लमजुङ कलाकार संघले ग¥यो स्रष्टाहरुलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७५, मंगलवार

काठमाडौँ । लमजुङ कलाकार संघले लमजुङमा जन्मेर देशमा छुट्टै पहिचान बनाउन सफल ६ जना विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । संघको बार्षिक साधारण सभाको अवसर पारेर चर्चित लोकगायक तथा गायिकाहरु कृष्णसुधा ढुंगाना, बिमाकुमारी दुरा, कृष्ण गुरुङ र राजु परियारलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरियो ।

यसैगरी, गुरुङ चलचित्र तथा राष्ट्रिय गीतबाट करिअर सुरु गरी सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी बन्न सफल गायक तथा सर्जक गोविन्द गुरुङ र ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र फिल्ममार्फत संसारभर अवार्ड जित्न सफल निर्देशक गणेश पाण्डेलाई पनि नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक एवं लमजुङका संघीय सांसद देवप्रसाद गुरुङ र लमजुङ कलाकार संघका अध्यक्ष सुवास कुँवरले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

लमजुङका चर्चित कलाकार तथा सामाजिक क्षेत्रका अगुवाहरुको सहभागिता रहेको कार्यक्रममा कृष्णसुधा ढुंगाना, राजु परियार, सुनिता अधिकारी, शर्मिला थापा, प्रकाश न्यौपाने, रमेश परियार, विवेक धिताल लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद देव गुरुङले कला र संस्कृतिको संरक्षण गर्नका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाए । लमजुङमा जन्मेर राष्ट्रमा आफ्नो उच्च छवि बनाउन सफल कलाकारहरुलाई बर्षेनी यसरी नै सम्मान गरिने संघका अध्यक्ष कुँबरले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु