सांगीतिक क्षेत्रको अवस्था, हजारौं गीत लेखेका डिपी खनाल र गीतकार संघ नेपालको अपिल

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०८०, बिहीबार

काठमाडौं । राष्ट्र तथा जनताका हरेक परिवर्तनमा गीत, संगीतले अत्यन्त महत्वपुर्ण भूमिका खेलेको सर्वविदितै छ । संगीत, गायन विधामा संलग्न कलाकारहरुले संगीतको साधना गर्दा गर्दै भविष्यका काला दिन भूलेका हुन्छन् । आम मानिसका दुःख या सुखका लागि संगीतको साधनामा आफ्नो जीवन अर्पण गरेका हुन्छन् । ब्यापार, लोकसेवा वा कुनै जागिरको कल्पना समेत गर्दैनन्, सकुन्जेल संगीतमै गरिरहन्छन् । दुखी पनि देखिंदैनन्, रमाइरहेका हुन्छन् । सामान्यरुपले जीवन चल्दासम्म ठिकै छ , तर जब कुनै स्वास्थ्यमा कुनै गम्भीर रुपले समस्या आइलाग्छ तब थाहा हुन्छ नेपालमा कलाकारको आम्दानी र अवस्थाप्रति । व्यक्ती–व्यक्तिदेखी पार्टी र सरकारसम्मलाई नभई नहुने संगीतकर्मीहरुको भने गीत सङ्गीत सृजनाबाट आर्थिक आम्दानीको मुहान नै सुकेको देखिन्छ । सोही कारण सङ्गीत, नाट्य, नृत्य विधाका कलाकारहरू आर्थिक अभावका कारण गम्भीर बिरामी पर्दा उपचार गराउन नसक्ने अवस्थामा पुगेका थुप्रै घटना छन् ।

यहि क्रममा पछिल्लो समय व्यस्त गीतकारका रुपमा चिनिएका डिपी खनाल पनि अस्वस्थ्य भएको समाचार केहि दिन देखी प्रचार प्रसार भइरहेको छ । उनी करिव डेढ महिनादेखि अस्वस्थ छन् । गत कात्तिक ३० गते अचानक स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल भर्ना भएका गीतकार खनाल अहिले पनि उपचारकै क्रममा रहेका छन् । हालसम्म पनि पूर्ण रुपले स्वास्थ्यमा सुधार नआएकाले उपचारकै अवस्थामा रहेका गीतकार खनालको उपचारका क्रममा फोक्सो तथा ढाडमा रगतका साथै पिप समेत जमेको पत्ता लागेको थियो ।

उनको अहिले पनि उपचार जारी रहेको तथा स्वास्थ्यमा केही सुधार आए पनि फोक्सो तथा ढाडमा रगत तथा पिप जम्नुको कारण यकिन नभएको तथा त्यसका लागि कति समय उपचार गर्नु पर्ने हो भन्ने कुरासमेत अनिश्चित रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ रहेको छ । यसैबीच, नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले गीतकार खनालको जीवन–रक्षाका लागि आर्थिक सहयोग प्रदान गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक, संघ–संस्था तथा संगीतप्रेमी नेपालीहरुमा अपील गरेको छ ।

झण्डै डेढ महिनादेखिको अस्पतालको उपचारका क्रममा ठूलो धनराशी खर्च भईसकेको तथा खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएको संघले जनाएको छ । संघका अध्यक्ष वसन्त बित्यासी थापा, सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोईराला, महासचिव टिका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडासहितको समुहले पाटन अस्पतालमा उपचाररत गीतकार खनाललाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि संघको तर्फबाट नगद २५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको छ । गीतकार खनालले आफ्नै स्रोतबाट मात्र उपचार खर्च जुटाउन सम्भव नदेखिएको भन्दै उनको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा यथासक्य आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा गीतकार संघ नेपालले हार्दिक अपिल गरेको छ । ईच्छुक दाताहरुले सोझै गीतकार संघ नेपालको नाममा एभरेष्ट बैंकमा रहेको खाता नम्बर ००१००१०५२००८४७ मा जम्मा गर्न अथवा संघका अध्यक्ष वसन्त बित्यासी थापा ९९८४९६११२३९०, महासचिव टिका राई ‘शिव’ ९९८५२८९०३८३० र कोषाध्यक्ष चेतन खतिवडा ९९८५११६७२९२० लाई सम्पर्क गरी नगद नै सहयोग गर्न सक्ने कुरा समेत जानकारी गराईएको छ ।

गीतकार संघको यो अभियानलाई साथ दिंदै संघका सल्लाहकार तथा बिशिष्ट गीतकार राजेन्द्र थापाले सहयोग अपिल गर्दै ५००० हजार सहयोग गरेका छन् । यो सँगै सरोज अर्याल १,०००, महेश आचार्य ५,१००, सरला श्रेष्ठ २५,०००, विष्णु भण्डारी २,०००, प्रदिप प्रखर पोखरेल १,०००, रमेश दाहाल १,५००, अम्विका शर्मा ११,०००, डा. ओम कृष्ण प्रसाई बाट १,००० प्राप्त भएको छ । गीतकार डिपीको स्वास्थ्यमा चासो गर्ने र सहयोग गर्न चाहनेहरु थपिदै गएका छन् ।

को हुन् गीतकार डिपी खनाल ?
डिपी खनाल नेपालका एक व्यस्त र सफल गीतकार हुन् । ४० वर्षका उनले हजारौं गीत लेखिसकेका छन् । आधुनिक, लोक आधुनिक देखि पाश्र्व गायनका लागि समेत उनले लेखेका गीतहरु बजारमा आएका छन् । ती मध्ये थुप्र हिट पनि भएका छन् । कालजयी पनि भएका छन् । । उनको पहिलो बालगीत ‘आजका साना कोपिला भोलि बन्छौ फुल’सँगै उनको गीत लेखनयात्रा सुरु भएको थियो । आधुनिक गीतका विभिन्न प्रतियोगितामा उनले लेखेका गीतले पुरस्कार पाएपछि हौसला बढ्दै गएपछि गीतसंगीतका क्षेत्रमा लाग्ने ऊर्जा प्राप्त भयो उनको आधुनिक गीत ‘ओइलिएर झर्न दिन्न’ निकै सफल गीत बन्यो । उनको ‘सेल्फी हानौला’ गीतलाई दर्शकले निकै रुचाए । क्यालेन्डर, दन्तैमा, छुक–छुके रेल, बाडुल्की, चोली अलि छोटो लगायतका गीतले सांगीतिक बजारमा चर्चा कमाउन सफल भए ।
चलचित्र ‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीत समेत डिपीले नै लेखेका हुन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को पहिलो गीत ‘फनफनी’ मा पनि उनकै शब्द रहेको छ । त्यस्तै ‘के घर के डेरा’को शिर्ष गीत मा समेत उनको शब्द रहेको छ ।

तेह्रथुमका दुर्गा प्रसाद खनाल गायक बनेर रेडियो टिभीमा छाउने सपना बोकेर राजधानी छिरेका हुन् । उनै दुर्गाप्रसादलाई संगीतले डिपीको नामबाट चिनायो । गायक बन्ने सपना भएकाले नै होला उनी गीत पनि गाउँदै आएका छन् । त्यस्तै गीतमा संगीत पनि भर्ने गरेका छन् । डिपी खनालको ‘पर्नु पिर पर्यो’ बोलको गीतमा रचना रिमालसँगै उनले स्वर दिएका छन् । आफनै डस म्युजिक नेपाल नामक कम्पनी खोलेर त्यसमार्फत गीतसंगीतको काम गर्दै आएका छन् ।

उनले संगीतकै लागि आफ्नो सिंगो जीवनलाई गरिरहे, गरिरहे । गरि नै रहेको क्रममा स्वास्थ्यमा अचानक समस्या आयो । उपचार गर्न थाले । तर नेपालको सांगीतिक क्षेत्र अझ त्यसमा गीत लेखन यो व्यवसाय नभएर सृजनामूलक पेसा हो । यसमा अन्य व्यापार र पेसा जस्तो आर्थिक मुनाफा छैन । महंगो उपचार खर्च लामो समय थेग्न जोकोहिलाई हम्मे पर्ने नै भयो । गीतकार खनाललाई पनि कठीन पर्न थाल्यो ।
यसरी हजारौं गीत सिर्जना गर्ने एक स्रष्टाले आर्थिक अभावका कारण उपचारमा कठीनाई बेहोर्नु भनेको राष्ट्रकै बेइज्जत हो । यतिबेला हामीले सरकारलाई सतोसराप गरेर हुने त केहि होइन । तर घच्घचाउन जरुरी छ । त्यो भन्दा बढी एक थुकी थुक, सय थुकी समुन्द्रको भनाईलाई चरितार्थ गर्न जरुरी छ । जसका गीत संगीतलाई साथी बनाएर सुनिरहेका छौं । उहि स्रष्टा अप्ठ्यारोमा पर्दा सहयोग गर्नु सबैको धर्म हो । सबैले सकेको सहयोग गरौं, रकम संकलनका लागि पहल गरौं अनि स्वास्थ्य लाभका लागि प्रार्थना गरौं । भोलि तपाईंको दिन कसले देखेको छ र ?
–सबिता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु