नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सव सम्पन्न, थापा र गिरीलाई दीर्घ साधना सम्मान

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७९, बुधबार
Nepal Folkloric Foundation

काठमाडौं । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई दीर्घ साधना सम्मान अर्पण गर्दै आफ्नो १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपालका पूर्व उपराष्ट्रवपत परमानन्द झाको हातबाट थापालाई दोसल्ला ओढाएर नगद राशिसहित सम्मान गरेको हो । त्यस्तै वरिष्ठ रंगपत्रकार विदुर गिरीलाई दीघ रंग पत्रकारिता सम्मान अर्पण गरेको छ । गिरीलाई प्रमुख अतिथिको हातबाट दोसल्ला ओढाएर नगद राशिसहित सम्मान अर्पण गरेको हो ।

नेपाल लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न विधमा क्रियाशील अन्य १५ जनालाई समेत कदर तथा सम्मान गरिएको थियो । जसमा रंगपत्रकारिता सम्मानबाट पत्रकार कुवेर गिरीलाई सम्मान गरेको थियो भने सहनाई वादक आइतबहादुर परियारलाई लोकसांस्कृतिक सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ नृत्य निर्देशक शम्भू शाही, नृत्य निर्देशक कृष्ण रसाल, इभेन्ट डाइरेक्टर निशुकान्त झा, वरिष्ठ गायक शिशिर योगी रहेका छन् । त्यस्तै संस्थागत सम्मानतर्फ कलाकार पूर्णिमा श्रेष्ठ, कलाकार दिनेश कुमार लामा, गायक शिवराज पौडेल रहेका छन् । त्यसैगरी वरिष्ठ संगीतकार सुरशे अधिकारी र कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मान पत्र प्रदान गरिएको थियो भने वाद्यवादक न्हुच्छे राजा मुनीकार, पत्रकार रश्मी थापालाई कदर पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी आसिजी संस्था र नेपाल लोक सांस्कृतिक प्रतिष्ठानबीच मायाको चिनो आदान प्रदान गरिएको थियो भने नेपालीभाषी बर्मेली गायिका दिना चौलागाईंलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मानित स्रष्टा कलाकार एवं पत्रकारालई हार्दिक बधाई ज्ञापन गर्दै कलासंस्कृतिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा कलासंस्कृतिमा लागेका सम्पूर्ण कलाकारहरुलाई अझै सरकारले उर्जावान बनाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट महासचिव नृपध्वज खत्रीले स्वागत मन्तव्यद्वारा उपस्थिति अतिथिहरुलाई स्वागत गरेका थिए भने लिम्बू समयदाय र तामाङ समुदायको नृत्यबाट अतिथिहरुलाई सांस्कृतिक स्वागत गरिएको थियो । त्यसैगरी कार्यक्रममा भैरवकाली नृत्य, लाखे नृत्य, हुड्केली नृत्य, कौडा नृत्य, चण्डी नृत्य प्रस्तुत गरिएको थियो भने गायक शिशिर योगी, गायिका सुनितामी परियार लगायतले गीत प्रस्तुत गरेका थिए ।

फोटोः सुरेन्द्र थापा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु