
काठमाडौं । नारीहरुको पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक भएका केहि विकृतीजन्य गीतले नेपाली संस्कार र पर्वमै नकारात्मक प्रभाव जमाइरहेको चर्चा चलिरहेका बेला तीजको मर्म बोकेका मौलिक गीतहरु पनि प्रशस्तै सार्वजनिक भइरहेका छन् ।
यस्तैमा नेपाली लोक गीत, संस्कृति, भेषभुषा, परम्परा, लोकसाहित्य विधामा निरन्तर सञ्चारमाध्यममर्फत आवाज उठाइरहेका सञ्चारकर्मीहरुको छाता संगठन ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ केन्द्रीय समितिले मौलिक तीज गीहरुको सामुहिक रुपमा विमोचन गर्ने भएको छ । सम्बन्धित गीतका सर्जकहरु उपस्थितीमा गीतहरुको सार्वजनिक हुनेछन् । लोक सञ्चारकर्मी नेपालले नियमित रुपमा गर्ने यस कार्यक्रममा लोकप्रिय गायिका टिका पुनलाई यो वर्ष सम्मान गर्ने भएको छ ।
भाद्र ७ गते (भोलि) राजधानीको बानेश्वरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको हलमा कार्यक्रम हुने जानकारी राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले दिए । उनले भने – ‘तीज भन्ने बितिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव अटाइएका गीतलाई विमोचनमा समावेश गराउने छौं ।’
यस्तै लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले कार्यक्रममा लोक संगीतमा योगदान पु¥याउने एक गायिकालाई सम्मानित गरिने बताए । उनले यो वर्ष लोकप्रिय गायिका टिका पुनलाई ‘मौलिक गायन सम्मान–२०८३’द्वारा सम्मान गर्ने जानकारी दिंदै गीत संगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘मौलिक गीतलाई सधैं विशेष स्थान दिंदै आएको र मौलिक गीतका स्रष्टा, सर्जकलाई हौसलाका हौसला मिलोस् भनेर कार्यक्रम गरिने भएको हो’– सचिव सरगमले भने ।
प्रबक्ता शिखरजंग श्रेष्ठका अनुसार संस्थाको नियमित वार्षिक कार्यक्रमलाई निरन्तरता दिंदै यो कार्यक्रम गरिएको हो । श्रेष्ठले भने – ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका धेरै वार्षिक रुपमा हुने धेरै कार्यक्रम छन्, जस्तै धान दिवस मनाइनु, देउसी भैलो मनाइनु र तीजका अवसरमा सामुहिक गीत विमोचन आदी । यी सबै कार्यक्रमले हाम्रो देशको लोक र संस्कृतीको संरक्षण र प्रबद्र्धनमा जोड दिइनु हो ।’
‘भिवर्स, चर्चा र पैसाका लागि देशको सांस्कृतिक पर्वमाथि प्रहार गर्नु हुँदैन । आज चर्चा कमाइएला भोली त हाम्रो मौलिकता हराएर खोज्नु पर्ने अवस्था आउनेछ भन्ने सोचले नै हाम्रो टिमले मौलिक गीतहरुको सामुहिक विमोचन गर्ने भएका हौं । कार्यक्रममा १२ गीतहरु विमोचन गरिने छ ।’ कार्यक्रमकी संयोजक सविता पोखरेलले बताइन् । संयोजक पोखरेलका अनुसार कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहने छ भने सांगीतिक क्षेत्रका अग्रज र चर्चित कलाकारहरुको उपस्थिती रहने छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ मा गोविन्द गिरीको अध्यक्षतामा गठन भएको थियो ।