• ‘गीतकार उपचार कोष’मा मन्त्री किराँतीको एक लाख, इन्द्रेणीका कृष्ण कँडेलले दिए तीन लाख

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०८०, शनिबार

    काठमाडौं । गीतकार संघ नेपालको आयोजनामा ‘गीतकार उपचार कोष’ सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एक लाख सहयोग गरे । त्यस्तै गीतकारहरुको सहयोगार्थ इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले तीन लाख सहयोग गरेका छन् ।
    कार्यक्रममा अमर स्रष्टा रत्न शमशेर थापाद्वारा रचित दुई गीत ‘जाग लम्क चम्क र ए कान्छा ठट्टैमा’, किरण खरेलको ‘माइतीघर’, यादव खरेलको ‘गैरी खेतको’, भैरवनाथ रिमाल ‘कदम’को ‘जुन फूल मैले र उदास मेरो जीवन कथा’, नगेन्द्र थापाको ‘चिनारी हाम्रो’, राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाट्दा’, प्रेम विनोद नन्दनको ‘ज्यानको माया नैना रेशम’, विश्व बल्लभको ‘भाग्यले खुसी’, शिवशंकर थापाको ‘भन्थिन् मेरी उनी’, दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ र कालीप्रसाद रिजालको बनै खायो डढेलोले’ गरि ११ सर्जकका १३ वटा गीतहरूको सांगीतिक प्रस्तुति दिइएको थियो । जसमा उदय सोताङ, यम बराल, सुजाता वर्मा, दुर्गा परियार, श्रेयशी चेम्जोङ, तारा श्रीष मगर, सञ्जय तुम्रोक, तारा थापा, सुनिल राई, रुपक चौधरी, मनमा बिराई र कैलाश बि.क. ले स्वर दिएका थिए । सांगीतिक ब्याण्डको कन्डक्टरमा भने संगीतकार अशोक राई रहेका थिए । उक्त कार्यक्रमको सांगीतिब ब्याण्डमा भने शिला बहादुर मोक्तान, मनोहर सुनाम, केशव सुनाम, मोहन कार्की ढली, रविन कार्की ढली, गोपाल देव घतानी, देव राई, दीपक थापा, भरत बुढाथोकी, नरेश प्रजापति, पोषण घर्ती, शशी विक्रम र राहुल भुजेलले लाइभ वाद्यवादनमा साथ दिएका थिए ।
    समारोहमा आफ्ना भनाई राख्दै सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्कलित रकमबाट नेपाली गीत लेखनमा योगदान पु¥याउने तमाम गीतकारहरूका लागि ‘गीतकार उपचार कोष’ खडा गरिने जानकारी गराएका थिए । कुनै पनि गीतकारले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सेवामूलक उद्देश्यले ‘उपचार कोष’ स्थापना गर्न लागिएको कुरा अध्यक्ष थापाले बताए । अक्षयकोष वृद्धिका लागि निकट भविष्यमै भृकुटीमण्डपमा अर्को मेघा साङ्गीतिक कार्यक्रमको आयोजना गरिने कुरा समेत अध्यक्ष थापाले समारोहलाई जानकारी गराए ।
    कार्यक्रममा उपस्थित दर्जनौं सर्जक, कलाकर्मी र शुभचिन्तकहरुले स्वतःस्फुर्त रुपमा कोषका लागि रकम प्रदान गर्दै कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न गरेका थिए । कार्यक्रमका मुख्य प्रायोजक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक रहेका थिए भने कृषि बिकास बैंक , कर्मचारी संचय कोष, साना किसान बिकास लघुबित्त बित्तीय संस्था र म्युजिक नेपालले सह–प्रायोजकका रुपमा साथ दिएका थिए । कार्यक्रम कानून व्यावसायी समेत रहेका संस्थाका आजीवन सदस्य हरिराम पौडेलले सञ्चालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु