संविधान दिवसमा थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७८, सोमबार

काठमाडौं । संविधान दिवस –२०७८ को उपलक्ष्यमा असोज ३ गते आइतबार थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति ‘हाम्रो धुन ःहाम्रो धड्कन’ कार्यक्रम नाचघर, जमलमा सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा प्राज्ञ अशोक राईको संयोजन र संगीत निर्देशनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, गंगा प्रसाद उप्रेती तथा के .के कर्माचार्यबाट संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो ।

प्रभाकरदेव शर्माको शब्द, विपिन घिमिरेको संगीत र शारदा देवी सिलवालको नृत्य निर्देशन रहेको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशःवालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्काभाका, वालुङ समुदायको लुङ्मा ठामी पाङ्सोम देमुना (लोकभाका), थारु समुदायको ढुङ्ग्रु भाका, सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात अर्ती उपदेशको गीतको भाका, थारु समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ वटा लोपोन्मुख भाकाहरुको प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक कुमार राईले स्वागत मन्तब्य दिँदै उद्देश्य मिल्ने प्रज्ञा प्रतिष्ठानहरु तथा अन्य संघसंस्थाहरुसँगको सहयात्रालाई प्रभावकारी ढंगले अगाडी बढाउँदै लैजाने बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हँुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोपोन्मुख अवस्थामा पुगेका धुनहरुलाई संरक्षण गर्ने हेतुले आयोजना गरिएको कार्यक्रमका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अशोक राईलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई समापन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले कोभिडका कारण भौतिक रुपमा कार्यक्रमहरु गर्न नसकिरहेको अवस्थामा तीन समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति ‘हाम्रो धुन हाम्रो धड्कन’ सफलताका साथ सम्पन्न भएकोमा सम्पूर्ण अतिथि, कलाकार, वाद्यवादक, गायक गायिका, नृत्य कलाकार, प्राविधिक सहयोगीहरु, पत्रकारहरुलाई धन्वाद ज्ञापन गर्नु भयो ।

धुनहरुको प्रस्तुति कार्यक्रममा वाद्यवादन सनाईमा धनबहादुर गुरुङ, सारङ्गीमा भरत नेपाली, सन्तोष पाठक, सन्जोग मल्ल, बाँसुरीमा गोपाल देव, रत्न बि.क., दुर्गा खतिवडा, टुङ्नामा छेवाङ तेन्जिङ लामा, मिङ्मार लामा, लोकराज राई, मादलमा खड्ग बढामगर, भरत बुढाथोकी, नरेस प्रजापति लगायतको प्रस्तुति रहेको थियो भने कोरस गायनतर्फ कला राई, रिता केसी, शिला विष्ट, सञ्जय तुम्रोक र बिपिन घिमिरे हुनुहुन्थ्यो ।

शारदा देवी सिलवालको नृत्य निर्देशन रहने स्वागत गीतमा रेखा कटुवाल, सबनम सिलवाल, माया थापा, सुशिला थापा, गीता थापा, सूर्या कार्की, सनम खडगी, छबि थापा, दिपेश माझी, शेखर घर्ती मगर, ननिब गुरुङ र सुजित श्रेष्ठको नृत्य रहने छ । प्रभाकर देवशर्माको शब्द रहेको गीतमा विपिन घिमिरेको सङ्गीत रहेको छ ।

कार्यक्रमको अन्तमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) को सम्बोधन पश्चात प्रस्तुति दिने कलाकारहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

कार्यक्रममा प्राज्ञ प्रतिष्ठानहरुका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु, संगीतकर्मीहरु, कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु