काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ लताको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो ।
आफ्नो जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताको आइतबार बिहान ८ बजेर १२ मिनेटमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण र निमोनिया भएपछि २९ दिनदेखि उनको अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
अन्त्येष्टि कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संगीतकर्मी, बलिउडकर्मी, सर्वसाधारण लगायत हजारौंको उपस्थिति थियो ।
उनको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । दुई दिनसम्म सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
लता मंगेशकरको जन्म २८ सेप्टेम्बर, १९२९ मा भएको हो । उनी प्रसिद्ध भारतिय गायिका हुन् । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका हुन् । १२ सन् १९४२ मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिउडका चलचित्रहरूमा ३६ भाषाहरूमा हजारभन्दा बढी गीतमा स्वर दिएकि छिन् । उनी आशा भोस्ले, हृदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन् ।
मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गीतहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन् । उनले १९४८ देखि १९७४ सम्म तीस हजार गीतहरू रेकर्ड गराएकी थिइन् । तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएकी थिईन् ।
म्यूजिक खबर परिवार प्रसिद्ध भारतीय गायिका लता मंगेशकरप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।