• गण्डकी दोहोरीले चुम्यो लोकदोहारी महोत्सवको उपाधि

    म्यूजिक खबर
    प्रकाशित: ३० चैत्र २०७८, बुधबार

    काठमाडौं । नेपालका सबै जाती तथा भूगोलका समेत लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन समेत गर्ने उद्धेश्यका साथ गत शनिबारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ बिहीबार समापन भएको छ । पूर्वदेखि सुदुर पश्चिमसम्मका कला र संस्कृतिको समिश्रणका साथ भएको उक्त दोहोरी महोत्सवमा भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकी दोहोरी साँझले उपाधि चुम्न सफल भएको हो ।

    शनिबार दिन माइतीघर मण्डलादेखि विभिन्न जातजातीहरुका झाँकीसहित टुँडिखेलमा प्रवेश गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरिएको यो महोत्सव अहिलेसम्मकै सर्वाधिक राशीको पुरस्कार भएको बताइएको थियो । प्रतियोगितात्मक महोत्सवमा कुल ६८ समूहले भाग लिएका थिए । त्यतिका समूहहरु प्रतिस्पर्धा गर्ने क्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझले हात पार्न सफल भयो । त्यसैगरी दोश्रोमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ रहयो भने सारोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझ तेश्रो स्थानमा रहे ।

    दुई समूहको आग्रह बमोजिम सान्तवनाको प्रतिस्पर्धा नगराई आपसी सहमतिमा दुइ समूहलाई तेश्रोमा राखिएको निर्णायक समितिका संयोजक बरिष्ठ गायक पुरुषेत्तम न्यौपानेले बताए । दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा थिए । त्यस्तै, गायक–गायिकाहरु अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको थियो ।

    पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ५ लाख, ४ लाख र ३ लाख पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुसाशित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो । निजी क्षेत्रका कम्पनी डिएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको यस महोत्सवको उद्घाटन गर्ने क्रममा उपराष्ट्रपति पुनले लोकगीतमा नेपालीहरु हरेक जाती, वर्ग, पेशा व्यवसाय र माटोको कथा जोडिएको बताएका थिए । उनले हाम्रो मौलिक कला तथा संस्कृति अन्तराष्ट्रियकरण भइरहेको समेत बताएका थिए ।

    यसअघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिज एण्ड फिल्मस्ले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु