उपराष्ट्रपतिको हातबाट १७ जना स्रष्टालाई नातिकाजी सम्मान तथा पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७६, बिहीबार

काठमाडौं । संगीत महर्षि नातिकाजी श्रेष्ठको ९५ औं जन्मजयन्तीको अवसर पारेर नातिकाजी स्मृति समाजले १७ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सो जन्म जयन्तीको अबसरमा बिहिबार उपराष्ट्रपति कार्यालयमा कार्यक्रमको आयोजना गरी नातिकाजी स्मृति समाजले नेपाली सँगीत क्षेत्रमा उल्लेख्य योगदान दिएका स्रष्टाहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सम्मानित एवम् पुरस्कृत गरेको छ ।

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन रहनुभएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, सदस्य विपिन घिमिरे, म्यूजिक नेपालका निर्देशक सन्तोष शर्मा, समाजका सल्लाहकार प्राज्ञ उन्नती शीला बोहरा, कवि तथा गीतकार डा.नवराज लम्साल लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई स्वागत गर्दै समाजका सल्लाहकार डा.नवराज लम्सालले मुलुक अनुसारको मौलिकता बोकेको नातिकाजीको संगीतजस्तै आगामी पुस्ता पनि सफल बन्न जरुरी रहेको बताए । डा.लम्सालले पूर्वको समलादेखि सुदूरपश्चिमको देउडासम्मको सबै भूगोल अनुसारको मौलिक कला संस्कृति जोगाउन सके मात्र मुलुकको संस्कृतिले संरक्षण पाउने पक्का भएको बताए । रेडियो नेपालमा कुनै पनि धूनहरु नहुँदाको समयमा संगीत महर्षि नातिकाजीले गरेको योगदान कसैले पनि भुल्न नसकिने बताए ।

समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा.समरबहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । नाजिकाजका समकालिन श्रष्टा मल्लले नेपाली सुगम सँगीतमा योगदान पुर्याएका छन् ।

यस्तै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सँगीतकर्मीलाई सम्मानित भएका छन् । जस अन्तर्गत गायनबाट कर्म योञ्जन, जगतमर्दन थापा, भारती उपाध्याय, तिर्थकुमारी थापा, शम्भु राई, सङ्गीत विधाबाट सिके रसाइली, मिलन मोक्तान, बादनबादनबाट मोहनकृष्ण कार्की ढलीलाई विशेष संगीत सम्मान गरिएको हो ।

यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार ४ जनालाई पुरस्कृत गरियो । जनही ११ हजार १ एक सय ११ रुपैयाँ राशी सहितको नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गायक यम बराल, गीतकार प्रमोद ढुंगाना, सङ्गीतकार सुरेश अधिकारी र गायिका रेखा शाहलाई प्रदान गरियो ।

यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार ४ जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहित सङ्गीतकार मनराजा नकर्मी, गीतकार भुपेन्द्र खड्का, गायक प्रल्हाद तिमिल्सिना र गायिका टिका प्रसाईलाई प्रदान गरियो ।

पुरस्कृत स्रष्टाका तर्फबाट बोल्दै सङ्गीतकार सुरेश अधिकारीले नेपाली मौलिक सङ्गीत सृजना र संरक्षणको लागि अब पश्चिमा बाजा ठोकठाक गर्नु भन्दा नेपाली मौजिक बाजा बजाएर गीत तयार गर्नु पर्ने बताए । सम्मानित वाद्यवादक मोहन कार्की ढलीलाई इङ्कित गर्दै संगीतकार अधिकारीले भने उहाँले बजाउँदै आएको मौलिक बाजा अब कहाँ बजाउने र कहाँ देखाउने ? स्टेजमा सबै ट्रयाकमा गीत गाउने प्रवृत्ति हावी भएको छ भने प्रत्यक्ष रुपमा बाजा बजाएर कहाँ गाउने ? सोच्नुपर्ने बला आएको छ ।

कार्यक्रमका प्रमुख उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमुख अतिथिका तर्फबाट बोल्दै कलाकारहरुको सम्मानमा राज्यस्तरबाट कमी भएको समेत दाबी गरे । उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहनल गर्न पनि सरकारको ध्यानाकर्षण गराए । संगीतका अनेक परिभाषा भएपनि यो मानवजाती र प्राणिजातीका लागि समेत अभिन्न अंग बनेको उनले बताए । हरेक मान्छेको दुःख सुख, पीडा र हर्षमा समेत संगीत गुञ्जिरहने भन्दै उपराष्ट्रपति पुनले संगीतबीनाको जीवन कल्पना गर्न नसकिने बताए ।

यस्तै नाजिकाजी स्मृति समाजका अध्यक्ष एवम् बरिष्ट सङ्गीतकार शम्भुजीत बासकोटाल नातिकाजीको योगदानलाई पुस्तौसम्म अमर राख्न र श्रष्टाहरुको योगदानलाई सम्मान गर्न समाजले केही वर्षयताबाट स्मृति दिवसमा सम्मान कार्यक्रम आयोजना गर्दै आएको बताए । सङ्गीत क्षेत्रलाई सरकारले वेवास्ता गरेको बताउँदै दिवँगत तथा अग्रज श्रष्टाहरुको सृजना जोगाउन सङ्गीत सँग्रहालय हुनु पर्ने र सङ्गीत विकाश बोर्ड गठन गर्नु पर्ने माग राख्दै यसका लागि सरकारसँग आग्रह गरिदिन उनले उपराष्ट्रपतिसँग अनुरोध गरे ।

कार्यक्रममा सँगीत महर्षी नाजिकाजीको स्मृतिमा गायक यम बरालले नेपाली हामी‘गायिका रेशा शाहले काली पारे दाई‘, गायिका टिका प्रसाईले फुलको थुँगा‘र गायिका उन्नती पाण्डेले रानी तलाउ किनार‘जस्ता गीतहरु गाएर कार्यक्रमको रौनक बढाए । कार्यक्रम पत्रकार तथा गीतकार सुमन पण्डितले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु