लेखनाथ पोखरेलको हास्य–निबन्ध ‘चिबे नकटो’

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको हास्य–निबन्ध ‘चिबे नकटो’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ र कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ ल्याउनुभएका पोखरेलको तेस्र्रो कृति ‘चिबे नकटो’ पाठकमाझ आएको हो ।

सावित्री पोखरेल प्रकाश रहनुभएको २८० पेजको यो हास्य निबन्धमा विभिन्न परिवेशका विषय वस्तुलाई बढो रोचक ढंगले प्रस्तुत गरिएकोे छ । कृतिभित्रै कै एक हास्य–निबन्ध ‘चिबे नकटो’लाई लिएर पुस्तकको नाम राखिएको छ ।

पुस्तकमा ‘हस् हाकिमसाब !, ‘प्रेत लेखक’, ‘भाउँतो पो आइलाग्यो’, ‘कुराउनीको कोसेली’, ‘भिँगटीको रेडियो’, ‘झाँक्री बा’, ‘चिबे–नकटो’, ‘बाफरे बाफ !’, ‘भाइचा’, ‘आमाको माइतीघर’, ‘दशा बिग्रिएपछि !’, ‘दोषी सपना’ र ‘सुर्तीको फूर्ति’, ‘मेरो गुरु साह्रै सिपालु’, ‘वैशाखनन्दका कथा’, ‘म बुढो भएँ अरे !’, ‘रानीमत्ताको लेख’, ‘पुर्पुरोमा हात’, ‘सगोत्रीको मोह’, ‘प्रवृत्ति’, ‘म त ट्वाँ परेँ नि !’, ‘पण्डितजीको पटियाला पेग’, ‘अब बाजे भने फरक पर्दैन’, ‘साहेब ध्यानमा होइसिन्छ’, ‘नबल्झिएको च्याँखे’, ‘ब्योमवाला’, ‘टाइमपास’, ‘सम्पन्न नेपाली’ र ‘कोरोनाकाल’ जस्ता हास्य–निबन्धका २९ गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर २९ गुच्छालाई हास्य–निबन्धको मालामा उन्नुभएको छ ।

कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म व्यहोरेका, अनुभूत र समाजभित्रका विकृति र विसंगतिलाई हास्यवंग्यका मालामा उनेर कृति तयार पारेको वरिष्ठ साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘प्रस्तुत कृतिमा एक प्रकारले समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिबिम्ब भएको पाइन्छ । यस कृति जति हास्यव्यंग्यले पूर्ण छ त्यति नै बोधगम्य पनि छ । सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो’, दाहालले भन्नुभयो ।

समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैं बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले बताउनुभयो । आफ्ना यसअघिका कृति जस्तै यो हास्य–निबन्धले पनि पाठकको मन जित्नेमा आफू आशावादी रहेको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।

पत्रकाररलेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं।प्रेस, प्रा।लि। मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति उपन्यास ‘रूपान्तरण’ पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु