
काठमाडौं । युट्युबमा ‘भ्यूज’ बढाउने नाममा लोकगीत–सङ्गीतको मर्ममाथि प्रहार भइरहेका बेला ठेट शब्द र लयमा बनेको मौलिक गीत ‘मयाली’ सार्वजनिक भएको छ । यो गीत यतिबेला युट्युब र टिकटकमा चर्चाको शिखरमा नै छ । गीतमा बसन्त थापा र देवी घर्तीको स्वर रहेको छ भने शब्दरसङ्गीत पनि बसन्त थापाकै रहेको छ । त्यस्तै एचबिएन किस्मतले एरेन्ज गरेको गीतलाई वान डिबी एचडि नेक्स्ट लेबल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडियोलाई दुई साताअघि बसन्त थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै बसन्त थापा र लक्ष्मी थापा मगर फिचर्ड रोमान्टिक मौलिक गीतलाई स्रोता एवं दर्शकहरुले रुचाएका हुन् । गीतले छोटो समयमै युट्युबमा ४६ लाख भ्युज क्रस गरिसकेको छ । गीतले युट्युवमा तारिफ पनि उतिकै कमाएको छ । गीतको शब्द संगीत स्वरसँगै भिडियोको सम्पूर्ण पाटोको राम्रो तारिफ गरिएका कमेन्ट प्राप्त भएका छन् ।
युट्युबमा मात्र नभई गीत टिकटकमा समेत उतिकै लोकप्रिय बनेको छ । टिकटकमा गीतको स्थायी र सबै अन्तराहरु हिट छन् । प्रत्येक टुक्कामा लाखौं टिकटक बनेका छन् । एकिन्द्र साराशंकर निर्देशनमा बनेको गीतको म्युजिक भिडियोको छायाङ्कन बागलुङको ढोरपाटन उपत्यकामा गरिएको थियो । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले कलरिङ र सम्पादन गरेका हुन् ।