लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७८, बुधबार

चैत । लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण दाङ घोराहीको गुलरियामा सुरु भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापन सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मादल बजाएर उद्घाटन गर्नुभयो ।
चैत २२ बाट सुरु भई वैशाख १ गते समापन हुने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका २२ जना थारु समुदायका सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक वरिष्ठ तालबादक खड्ग बुढा मगरले मादलबारे सैद्धान्तिक तथा व्यावहारिक तालिम दिनुहुने छ ।
उद्घाटन समारोह प्राज्ञ अशोक राईको सभापतित्व र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा राधाकृष्ण सामूहिक अध्ययन केन्द्र दाङको हलमा भएको हो ।
माननीय शान्ता चौधरी, डा.गोविन्द आचार्य, डा.कृष्णराज सर्वहारी साथै स्थानीय समाजसेवी तथा समुदायको उपस्थिति भएको समारोहको सहजीकरण प्रशिक्षण कार्यक्रमका स्थानीय संयोजक कुलबिर चौधरीले गर्नुभयो ।
प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा कार्यक्रम संयोजन अशोक राईका अनुसार प्रशिक्षण कार्यक्रम वैशाख १ गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र वितरण गरी समापन गरिनेछ । यसअघि प्रतिष्ठानले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशस्तरीय मौलिक बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु