‘माया बस्छ कि के हो’बाट सोनाल र कस्मताको डेब्यु

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७७, बुधबार

काठमाडौँ : फिल्म ‘माया बस्छ कि के हो’को फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको राजधानीमा मंगलबार फस्र्ट लुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो।

अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मता निरौलाको प्रमुख भूमिका रहेको फिल्मको पोस्टरमा उनीहरूलाई नै फोकस गरिएको छ। शरद अधिकारीको प्रस्तुतिमा बहादुरसिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन्। हल खुलेपछि प्रदर्शन मिति तय गरिने फिल्मको एसोसिएट डिरेक्टरमा आशुतोष अधिकारी र मुख्य सहायक निर्देशकमा दीपक अधिकारी छन्।

कार्यक्रममा निर्देशक अधिकारीले आफूहरू गुणस्तरीय फिल्म निर्माणको पक्षमा रहेको बताउँदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दाबी गरे। उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम, स्विजरल्यान्ड र नेदरल्यान्डका विभिन्न स्थानमा खिचिएको जानकारी दिए। त्यसैगरी प्रस्तुतकर्ता शरदले विशेषतः युवा पुस्तालाई लक्षित गरिए पनि ‘माया बस्छ कि के हो’ आमदर्शकको मन छुनेमा आशावादी रहेको बताए।

डेब्यु अभिनेता सोनालले आफूले भरपूर मेहनत गरेको बताउँदै यो फिल्मले आफूलाई अभिनेताका रूपमा स्थापित गराउने विश्वास व्यक्त गरे। अभिनेत्री कस्मताले पनि ‘माया बस्छ कि के हो’बाट आफूले अभिनेत्रीका रूपमा माया पाउने आशा व्यक्त गरिन््।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले सरकारले छिट्टै हल खुलाउने तयारी गरिरहेको जानकारी दिँदै फिल्म र टिमलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेती, महासचिव जनकदीप पराजुलीलगायतले फिल्म सफलताको शुभकामना व्यक्त
गरेका थिए।

प्रेस मिटमा प्रदर्शन गरिएको ‘माया बस्छ कि के हो’ बोलको शीर्ष गीत शुक्रबार साइराम पिक्चर्सको युट्युबमार्फत सार्वजनिक हुने जानकारी दिइएको छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको सो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। फिल्ममा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन्। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु