काठमाडौं । नारायण गोपाल मरेर गएको २३ वर्ष भइसकेछ, तर उनको स्वरको सदा सर्वदा अजर अमर बनिरहेको छ । उनी हामीमाझ नभए पनि उनका आवाजहरुले हाम्रो मन मस्तिष्कमा जरो गाडेको छ अर्थात् हाम्रो ढुकढुकी बनेर बसिरकेको छ ।
स्वरसम्राट नारायण गोपालको जीवित शरीर हामी माझ अहिले नभए पनि उनी मरेका छैनन् । उनी अजर छन्, अमर छन् । आधुनिक गीतको स्वर्णिम युग भित्र्याउने नारायण गोपाल वास्तवमै एक नक्षत्रका रुपमा नेपाली संगीतमा उदाएका थिए । हठी र स्वाभिमानी स्वभावका नारायण गोपाललाई भारतमै बसेर गीत गाउने अवसर आउँदा पनि नेपालीपन र नेपाली मनको स्वाभिमानमा अडिग रहेर नेपाली संगीत उद्योगमा एउटा अमिट छाप छोड्न सफल भए । जसका कारण नारायण गोपाल मरेर पनि बाँचिरहेका एक संगीतका साधक हुन् ।
नारायणगोपालको आवाज र माइक्रो फोनका बीचको पाँच इन्चको दूरी मेट्न उनले २०१६ सालदेखि २९४५ सालसम्म जुन मिहनेत गरे, त्यसले गर्दा नेपाली संगीतमा देवकोटा, घिमिरे र बालकृष्ण सम पुनर्जीवित भएका हुन् भन्दा अप्रसांगीक नहोला ।
युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’लाई गाएरै उनले चित्रमय सुरुवात दिए । ‘मुनामदन’ होस् वा ‘मालतीमंगले’ सिनेमा होस् या नाटक त्यसमा ग्रहस्वर दिएर उन कविगायक भए ।
गीत, संगीत र स्वरका पर्यायवाची मानिने नारायणगोपाल विदेशमा रहेका नेपालीका लागि सांस्कृतिक राजदूत बन्न पुगे, जब उनले सम्मान र सज्जनताका साथ कमारोको, लाहुरेको, सिपाहीको, स्वजनको, सहृदयी प्रेमीको गीत गाउन थाले । स्वरमा भएको उनको जादुई स्पर्श संगीत रचनामा पनि विद्युतीय चमत्कार भएर देखाप¥यो । आफ्नो संगीतमा उनले लोकलयको भावग्रहण गरे, उदाहरणका लागि ‘हे कान्छा ठट्टैमा….’ बोलका गीतमा सीलु म्येयको प्रयोग । उनले आफ्नो संगीत संयोजनमा अप्राप्य बाजाको पनि सम्मिलन गराएर न्यायदूत भएका छन् ।
नारायणगोपाल जति राम्रा गायक थिए, त्यति नै राम्रा श्रोता पनि थिए भन्ने कुरा उनले आफूसँग गाउन छानेका सहगायक वा गायिकाबाट पुष्टि हुन्छ । उनले मौलिकतालाई जोड दिए र स्थायित्वलाई बल दिए, जसले गर्दा उनको स्वरमा निख्खरता र निखारपन हमेशा कायमै रह्यो ।
आफ्नो मातृभाषामा गीत गाएर सांगीतिक जीवन सुरु गर्ने नारायणगोपालले जीवनभर नेपाली भाषाको मात्र सेवा गरे । साँचो अर्थमा उनी नेपालीजातिका हृदयका गायक हुन् ।
नारायण गोपाल स्मृति दिवसका रुपमा आज मुलुकभर विभिन्न कार्यक्रम भइरहेछ, उनीप्रति समर्पित रहेर कलाकारहरुले धेरै कार्यक्रम गरिरहेछन् । यसले पनि स्वरसम्राटको सम्झनामा उनको अनुपस्थितिको समयमा पनि उनलाई अझ उचाईमा पु¥याएको छ । नारायण गोपालको देहान्त भएको पनि आज दुई दशक पार भइसकेको छ तर उनको आवाजको माधुर्यतामा हामी अझै रमाइरहेका छौं । उनको स्वरको मिठाससँगै अझै नेपाली संगीत अनुरागीहरु रमाइरहेका छन् । उनी मरेर गए भनिन्छ तर उनका गीतहरु अझै कालजयी बन्दै शिखरमै रहिरहेको छ । स्मरणमा मात्र राखिएका नारायण गोपालको सम्झना प्रत्येक वर्ष कार्यक्रमका साथ गरिए पनि प्रत्येक पलमा उनका आवाजहरु गुन्जिरहेकै छन् ।
नारायण गोपाल एउटा यस्ता साधक थिए जो स्वर, शब्द र संगीतमा उत्तिकै पोख्त थिए । उनी एक कुशल तबलावादक थिए तर उनको उचाई स्वरमा नै कायम रह्यो । उनको स्वरले गर्दा नेपाली सुगम संगीतको एउटा युगलाई शिखरमा पु¥यायो । उनले जति गीत गाए ती अहिलेसम्म पनि कालजयी बनेर गुन्जिरहेका छन् । उनका गीत सुनेर प्रेरणाका स्रोत मान्नेहरु पनि धेरै गायक गायिका छन् तर नारायण गोपालको स्थानमा पुग्न अझै उनीहरुका लागि धेरै वर्ष लाग्छ । नारायाण गोपालका पदचाप पछ्याउनेहरुले यो बुझ्नु जरुरी छ की सबैका प्रिय बन्न र सधैंको प्रिय बन्नका लागि धेरै कुरा उनीबाट सिक्नुपर्छ । श्रद्धा सुमन स्वरसम्राट ।