लोकगीत चोरी भएमा प्रतिष्ठानले कारवाही गर्ने, साँच्चै होला त कारवाही ?

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७७, शुक्रबार
Lok Dohori Ramesh Bg

काठमाडौं । रमेश बिजीको नेतृत्वमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक दोहोरी एवं लोक गीतहरु चोरी भएमा कारवाही गर्ने भएको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयसँगको समन्वयनमा प्रतिष्ठानले गीत चोरीको उजुरीलाई हेर्ने भएको हो ।

बिहीबार बसेको प्रतिष्ठान र प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयको बैठकबाट लोकगीत चोरी भएमा प्रतिष्ठानमै उजुरी गर्न सकिने र प्रतिष्ठानले रजिष्ट्रार कार्यालयसँग सहजिकरण गरिदिने भएको छ । अब गीत चोरी भयो भने प्रतिष्ठानमा सिधै उजुरी गर्न सकिनेछ र कानुनी प्रकृया अनुसार कारवाही गरिने भएको छ ।

प्रतिलिपि रजिस्टारकी अध्यक्ष बिष्णुदेखी भट्टराई फुयाललाई भेट्न प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजी, पुर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, प्रतिष्ठानका उपमहासचिव शिव हमाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय पुगेका थिए । अब सामाजिक सञ्जालमा कुनै पनि कलाकारले गुनासो पोख्नु पर्ने अवस्था नभएको र सिधै प्रतिष्ठानमा गएर उजुरी गरेमा न्याय पाउने बताइएको छ ।

बिशेषगरी पछिल्लो समय पुराना लोकगीतका शब्द तथा लय चोरी भएका गुनासोहरु धेरै सुन्ने गरिएको छ । पुराना शैलीका गीतहरुलाई केहि परिवर्तन गरी नयाँ ढंगबाट प्रस्तुती गरि सार्वजनिक गरिएको गुनासो पटक पटक आएकाले प्रतिष्ठानले यो कदम चालेको बुझ्न सकिन्छ । केहिसमय अघिको अत्यधिक चर्चित गीत गायक प्रकाश सपुतको गलबन्दीमा एक पुरानो तिहार गीतबाट लय चोरीयो भन्ने विवाद पछि दुईपक्ष बिचको समझदारीमा टुगिंएको थियो । यस्तै अहिले भर्खर यसैबिचको तीज गीत दुर्गेश थापाको बिच्च बिच्चमा २ को शब्द चोरीको आरोप लागिरहेको छ ।
यसभन्दा अघि पनि पुराना स्रष्टाहरुको गीतलाई हुबहु चोरी गर्ने र गाउने गरेको गुनासो सुनिँदै आइएको थियो । कतिपय चलेकै कलाकारले पनि गीत चोरेको आरोप लागेको थियो । जुनसमयमा चोरी हुँदा पीडित पक्षले न्याय नपाएको पनि धेरै घटनाहरु छन् । चोरीको विषयलाई लिएर उजुरी गर्दा पनि लोकगीत कसैको नहुने, लोकगीतमा चोरी नहुनुे, प्रतिलिपि अधिकार नहुने भन्दै कारवाहीबाट जोगाएको अवस्था पनि थियो । तर यतिबेला भने गीतकार रमेश बिजीको नेतृत्वमा रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कारवाही गर्ने भएको छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर कानुनी प्रक्रियामा जाने भएको हो । अब के साँच्चै कारवाही होला त ? पीडित पक्षले न्याय पाउलान त ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु