• स्रष्टाहरुले दिए इन्द्रेणी क्यासेट र रञ्जना म्यूजिक विरुद्ध उजुरी ? हप्तामा चारवटा मुद्दा हाल्ने तयारी

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७६, सोमबार
    Police Station

    काठमाडौं । म्युजिक कम्पनीबाट ठगिएको भन्द्र स्रष्टाहरुले कानुनी बाटो रोज्दै आज महानगरीय प्रहरी परिसर, काठमाडौंमा प्रतिलिपि अधिकारी हनन भएको भन्दै उजुरी दिएका छन्।

    गायक तथा संगीतकार राजन इशान, भजनशिरोमणी भक्तराज आचार्यको प्रतिनिधित्व गर्दै उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यले पनि उजुरी दिएका छन्। गायक तथा संगीतकार राजन इशानले आफ्ना गीतहरु पाँच सय डिजिटल प्लेटफर्ममा अनुमति बिना बिक्री बितरण भएको बताए । उनले भने, ‘मेरा गीतको बिक्री वितरण र आम्दानीको कुनै जानकारी छैन। त्यसैले कानुनी लडाईं लडनुको विकल्प रहेन।’ प्रतिलिपी अधिकार ऐन, २०५९ अनुसार हालेको उजुरीमा इन्द्रेणी क्यासेट सेन्टर र रञ्जना म्युजिक प्रालिसहित तीन कम्पनीविरुद्ध उजुरी परेको बताइएको छ।

    महानगरीय प्रहरी परिसर टेकुमा गायक राजन इशान र सत्य–स्वरुपसँगै संगीतकार संघका महासचिव पारस मुकारुङ, संघका संरक्षक लक्ष्मण शेष, गीतकार संघका महासचिव बसन्त बित्यासी थापालगायत करिब एक दर्जन संगीतकर्मी परिसर पुगेका थिए।

    परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले स्रष्टाको उजुरीको प्रारम्भिक अध्ययन थालनी भएको र अनुसन्धानपश्चात कानुनबमोजिम अगाडि बढ्ने बताए ।

    पछिल्लो समय म्युजिक कम्पनीले स्रष्टामाथि गरेको बेइमानीविरुद्ध सबै स्रष्टा एकजुट भएको संगीतकार शेषले जनाए। लामो समयको गृहकार्यपछि कानुनी प्रक्रिया सुरुवात गरिएको उनको भनाई छ। हामी अब हप्तामा चार–पाँच मुद्धा हाल्ने गरी तयारीमा छौं। तर पीडित स्रष्टाले मुख्य लडाई म्युजिक नेपालसँग भएको बताउँदै आएका छन्।

    परिसरमा उजुरी दिनुअगाडि सोमबार स्रष्टाहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेका थिए। गायक प्रेमध्वज प्रधान, गीतकार यादव खरेल, अम्बर गुरुङका छोरा संगीतकार किशोर गुरुङ, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटासहित एक दर्जन संगीतकर्मी प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।
    Prime Minister KP Sharma Oli

    उनीहरुले प्रधानमन्त्रीसामु अनधीकृतरुपमा विदेशी पोर्टलमा आफ्नो सिर्जना बेचेर डलर र पाउन्ड कमाएको भन्दै म्युजिक नेपालसहित केही कम्पनीको नामै तोकेर आफूहरु अन्यायमा परेको गुनासो पोखेका थिए।

    स्रष्टाहरुको गुनासो सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्रयटाहरु नै अन्यायमा परेकोमा दुख लागेको बताएका थिए । यसको स्थायी समाधानको उच्चस्तरीय सरकारी संयन्त्र बनाउन निर्देशन दिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले केही दिनमा प्रतिफल आउने गरी तपाईंहरुलाई बोलाउँछु भन्नुभएको छ, संगीतकार शेषले भने ।

    हिजो आइतबार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीको मध्यस्ततामा स्रष्टाको प्रतिनिधिमण्डल र म्युजिक कम्पनीका तर्फबाट म्युजिक नेपालका कार्यकारी निर्देशक सन्तोष शर्माबीच छलफल भएको थियो। शर्माले आफूले आधिकारिकरुपमै गीत लिएर डिजिटल प्लेटर्फममा राखेको र हिसाबकिताब पारदर्शी रहेको दाबी गरेका थिए भने स्रष्टाले कम्पनीबाट ठगिएको प्रमाणहरु पेश गरेका थिए। त्यसपछि स्रष्टाहरुले छलफल प्रभावकारी नभएको भन्दै प्रधानमन्त्रीलाई भेटेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु