• निशालाई कलाकार र संघ–संस्थाको सहयोग अभियान, सामाजिक सञ्जालमा छाइन् मेघा

    म्यूजिक खबर
    प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

    काठमाडौं । जटिल स्वास्थ्य समस्यासँग जुधिरेहेकी कलाकार तथा मोडल निशा घिमिरे केहि समय यता सामाजिक सञ्जालमा छाइरहेकी छिन् । निशाको स्वास्थ्य स्थितीको मर्मश्पर्शी फोटो भाइरल भएको केहि समय पछि उनी सँगै नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीको पनि उत्तिकै चर्चा भइरहेको छ । उद्यमी तथा साहित्यकार बसन्त चौधरीकी छोरी मेघा चौधरीलाई ‘भगवान’ भन्दै चौतर्फी चर्चा गरिन थालिएको छ ।

    अहिले यसको विशेष कारण छ । घटनाको नालीबेली लामो नै छ । तर त्यहि घटनासँग जोडिएको एउटा फोटो केही दिन अघि सामाजिक सञ्जालमा भाइरल बन्यो । पहिले र अहिले लेख्दै भाइरल भएको फरक फोटोमा आकाश र पातालको जतिकै अन्तर देखिन्थ्यो । तर समयको अन्तर भने २ वर्षको मात्र थियो । फोटो हेर्दामात्र पनि जोकोहिको आखाँ रसाउँथियो । भरभराउँदी उनी शारीरिक अशक्तताका कारण वृद्ध महिलाजस्ती भएकी छिन् । उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन। उनलाई चिन्ने जो कोहीले पनि अहिले उनलाई चिन्नै सक्दैनन् । जसका कारण भर्खरै २३ वर्ष लागेकी उनी बृद्ध र अशक्त देखिन्छीन् । उनी थिइन् २ वर्ष अघि उदियमान कलाकार तथा मोडलका रुपमा अगाडि बढ्दै गरेकी निशा घिमिरे । मृत्युसँग संघर्ष गरिरहेकी निशाकोे कारुणिक अवस्थालाई मेघा चौधरीले पनि सामाजिक सञ्जालमै देखिन् । म्यासेन्जरमा पनि साथीभाइको त्यो पोष्टको लिंक आयो । त्यो देखेर यसै बस्न सकिनन् । जसरी पनि निशालाई निःशुल्क उपचार गर्ने प्रण गर्दै नर्भिक अस्पतालबाट एम्बुलेन्स पठाइन् । अहिले निशाको उपचार भइरहेको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्त्वपूर्ण अंगहरू मुटु, मिर्गौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या नदेखिएको चिकित्सकहरूको भनाई छ। अस्पतालमा अहिले पनि गरिब तथा असाहयको लागि छुट्टै बेडको अवस्था गरेको अस्पतालले जनाएको छ ।

    ‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्दार गर्नेको भलो होस्, ‘छोरी बेडमै लडेको ३ वर्ष भयो, अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ – निशाका बुवा प्रेमप्रसादले भने । ’ नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको गम्भीर अवस्था फोटोमा देखेपछि उद्दार गरेको र अब आफ्नै समन्वयमा सम्भव हुनेजति उपचार गरिने जानकारी दिइन् । यो उपकारको घटनाले यतिबेला मेघा चौधरी र उनी प्रबन्ध निर्देशक रहेको नर्भिक अस्पतालको चर्चा बढिरहेको छ ।

    पहिलेदेखि नै सामाजिक काममा सक्रिय मेघा अरुको पीडामा सहयोगी बन्न पाउँदा खुशी लाग्ने बताउँछिन् । यसअघि पनि उनले थुप्रै बेवारिसे अवस्थाका बिरामीलाई निशुल्क उपचार गर्दै आएकी छिन् । यस घटनाले एउटा स्वास्थ्य व्यवसायीले सधैं व्यवसाय मात्र सोच्छ भन्ने भनाईमा बलियो झापड दिएको छ ।
    निशाको यो अवस्थामा आउनुको घटनाक्रम यस्तो छः

    कलाकार तथा मोडल निशाको सानैदेखि कलाकारितामार्फत नाम कमाउने सोच थियो । उनले भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्दगीलगायतका केही टेलिसिरियमा मुख्य भुमिकामा काम गरिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिन् । सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटो लगायतका करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी गरिन् । उनको करिअरले सफलताको स्वाद चाख्ने तरखर गरिरहेको थियो । तर आफ्नो अभिनयलाई अझ निखार्नु पर्ने महसुस गरिन् । अब्बल कलाकार बन्ने सपना सजाउँदै अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगिन् । निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै वर्ष वि.सं २०७५ पुस १७ गते सवारी दुर्घटनामा परिन् । गम्भीर घाइते भएर थलिएपछि उनका सारा सपना तोडिन पुगे ।

    उनी चढेको कारलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएपछि अचेत बनेकी उनको त्यसपछि भारतमै उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि उनलाई नेपाल ल्याइयो । उपचारको क्रममा होस त आयो तर, त्यो गम्भीर दुर्घटनापछि उनी न बोल्न सक्ने भइन् न त हिँडडुल गर्न नै । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार गरिए पनि स्वास्थ्यमा सुधार आएन । चिकित्सकको सल्लाह अनुसार थेरापी गरिरहनु पर्ने थियो तर आर्थिक अवस्था कमजोर रहेका कारण निशाको उपचार हुन सकेको थिएन । नियमित उपचारको अभावमा उनको स्वास्थ्य दिनप्रति दिन बिग्रँदै गयो । । उनको शरीर सुक्दै गयो । ‘तिघ्रामा लागेको चोट पुनः बल्झियो । त्यसपछि नै उनको फोटो भाइरल हुन पुग्यो । योसँगै नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीको पहलमा उपचारका लागि निशालाई उक्त अस्पतालमा भर्ना गरिएको हो । ललितपुरको बतासे घर भएकी निशालाई नर्भिक हस्पिटलकै एम्बुलेन्समा थापाथली ल्याइएको हो ।

    निशाको नाजुक अवस्थाको समाचार भाइरल भएसँगै कलाकारहरुले सहयोग गर्न थालेका छन् । नेपाल चलचित्र कलाकार संघले अध्यक्ष रविन्द्र खड्काले नेतृत्वमा सहयोग अभियान संचालन गरेको छ । संघको समन्वयमा धेरै कलाकारहरुले सहयोग गरिसकेका छन् भने अभिनेत्री करिश्मा मानन्धरले त ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारा सहित सहयोगको लागि आव्हान गरेकि छिन् । करिश्माले २५ हजार, रेजिना उप्रेतीले १० हजार उषा पौडेलले २२ हजार र प्रकाश थापाले १० हजार रुपैयाँ निशाको उपचारको लागि सहयोग गरेका छन् । कलाकार संघको समन्वयमा संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौलाद्वारा पीडित निशाका पिता प्रेम प्रसाद घिमिरेलाई सो नगद हस्तान्तरण गरेका हुन् ।
    त्यस्तै काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ ।

    यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुर्घटना पश्चात गम्भीर विरामी परेकी कलाकार निशा घिमिरेलाई कलाकार कल्याणकारी कोषमार्फत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

    योसँगै कलाकारहरुले व्यक्तिगत रुपमा सहयोगको लागि आह्वान पनि गरिरहेका छन् भने संघसंस्था र कलाकार र सर्वसाधरणले सहयोगको पहल गरिरहेका छन् । यसैबीच, निशाको उपचारका लागि सहयोग गर्न चाहनेले निशाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा रहेको सनराइज बैंकको खाता नम्बर ०८४०६१३६१३२०५००१ मा सहयोग गर्न सक्नु हुनेछ । कलाकार निशाका बुवा प्रेमप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५१२३८९५२ मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु