उठ नेपाली, जुट नेपाली भन्दै आए हरिराम परियार

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७७, शनिबार
Hariram Pariyar

काठमाडौं । पछिल्लो समय नेपाल–भारत सीमा विवादले जताततै नेपालीको रगत तताइरहेको बेलामा गायक हरिराम परियारले पनि सांगीतिक अभियान मार्फत गीत लिएर आएका छन् । सबै नेपालीलाई उर्जा थप्न र नेपाली राष्ट्रियता र स्वाभिमानको रक्षाका लागि एकजुट हुन गीतमार्फत गायक हरिराम उत्रिएका हुन् ।

सिमा अतिक्रमण गरेर लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि नेपालको तर्फबाट नयाँ नक्सा जारी भएको छ । पहिला देख्दै आएको नक्साभन्दा फरक देखिएको यो नक्सा भारतीयहरुकै सहयोगमा निर्माण गर्दा लिपुलेक, कालापानी, लिम्पियाधुरा गायब गरिएको रहेछ भन्ने बल्ल नेपाली जनताले थाहा पाएका छन् । सोही भूमि फिर्ता गर्नुपर्छ नेपालका सिमा अतिक्रमण भएका भूमिहरु फिर्ता गर्न र सिमामा काँडेतार लगाउनका लागि सबै नेपाली एकजुट हुनुपर्छ भन्ने मूल भाव बोकेर गायक हरिराम परियारले गीत सार्वजनिक गरेका हुन् । ‘उठ नेपाली, जुट नेपाली’ गीतमा गायक हरिरामकै शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायनमा विनिता गुरुङ, कविराज ढकाल र पूजा गुरुङले साथ दिएका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ भने महेश विक्रम पाण्डेले गरेका हुन् ।
उक्त राष्ट्रभक्ति गीत ‘उठ नेपाली, जुट नेपाली’ परियारले आफ्नै अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरेका हुन् । उक्त गीतको अडियो भिडियो पुनम रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु