहरु मात्र हुनेछन् । मानव उत्पादन नै बन्द हुनेछ । त्यसकारणले विवाह प्रति मेरो सोचाई सकारात्मक नै छ । तर सबैले विवाह गर्नैपर्छ भन्ने छैन । तर मेरो हकमा भने मेरो लक्ष्य नै फरक छ । त्यतातिर ध्यान नै गएको छैन । मेरो हकमा भन्नुहुन्छ भने ५० प्रतिशतले शुभेच्छुकहरुले सबै चिज गर्नुभयो अब विवाह गर्नुस् न भन्नुहुन्छ । विवाहको अुनभव लिनलाई सुझाव दिनुहुन्छ । भने मेरा आधाजसो शुभेच्छुकहरुले विवाह नगरेर साह्रै राम्रो गर्नुभयो भन्नुहुन्छ । उहाँहरुको विवाहप्रतिको अनुभवले मलाई यस्तो सुझाव दिनु भएको हो । विवाह पछिका उल्झनहरु, जीवनयापन गर्दाका चुनौतीहरुबाट विवाहित दम्पतीहरु दुखी भएको पनि पाएकी छु । मैले स्वतन्त्रताको भरपुर आनन्द लिएकी छु । सन्ततीका लागि सम्पत्ती भनेर मरिहत्ते गर्नु परेको छैन ।
म्यूजिकखबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु